काठमाडौं (अस) । विद्यालय क्षेत्रलाई राजनीतिक दबाब र प्रभावमुक्त गराउन मङ्गलवार राजधानीमा अन्तरक्रियामार्फत सरोकारवाला तथा विद्यार्थी सङ्गठनहरूको ध्यानाकर्षण गरिएको छ । विद्यालय शान्तिक्षेत्र बनाउन राजनीतिक प्रतिबद्धता कार्यान्वयनका चुनौती विषयमा उक्त अन्तरक्रियामार्फत सरोकारवालाहरूको ध्यानाकर्षण गरिएको हो ।
कार्यक्रममा सहभागी पूर्व शिक्षामन्त्रीदेखि सरोकारवाला सबैले विद्यालय क्षेत्रमा बन्द, हड्ताल गर्ने प्रमुख तत्त्व विद्यार्थी सङ्गठन र शिक्षक नै भएको बताए । उनीहरूले शिक्षक र विद्यार्थी सङ्गठनहरूकै कारण वर्षमा १ सय ४५ दिनसम्म विद्यालय बन्द भएको देखिएको र अबका दिनमा यस्तो अवस्था आउन नदिन बन्दकर्ताहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
बालबालिका शान्तिक्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान र शिक्षा पत्रकार समुहको संयुक्त आयोजना तथा विश्व कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले बालबालिकाका लागि विद्यालय क्षेत्र शान्त र सुरक्षित हुनुपर्ने बताए । विभिन्न क्षेत्रबाट कार्यान्वयन नहुने प्रस्ताव नलैजान भन्दै दबाब दिएको र विरोध गरेको अवस्थामा पनि आफूले विद्यालयलाई राजनीतिक दबाब प्रभावमुक्त बनाउन मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयनका लागि निर्देशिका जारी गरेको उनको भनाइ छ । ‘सरकारले गरेको निर्णय र जारी निर्देशिका कार्यान्वयन गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसलाई कार्यान्वयनमा ल्याउन सहयोग गर्छु ।’ राजनीतिक दल र भातृ सङ्गठनको प्रतिबद्धताकै आधारमा विद्यालय शान्तिक्षेत्र बनाउने सम्बन्धमा सरकारी निर्णय र निर्देशका आइसक्दा पनि कार्यान्वयनमा नआउनु लज्जाको विषय भएको भन्दै उनले शिक्षण संस्थालाई लक्षित गरी बन्द, हड्ताल नगर्न विद्यार्थी सङ्गठन र दलहरूलाई आग्रह गरे ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री, शिक्षाविद्, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बाल अधिकारर्मी, विभिन्न विद्यार्थी सङ्गठनका नेता, शिक्षासङ्ग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र शिक्षा पत्रकारहरूको सहभागिता थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।