विपन्न बालबालिकालाई लायन्सको सहयोग

Share News

वीरेन्द्रनगर (अस) । सुर्खेतस्थित लायन्स क्लबहरूले सुर्खेतको वीरेन्द्रनगरस्थित बालमन्दिर प्राथमिक विद्यालयका बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेका छन् । बाल सङ्गठनअन्तर्गत सञ्चालित बाल मन्दिरको शिशु स्याहार केन्द्रका बालबालिकाहरूलाई बुधवार विद्यालय पोशाक, न्यायो कपडा, कापी, पेन्सिल र दिवा खाजा वितरण गरिएको हो । कार्यक्रममा लायन्सहरूका तर्फबाट रिजन चेयरपर्सन कल्पना कार्कीले सङ्गठनका सचिव गणेशकुमार कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन् ।

सामग्री हस्तान्तरणपछि चेयरपर्सन कार्कीले असहाय र विपन्नहरूको सहयोगका लागि लायन्स क्बलहरू सधैं तत्पर रहेको भन्दै विद्यालयलाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता गरिन् । आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भन्ने मूल मर्म आत्मसात् गर्दै लायन्स क्लबले सहयोग गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा बाल सङ्गठनका सचिव गणेशकुमार कार्कीले शिशु स्याहार केन्द्रमा अतिविपन्न परिवारका बालबालिका पढ्ने गरेको भन्दै उनीहरूका लागि खेलौनालगायत अन्य शैक्षिक सामग्रीहरूको समेत आवश्यकता रहेको अवगत गराए । बाल सङ्गठनले विभिन्न समाजसेवी तथा परोपकारी सङ्घसंस्थाहरूसँग शिशु स्याहार केन्द्रका लागि सहयोग जुटाउने अभियान जारी राखेको र आगामी शैक्षिक वर्षमा विद्यार्थीको सङ्ख्या तथा सिकाइस्तर बढाउने प्रयाससमेत भइरहेको उनले बताए ।

करीब २५ जना विद्यार्थी भर्ना भएको उक्त शिशु स्याहार केन्द्रमा कापीकलम र पोशाक किन्न नसक्ने अवस्थाकै कारण विद्यार्थी सङ्ख्या घटेर १८ मा झरेको सचिव कार्कीले बताए । बाल सङ्गठनको आग्रहमा अघिल्लो वर्ष अष्टे«लियामा रहेका सुर्खेती युवाहरूले आप्mनो आम्दानीको केही रकम जोगाएर न्यायो कपडा र कापीकलम वितरण गरेका थिए भने सुर्खेतस्थित प्रतीक्षा मण्टेस्सोरीले पनि शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।