प्रभावकारी बन्दै इञ्जिनीयरिङ पढाइ

Share News

रुकुम । रुकुमको विजयेश्वरी नगरपालिकास्थित शीतल उच्च माविमा सञ्चालित इञ्जिनीयरिङ पढाइ प्रभावकारी बन्दै गएको छ । उक्त विद्यालयमा कक्षा–९ देखि इञ्जिनीयरिङ पढाइ हुँदै आएको छ । गाउँघरकै विद्यालयमा इञ्जिनीयरिङ पढाइको सुविधाले सो विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

इञ्जिनीयरिङ पढ्न दाङ, नेपालगञ्ज, काठमाडौं, पोखरा, सुर्खेतलगायत शहर जान बाध्य रहेका रुकुमका विद्यार्थी गाउँकै विद्यालयमा उक्त विषयको पढाइ हुन थालेपछि लाभान्वित भएको स्थानीयले बताएका छन् । जिल्लामै पहिलोपटक माध्यमिक स्तरमा सञ्चालित इञ्जिनीयरिङ पढ्ने विद्यार्थी बढ्दै गएका छन् । ‘सानैदेखिको लक्ष्य इञ्जिनीयर बन्ने थियो,’ कक्षा–९ मा यो विषय अध्ययन गरिरहेकी कोटजहारी गाविसकी दीपा योगीले भनिन्, ‘गाउँकै विद्यालयमा इञ्जिनीयरिङ पढ्न पाउँदा खुशी लागेको छ । यो पढाइ पूरा भएपछि पुनः माथिल्लो तहको इञ्जिनीयरिङ पढ्ने इच्छा रहेको उनले बताइन् ।

‘माध्यमिक तहमै इञ्जिनीयरिङ पढाइले इञ्जिनीयर बन्न जगको काम गरेको छ,’ योगीसँगै सो विषय पढ्ने जाजरकोट लहाँका दीपेन्द्र खत्रीले भने । विद्यालयदेखि २ दिन टाढाको गाउँका उनी अहिले चौरजहारीमै बसेर यो शिक्षा लिइरहेका छन् । राम्रो कमाइ हुने र सजिलै जागीर पाउन सकिने भएकाले इञ्जिनीयरिङ पढाइमा विद्यार्थीको आकर्षण बढेको विद्यालयका प्राचार्य गणेश रिजालले बताए । उनले भने, ‘इञ्जिनीयरिङ विषयप्रति विद्यार्थीको रुचि बढ्दै गएपछि विद्यालय तहबाटै शिक्षण शुरू गरिएको हो ।’ यो शैक्षिक सत्रमा ४८ जना विद्यार्थीले इञ्जिनीयरिङ पढिरहेको उनले जानकारी दिए ।

सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाअन्तर्गत इञ्जिनीयरिङ अध्ययनको स्वीकृति दिएपछि सिभिल इञ्जिनीयरिङको पाठ्यक्रमअनुसार ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक भएकाले विद्यार्थीलाई अध्ययन गर्न सजिलो भएको विद्यालयका शिक्षक तथा इञ्जिनीयर नवीन शर्माले बताए । उनले भने, ‘पछिल्लो समयमा इञ्जिनीयरिङ पढाइ प्रभावकारी बन्नुका साथै विद्यार्थीको आकर्षणसमेत बढ्दो रहेको छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।