रौतहट (अस) । रौतहटको ग्रामीण क्षेत्रका मुस्लिम समुदायका परिवारले छोरीलाई अहिले विद्यालय पठाउन थालेका छन् । छोरासरह छोरीलाई पनि उनीहरूले विद्यालय पठाउन थालेका हुन् । उनीहरूले छोरीलाई विद्यालयभन्दा पनि घरायसी काममा लगाउने गरेका थिए ।
पछिल्लो समयमा छोरा र छोरीमा विभेद गर्न नहुने भन्दै मुस्लिम समुदायका अभिभावकले छोरीलाई विद्यालय पठाउन थालेका हुन् । विद्यालय जान थालेपछि रौतहट राजपुरका किशोरी तथा बालिकहरू निकै हर्षित भएका छन् । मुखमा बुर्का लगाएर मात्र घर बाहिर निस्कने, परपुरुषसँग कुरा गर्न नहुने र घरमा मात्रै सीमित रहने परम्पराबाट उनीहरू विद्यालयको पहुँचसम्म पुगेका छन् ।
शिक्षाको चेतना नभएकाले मुस्लिम समुदायमा छोरीलाई घरको कामधन्दामा लगाउने चलन रहेको र अहिले शिक्षाको महत्व बुझेकाले मुस्लिम अगुवाहरू छोरीलाई पठाउन थालेकोे मुस्लिम अगुवा हाजी जिकुरुल्लाहले बताए । राजपुर फरहदवामा रहेको जामिया खादिजातुल कुब्रा विद्यालयमा सर्लाही, बारा र महोतरी जिल्लाका मुस्लिम छात्राहरूले निःशुल्क रूपमा अध्ययन गरिरहेको उनले बताए ।
विगत ५ वर्षअघि समुदायकै सहयोगमा राजपुर फरहदवामा विद्यालयको स्थापना गरिएको प्रधानाध्यापक कारी सहाबुद्दिनले जानकारी दिए । विद्यालयमा ४ सय छात्राहरू अध्ययनरत रहेकोे र छात्रावासमा १ सय ५० छात्राहरू बस्ने गरेको उनले बताए । उर्दूसहित नेपाली र अन्य विषयहरूको विद्यालयमा पढाइ हुँदै आएको छ । समुदायबाट सङ्कलित रकम र विभिन्न स्थानबाट आउने चन्दाले नै विद्यालय सञ्चालन भइरहेको प्रधानाध्यापक कारी सहाबुद्दिनले बताए । विद्यालयलाई शिक्षा कार्यालयले पनि सहयोग गर्नुपर्ने उनको माग छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।