पुस २६, रुकुम । रुकुममा आफ्ना छोराछोरीलाई नियमित विद्यालय नपठाउने अभिभावकलाई ‘रातो कार्ड’ पठाउन थालिएको छ । विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराई सिकाइ स्तर सुधार्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा सञ्चालित एकीकृत कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन यस्तो व्यवस्था गरेको हो ।
विद्यालयमा मासिक ६९ प्रतिशतभन्दा कम उपस्थित हुने बालबालिकाका अभिभावकलाई ‘रातो कार्ड’ अर्थात् ध्यानाकर्षण पत्र पठाउने गरेको श्री प्राथमिक विद्यालय खोलागाउँ–३, मानाकोटका शिक्षक डण्डवीर ओलीले बताए । उनका अनुसार विद्यालयमा महीनामा ७०–८४ प्रतिशत हाजिर हुने बालबालिकाका अभिभावकलाई ‘पहेँलो कार्ड’ (जानकारी पत्र) र ८५ प्रतिशतभन्दा माथि अर्थात् नियमित विद्यालयमा उपस्थित हुने बालाबालिकाका अभिभावकलाई ‘हरियो कार्ड’ (धन्यवाद पत्र) पठाउने गरिएको छ । प्रत्येक महीनाको अन्त्यमा हाजिर रजिष्टरको आधारमा रातो, पहेँलो र हरियो कार्ड अभिभावकलाई पठाउने गरिएको छ । जसका कारण विद्यार्थिहरु विद्यालयमा आउने र सिकाइ दरमा समेत वृद्धि भएको शिक्षक शिक्षक ओलीले बताए ।
विद्यालयमा नियमित नपठाउने अभिभावकलाई रातो कार्ड (ध्यानार्कषण पत्र) पठाएपछि अभिभावकले आफ्ना छोराछोरीलाई नियमित विद्यालयमा पठाउने गरेको श्री राप्ती ज्ञानोदय माद्यामिक विद्यालय सिम्लीका शिक्षक भीमबहादुर विकले जानकारी दिए । ‘प्रत्येक दिन कक्षाकोठामा उपस्थित/अनुपस्थित रेकर्ड राख्छौं,’ उनले भने, ‘विद्यार्थीको महीनाभरको उपस्थितिका आधारमा कार्ड पठाउने गरेका छौं ।’ रुकुमका सामुदायिक विद्यालयमा विद्यार्थी नियमित उपस्थित नहुने र सिकाइ दरसमेत खस्किरहेको अवस्था सुधार्न अभिभावकलाई कार्ड पठाउने अभियान प्रभावकारी भएको बताइएको छ । जिल्लाका खोलागाउँ, नुवाकोट, सिम्ली र गरायला गाविसका ४१ विद्यालयमा कार्ड अभियान सञ्चालन गरेको रुकुमेली समाज विकास केन्द्रका शिक्षा अधिकृत केशव बीसीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।