शनिवार पनि विद्यालय जान चाहन्छन् बालबालिका

Share News

रोल्पा । कुनैबेला विद्यालय जानै नमान्ने रोल्पा घोडागाउँ–६ पञ्चीकोटका बालबालिकाहरू अहिले भने शनिवार पनि विद्यालय जान चाहन्छन् । पञ्चीकोट गाउँमा रहेको गङ्गा प्राथमिक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन भएपछि यहाँका बालबालिका विद्यालयमा आउन आकर्षित भएका हुन् । जिल्ला शिक्षा कार्यालय रोल्पाको साझेदारीमा सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको आर्थिक सहयोगमा नमूना बाल विकास केन्द्रका लागि बालमैत्री भवन निर्माण भएको छ ।

नमूना बाल विकास केन्द्रमा सुरक्षित खेलमैदान मात्र होइन, बालबालिकाको पोषण तथा स्वस्थ व्यवहारका बारेमा पनि सिकाइने गरिन्छ । बालबालिकालाई ६ ओटा सिकाइ क्षेत्रमा केन्द्रित रहेर सिकाइने गरिएको बाल विकास केन्द्रकी शिक्षिका उमा घर्तीले बताए । ‘अभिनय सिकाइ क्षेत्र, भाषा सिकाइ क्षेत्र, निर्माणात्मक सिकाइ क्षेत्र, गणित सिकाइ क्षेत्र, मनोरञ्जन सिकाइ क्षेत्र र सृजनात्मक सिकाइ क्षेत्रमा केन्द्रित भएर बालबालिकालाई सिकाइने गरिएको छ,’  उनले भनिन् ।

यसअघि जुनसुकै उमेरका बालबालिकालाई सीधै कक्षा १ मा भर्ना गर्दा उनीहरूको सिकाइ स्तर कमजोर हुने गरेको पाइन्थ्यो । तर, अहिले भने ३ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई प्रारम्भिक सिकाइका लागि बाल विकास केन्द्रमा भर्ना गर्ने गरिन्छ । बाल विकास केन्द्रबाट प्रारम्भिक ज्ञान सिकेर जाने भएकाले विद्यालय तहमा आफ्नो बालबालिकाको सिकाइ स्तरमा वृद्धि हुनुका साथै व्यक्तिगत सरसफाइ गर्ने आनीबानीमा समेत परिवर्तन आएको अभिभावक रेशमी कुवँरले बताइन् । ‘मेरो बाबु अहिले कक्षा १ मा पढ्छ,’ उनले भनिन्, ‘शिशु कक्षामा पढ्दादेखि ट्वाइलेट गएर आएपछि साबुनपानीले हात धुने गर्छ ।’

रोल्पा जिल्लाका ३ सय ५२ ओटा बाल विकास केन्द्रमध्ये १ सय १८ ओटा केन्द्रलाई सेभ द चिल्ड्रेनको सहयोगमा नमूना बाल विकास केन्द्रको रूपमा सञ्चालन गरिएको छ । जिल्लाका यी नमूना बाल विकास केन्द्रबाट सिकेर अन्य सबै बाल विकास केन्द्रलाई व्यवस्थापन गर्न सके बालबालिकाको सिकाइ स्तरमा वृद्धि हुनुका साथै जिल्लाको समग्र शैक्षिक स्तर सुधार्न सकिने सेभ द चिल्ड्रेन रोल्पाका प्रमुख इन्द्र बडुवालले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।