पुस, ९ दैलेख । दैलेखलाई फागुन २८ मा अनिवार्य शिक्षा प्रदायक तथा साक्षर जिल्ला घोषणा गरिने भएको छ । शुक्रवार पत्रकारहरुसँग गरिएको छलफलमा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका हुन् । कार्यालयले साक्षर जिल्ला तथा अनिवार्य शिक्षा प्रदायक जिल्ला घोषणाका लागि पुस र माघमा शिक्षाको अभियानलाई अगाडी बढाउने भएको छ ।
जिल्लाको हालसम्म ९५ प्रतिशत साक्षरता रहेको छ । अब विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउने तथा अन्यलाई अनौपचारिक शिक्षा दिएर भए पनि जिल्लालाई पूर्ण साक्षर बनाइने अधिकारीले दाबी गरे । ९६ प्रतिशत बालबालिका विद्यालयमा रहेको उल्लेख गर्दै ‘अब २ प्रतिशतलाई विद्यालयमा ल्याउन सकिए अनिवार्य शिक्षा प्रदायक जिल्ला घोषणा गर्न सकिने छ,’ उनले थपे ।
जिशिअ अधिकारीले शिक्षा सम्बन्धि काम गर्ने सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र सोसेकसँग समन्वय भइरहेको समेत बताए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्रको साझेदारीमा हाल जिल्लामा सहयात्रा परियोजना सञ्चालित छ । यो परियोजनाले शिक्षासँग सम्बन्धित काम गर्दै आएको छ । केन्द्रमा सबै राजनीतिक दलका प्रमुखले तथा जिल्लाका शीर्ष नेताहरुले विद्यालय शान्ति क्षेत्रमा प्रतिवद्धता जनाएको भन्दै त्यसलाई कार्यान्वयसमेत गर्नुपर्ने सबै राजनितिदललाई आग्रह गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।