काठमाडौं । कक्षाकोठामा सिकाइमैत्री वातावरण सृजना गर्न जिल्ला शिक्षा कार्यालय गोरखाले शैक्षिक सत्र २०७३ वैशाखदेखि शुरू गरेको ‘एक शिक्षक, एक झोला’ कार्यक्रम प्रभावकारी बन्न थालेको छ । विद्यार्थीको सिकाइ स्तर बढाउन शिक्षकले कक्षाकोठामा पाठ्यपुस्तकका साथै अन्य शैक्षिक सामग्रीसहितको झोला लैजानैपर्ने व्यवस्था गरी जिशिकाले यस्तो अभियान शुरू गरेको हो ।
गोरखाका ४ सय ४९ ओटा विद्यालयमा यो कार्यक्रम प्रभावकारी बनाउन गत जेठ ६ गते पहिलो चरणमा विद्यालयका शिक्षकहरूसँग कार्यसम्पादन सम्झौता गरेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । विद्यालयका शिक्षकले कक्षा कोठामा जाँदा पाठ्यसामग्रीसहित झोला अनिवार्य लैजानुपर्ने सम्झौतामा उल्लेख छ । शिक्षक पूर्ण तयारीका साथ कक्षाकोठामा प्रवेश गरून् र विद्यार्थीले अभ्यस्त भएर पाठ सिकून् भन्ने उद्देश्यले ‘एक शिक्षक, एक झोला’ कार्यक्रम ल्याइएको जिल्ला शिक्षा अधिकारी सुवेदीले बताए ।
‘अहिले धेरैजसो विद्यालयका शिक्षक, शिक्षिका झोलासहित सम्भव भएसम्मका पाठ्यपुस्तक तथा सामग्री बोकेर कक्षाकोठामा उपस्थित हुन थालेका छन्,’ जिशिअ अधिकारीले भने, ‘अब विद्यार्थीलाई सामग्रीसहित अभ्यास गरेर अध्ययन गर्ने र सिकाउने वातावरण बनाउँदै जाने प्रयास गरिरहेका छौं ।’ गुणस्तरीय पढाइका लागि समयको मागसँगै पुरानो शिक्षा प्रणाली त्यागेर नयाँ प्रविधिसहितको शिक्षा र शैक्षिक सामग्रीको प्रयोगबाट अध्यापन हुनुपर्नेमा उनको जोड छ । यसका लागि यसै शैक्षिक सत्रदेखि जिल्लामा ‘एक शिक्षक, एक झोला’ अभियान लागू गर्न सबै विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको थियो । साथै, जिल्लामा ‘एक विद्यालय, एक पुस्तकालय’ अभियानसमेत शुरू गरिएको जानकारी उनले दिए ।
आर्थिक वर्ष २०७३/७४ को असार १५ गते भएको बजेट भाषणमा समेत ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई सम्बोधन गरिएको थियो । साथै, जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकसँग यो कार्यक्रमको कार्यसम्पादन सम्झौता गर्ने उल्लेख भएको जिशिअ अधिकारीले जानकारी दिए । कार्यक्रमले विद्यार्थीको सिकाइ क्षमता बढाई समग्र नतीजामा सुधार ल्याउने उनको विश्वास छ । यसअघि धादिङका केही विद्यालयमा समेत यो कार्यक्रम सञ्चालन भएको उनले बताए ।
जिल्लाको नाम्जुङ–१ रातमाटेको कालिका अमरज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक तिलक काप्रीका अनुसार जिल्ला शिक्षा कार्यालयको निर्देशनबमोजिम ६६ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका ६ जना शिक्षक अनिवार्य रूपमा सम्भव भएजति पाठ्य सामग्रीयुक्त झोला लिएर कक्षा कोठामा जाने गरेका छन् । उक्त विद्यालयको कक्षा ५ मा अध्ययनरत ममता श्रेष्ठ शिक्षक/शिक्षिकाले कक्षाकोठामा पाठ्यसामग्रीसहित पढाउने गरेकाले पढाइमा ध्यान जाने र कक्षा छुटाउन मनै नलाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘हामीलाई विज्ञान विषयको बोटबिरुवाको बारेमा पठाउँदा शिक्षकले विभिन्न बिरुवा ल्याएर बुझाउने गर्नुहुन्छ, यसरी पढ्दा छिटो सिक्न सकिन्छ ।’
उक्त कार्यक्रमका लागि शिक्षा मन्त्रालय र विभागले निर्देशन नदिए पनि जिल्ला शिक्षा कार्यालयले विद्यालय सिकाइ प्रभावकारी बनाउन प्रयोगात्मक पक्षलाई प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए । त्यसकै लागि विद्यालय तहमा यस्तो कार्यक्रम शुरू भएको उनको भनाइ छ । शिक्षा मन्त्रालयले शुरू गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमको लक्ष्य हासिल गर्न पनि यो कार्यक्रमले टेवा पुग्ने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले बताए ।
यसैगरी, बागलुङका ५ सय २६ विद्यालयमध्ये ३ सय १ विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन सम्झौता भई कार्यक्रम कार्यान्वयनमा आएको जिल्ला शिक्षा कार्यालय बागलुङले जानकारी दिएको छ । उपलब्धि सुधार र शैक्षिक व्यवस्थापनमा केन्द्रित अन्य कार्यक्रम पनि सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ । ‘एक शिक्षक, एक झोला’ कार्यक्रम जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराउने प्रतिविद्यार्थी एकाइ लागत अनुदानबाट सञ्चालन गरिने जिशिकाको बागलुङले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।