१६ वर्षमा पनि पुगेनन् विद्यालयमा जिशिअ

Share News

पर्वत । पर्वतको नाग्लिवाङ–४ मा २०५७ सालमा जनजागृति प्राथमिक विद्यालय खुल्यो । गाउँका बालबालिकाको शिक्षाका लागि विद्यालयको आवश्यकता महसूस गरी स्थानीयको सहयोगमा कक्षा ३ सम्म पढाइ हुनेगरी विद्यालयको स्थापना गरिएको थियो । विद्यालयले यहाँ रहेका दलित बाहुल्य विद्यार्थी तथा गैह्रदलित विद्यार्थीलाई शिक्षा लिन निकै सजिलो भयो ।

जिल्ला शिक्षा कार्यालयले सहयोग दिए विद्यालयमा थप कक्षा अध्यापन गराउने लक्ष्य राखेर पठनपाठन थालिएको यो विद्यालयमा स्थापनादेखि हालसम्म एकपटक पनि कुनै जिल्ला शिक्षा अधिकारी आएका छैनन् । विद्यालयमा शिक्षकको अभाव छ भने बालबालिकालाई पिउने पानीको पनि समस्या छ । गाविसकै विकट यो विद्यालयलाई जिल्ला शिक्षा कार्यालयबाट कुनै सहयोग गरिएको छैन ।

विद्यालयको समस्या सुनाउँदै प्रधानाध्यापक तारा महत भन्छिन्, ‘शिक्षालाई प्रविधियुक्त बनाउन अन्य विद्यालयमा आईसीटी, कम्प्युटर र अङ्ग्रेजी माध्यममा अध्यापन हुँदा यहाँ भने कालोपाटीमै पढाउनुपर्ने बाध्यता छ ।’ गुणस्तरीय शिक्षाका लागि लोकप्रिय नारा ल्याइए तापनि आवश्यक व्यवस्था नहुँदा विद्यालयको पठनपाठनमा समस्या भएको उनको भनाइ छ । यहाँ अध्ययन गर्ने बालबालिका अत्यन्त कमजोर आर्थिक अवस्था भएका परिवारका रहेको उनले बताइन् । ‘जाडो मौसम भए तापनि एकसरो लुगामा विद्यालय आउँछन्,’ उनले भनिन्, ‘कतिपयले खाना खान्छन् त कतिपयले अरूले दिए खाने, नभए भोकै विद्यालय आउने गरेका छन् ।’

स्थापनाको १६ वर्षपछि बल्ल विद्यालयमा सेतोपाटी ल्याइएको छ । ३ रोपनीको सार्वजनिक जग्गामा बनाइएको विद्यालयमा विद्यार्थीका लागि खेलमैदानको पनि अभाव छ । विद्यालयअगाडि भीर भए पनि सुरक्षाका लागि तारजाली गर्न सकिएको छैन । ‘यसले विद्यार्थीका लागि पनि जोखीम बढाएको छ,’ महत भन्छिन्, ‘विद्यालयमा कहिलेकाहीँ स्रोत व्यक्ति आउने गरे तापनि अनुगमनका लागि अहिलेसम्म जिल्ला शिक्षा अधिकारी आएका छैनन् ।’

विद्यालयमा ईसीडीदेखि कक्षा ३ सम्म ४७ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यीमध्ये ३८ जना विद्यार्थी दलित परिवारका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर खड्का भन्छन्, ‘कक्षा १ देखि ३ सम्म दुईजना शिक्षकले अध्यापन गराउँदै आएका छौं, तीमध्ये एकजना राहत तथा एकजनाको अस्थायी दरबन्दी छ ।’

उक्त विद्यालयमा जिल्ला शिक्षा कार्यालयले २०६८ सालमा नयाँ दुईकोठे पक्की भवनका लागि ७ लाख ५० हजार तथा गतवर्ष भवन मर्मतका लागि २५ हजार छुट्ट्याएको थियो । त्यस्तै, शौचालय निर्माणका लागि २ लाख रकम विनियोजन गरी आफ्नो उपस्थिति देखाएको शिक्षा कार्यालयबाट सो विद्यालयमा झण्डै २ दशकको अवधिमा एकजना पनि जिल्ला शिक्षा अधिकारी पुग्न सकेका छैनन् ।

शिक्षा कार्यालय पुग्न नसकेको उक्त विद्यालयमा भने सामाजिक क्षेत्रमा अग्रणी संस्था रोटर्‍याक्ट क्लब अफ पर्वत र रोटर्‍याक्ट क्लब अफ काठमाडौं नर्थले सोमवार एक संयुक्त कार्यक्रम गरी विद्यालयका सबै विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । नाग्लिवाङका युवा समाजसेवी सोम जीसीको अनुरोधमा दुवै क्लबले विद्यार्थीलाई सहयोग गरेका हुन् । कार्यक्रममा विद्यालयका ४७ जना विद्यार्थीलाई खाजा खर्च कटाएर जाडो मौसममा उपयुक्त हुने कपडा वितरण गरिएको थियो । कार्यक्रममा क्लबको सहयोगप्रति आभार प्रकट गर्दै प्रधानाध्यापक महतले यसले शैक्षिक सुधारमा ठूलो प्रभाव पार्ने बताइन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।