पर्वत (अस) । २०६८ सालदेखि शुरू भएको पूर्ण साक्षर घोषणा कार्यक्रमअन्तर्गत पर्वतमा हालसम्म २२ गाविस साक्षर घोषित भइसकेका छन् । राष्ट्रिय अभियानअन्तर्गतको यो कार्यक्रम पर्वतमा भने आर्थिक वर्ष २०७०/७१ बाट मात्र शुरू भएको थियो ।
५ देखि १३ वर्ष उमेर समूहका सम्पूर्ण विद्यार्थीको विद्यालयमा पहुँच तथा गाविसका ९५ प्रतिशतभन्दा बढी मानिस साक्षर हुनुपर्ने आधारभूत मापदण्डअनुसार साक्षर घोषणा गरिने प्रावधान रहेको छ । सोहीबमोजिम चालू आव २०७३/७४ मा जिल्लालाई पूर्णसाक्षर घोषणा गर्ने तयारीमा जिल्ला शिक्षा कार्यालय पर्वत लागेको छ । आव २०७२÷७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाए तापनि नसकिएको र यस वर्ष भने जिल्ला पूर्ण साक्षर घोषित हुने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।
आगामी जेठभित्रमा पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीका साथ कार्ययोजना तयार गरिएको पौडेलले बताए । अहिलेसम्म जिल्लाको कुल जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर भइसकेकाले बाँकी रहेका गाउँ तथा नगरलाई पूर्ण साक्षर घोषणा गरी जिल्लालाई नै घोषणा गर्ने कार्ययोजना अघि सारेको उनको भनाइ छ ।
गतवर्ष जिल्लाका ४७ गाविस र एक नगरपालिकामध्ये २१ ओटा गाविसलाई पूर्ण साक्षर तथा अनिवार्य निःशुल्क आधारभूत शिक्षा घोषणा गरिएको र १५ ओटा गाविस असोज महीनाभित्र पूर्ण साक्षर गाविस घोषित हुने पौडेलले जानकारी दिए । गाउँ विकास समितिमा निरक्षर दर पहिचान तथा साक्षरता वृद्धि गर्न गाउँ शिक्षा समितिमार्फत प्रौढ शिक्षा तथा अन्य शिक्षा कार्यक्रम सञ्चालन भइरहेकोे उनले बताए । साक्षरता भन्नाले सामान्य लेखपढ, हरहिसाब तथा फोन गर्न सक्नेलाई बुझिने उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।