कावासोती । नवलपरासीको कावासोती–१५, शेरगञ्जमा रहेको माझी प्रावि दुईजना शिक्षकको भरमा सञ्चालन हुँदै आएको छ । २०५३ सालमा स्थापना भएको सो विद्यालयले २०६६ सालमा जिल्ला शिक्षा कार्यालयबाट प्रावि (कक्षा ३)सम्म कक्षा सञ्चालनका लागि अनुमति प्राप्त गरको थियो ।
सीमान्तकृत माझी, मुसहर समुदाय का बालबालिका पढ्ने सो विद्यालयमा हाल एकजना राहत दरबन्दी र एकजना बालविकासतर्फका गरी दुई शिक्षिका कार्यरत गर्छन् । विद्यालयको सहयोगी (पीएन)ले समेत विद्यालयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
‘राहत दरबन्दी एकजना र बालविकासतर्फको मसमेत गरी दुई शिक्षिका विद्यालयमा कार्यरत छौं,’ विद्यालयका प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘बालविकास र कक्षा १ का विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरेका छौं ।’
जिल्ला शिक्षा कार्यालयबाट २०६६ सालमा नै अनुमति प्राप्त गरे पनि २०६९ सालमा राहत मिलानबाट एक शिक्षकको दरबन्दी विद्यालयमा परेको थियो । हाल विद्यालयमा ६० विद्यार्थी अध्ययनरत छन् । यसमध्ये तीनजना बाहेक अन्य सबै विद्यार्थी माझी र मुसहर समुदायका हुन् ।
‘शिक्षक दरबन्दी नहुँदा निकै समस्या भएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर माझीले भने, ‘निजीस्रोतमा शिक्षक राख्ने अवस्था विद्यालयको छैन, जिल्ला शिक्षा कार्यालयले थप दरबन्दी पठाउँदैन ।’
विद्यालयको सहयोगीले बालविकास कक्षाका विद्यार्थीका लागि खाजा बनाउने समयमा विद्यालयको कक्षा खाली रहन्छ । विद्यालयको प्राध्यानाध्यापक व्यवस्थापकीय कार्यले विद्यालय बाहिर जानुपर्ने वा कुनै शिक्षक बिदामा बस्नुपर्ने अवस्था आए विद्यालयको अधिकांश कक्षामा दिनभर नै पढाइ नहुने अवस्था छ ।
विद्यालयको भैतिक अवस्था सुधारका लागि जिल्ला शिक्षा कार्यालय नवलपरासी, माझी मुसहर बाटो कल्याण सेवा समिति, दिगो गाउ“ समितिलगायत संस्थाहरूले सहयोग गरे पनि विद्यालयमा आवश्यक दरबन्दी नहुँदा विद्यार्थीको पढाइमा असर परेको छ ।
विद्यालयको अवस्थाका बारेमा जानकार भए पनि तत्काल थप दरबन्दी पठाउन सक्ने अवस्थामा जिल्ला शिक्षा कार्यालय नरहेको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । ‘विद्यालयको अवस्थाको बारेमा हामी जानकार छौं । तर, व्यवस्थापकीय हिसाबले अहिले नै थप दरबन्दी पठाउन सकिँदैन । भौतिक र अन्य विषयमा सहयोग गर्न हामी तयार छौं,’ उनले भने, ‘जिल्लामा एउटा पनि शिक्षक दरबन्दी नभएका विद्यालय पनि छन् । दरबन्दी मिलान शुरू गर्दै छौं । मिलान हुने अवस्था आयो भने थप दरबन्दी पर्न सक्छ ।’
कार्यालयबाट दरबन्दी थप नहुँदासम्म समुदायबाटै शिक्षक थप गरेर विद्यालय सञ्चालन गर्नुपर्ने घिमिरेको भनाइ छ । तर, माझी र मुसहर समुदायका बालबालिका मात्रै अध्ययन गर्न सो विद्यालयमा सो समुदायले निजी स्रोतमा शिक्षक थप गर्न सक्ने अवस्था पनि छैन । नियमित रूपमा कक्षा सञ्चालन नहुँदा विद्यालय आउने विद्यार्थीको सङ्ख्या थपघट हुने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।