एमबीए कक्षा शुरू गर्दै ब्रिटिश कलेज

Share News

सन् २०११ देखि बीबीए, बीएससी कम्प्युटिङ, एमएससी इण्टरनेशनल म्यानेजमेण्ट, एमबीए (एक्जुकेटिभ)लगायत अन्तरराष्ट्रियस्तरका डिग्रीहरू नेपालमै अध्यापन गराउँदै आएको द ब्रिटिश कलेजले यस वर्षदेखि एमबीए कक्षा पनि सञ्चालन गर्ने भएको छ । बेलायतको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेष्ट इङ्ल्याण्डको सम्बन्धनमा सञ्चालित ब्रिटिश कलेजले २ वर्ष कार्यानुभवका लागि मात्र एमबीए (एक्जुकेटिभ)मा अध्ययन गर्न पाउने कक्षाबाहेक यस वर्षदेखि बीबीए सकिएलगत्तै एमबीए अध्ययनको कक्षा सञ्चालन गर्न लागेको हो ।

ब्रिटिश कलेजका कार्यक्रम निर्देशक प्रज्वल श्रेष्ठका अनुसार २ वर्ष व्यवस्थापन क्षेत्रमा कार्य अनुभव भएकाका लागि सञ्चालित एमबीए (एक्जुकेटिभ)मा बिहान ७ बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन गरेकाले व्यस्त विद्यार्थीका लागि लाभदायक भएको छ । साथै, अबको नयाँ सेसनदेखि एमबीए कक्षा शुरू गरिने उनले जानकारी दिए ।  

करीब ६ सय जना विद्यार्थी अध्ययनरत द ब्रिटिश कलेजले विद्यार्थीहरूको नवीन व्यावसायिक सोचलाई व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले विद्यार्थीहरूकै संलग्नतामा योङ आन्त्रप्रेनर्स सोसाइटी (एस) शुरू गरेको छ । उक्त सोसाइटीले विद्यार्थीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, व्यावसायिक ज्ञान, कम्युनिकेशन शीप, इङ्लिश शीप, खेलकुदलगायत अतिरिक्त क्रियाकलाप गर्दै आएको छ । यसैगरी सूचनाप्रविधिको पनि छुट्टै क्लब सञ्चालनमा छ । कलेजले सिस्कोसँग मिलेर नेटवर्क स्किल ट्रेनिङ एकेडेमी सञ्चालन गर्दै आएको छ । कलेजमा सेक्युरिटी तथा प्रशासन, प्राविधिक सहयोग, हेल्थकेयर, आईटी प्रोफेशनल सर्टिफिकेट, इञ्जिनीयरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरू छन् ।

हालसम्म करीब २ सय ५० जनाले स्नातकोत्तर शिक्षा हासिल गरिसकेको यो कलेजमा एमबीए (एक्जुकेटिभ)मा ७ लाख ८० हजार शुल्क लाग्ने कलेजका कार्यक्रम निर्देशक श्रेष्ठले बताए । कलेजले उत्कृष्ट तीनजना विद्यार्थीलाई छात्रवृत्ति सुविधा दिँदै आएको जानकारी उनले दिए । अन्तरराष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिँदै आएको ब्रिटिश कलेजले लिड्स बेकेट तथा वेष्ट इङ्ल्याण्ड विश्वविद्यालयबाट छनोट भएका विज्ञमार्फत नै विद्यार्थीलाई व्यावहारिक र सहभागितामूलक वातावरणमा कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

‘यूरोपमा भन्दा पाँच गुणा कममा नेपालमै अन्तरराष्ट्रिय स्तर र मान्यतामा विद्यार्थीले ई–लाइब्रेरी, भर्चुअल लर्निङ वातावरणको सुविधामा अध्ययन गर्न पाएका छन्,’ उनले भने, ‘कलेजमा बीबीएका विद्यार्थीले भने कलेज अवधिभित्र ब्रिटिशको विश्वविद्यालयमा आफ्नै खर्चमा पढ्न पाउने व्यवस्थासमेत गरेको छ ।’ स्नातकोत्तर तहमा ८० जना अध्ययनरत यस कलेजबाट उत्पादित विद्यार्थीलाई विभिन्न कम्पनीले हायर गर्ने गरेको उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।