काठमाडौं । ४ वर्षअघि सबै जिल्लालाई साक्षर तुल्याई साक्षर नेपाल घोषणाको लक्ष्य लिइएकामा हालसम्म ३३ जिल्ला मात्र साक्षर घोषित भएका छन् । सरकारले २०६९ सालदेखि १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको आधार प्राप्त भएको अवस्थामा साक्षर जिल्ला घोषणाको थालनी गरेको थियो ।
विसं २०७२ सम्म सबै जिल्ला सकेर साक्षर नेपाल घोषणा गरिसक्ने लक्ष्य लिइए पनि बजेट अभाव र विविध कारणले गति लिन नसकेको पाइएको छ । साक्षर घोषित कतिपय जिल्लामा कागज मात्र मिलाएर साक्षर घोषणा गरिएको र नागरिक अझै औंठाछाप लगाउनुपर्ने अवस्थामा पाइएको प्रश्न उठेकाले पनि नयाँ जिल्लालाई साक्षर घोषणा गर्दा सचेतना अपनाएको मानिएको छ ।
गत आवसम्म कुल २९ जिल्ला साक्षर घोषणा भएका थिए । चालू आवमा कुल २६ जिल्ला साक्षर घोषणाको लक्ष्य लिइएकामा यो अवधिसम्म चार जिल्लामात्र घोषणा भएका छन् । ३ वर्षअघि सिन्धुपाल्चोक पहिलो र ललितपुर दोस्रो साक्षर जिल्ला घोषणा भएको थियो । साक्षर जिल्ला घोषणापूर्व गाविस र नगरपालिकालाई साक्षर घोषण गर्ने अभ्यास छ । जिल्ला घोषणा कार्यक्रमका लागि सरकारले अलग्गै रू. ३ लाख खर्च दिँदै आएको छ । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले हाल १० जिल्ला साक्षर घोषणाका क्रममा रहे पनि अभियानको लक्ष्यअनुसार कतिपय जिल्लाले तत्परता नदेखाएको बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।