विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

Share News

धनगढी (अस) । कैलालीको धनगढीमा पहिलोपटक निजी विद्यालयको सक्रियतामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीको आयोजनामा माघ ५ गतेदेखि १६ गतेसम्म कैलालीका १४ तथा कञ्चनपुरका २ विद्यालय गरी १६ ओटा विद्यालयहरूबीच क्रिकेट प्रतियोगिता आयोजना गरिने उक्त स्कूलका प्रधानाध्यापक रामचन्द्र शाहीले जानकारी दिए ।

विद्यालयस्तरबाटै खेलकुदको विकास राष्ट्रियस्तरसम्म पुगोस् भन्ने उद्देश्यले कैलालीका तीन सरकारी विद्यालयहरू त्रिनगर उमावि, शारदा उमावि र पञ्चोदय उमाविका साथै ११ ओटा निजी विद्यालयलाई प्रतियोगिताका लागि छनोट गरिएको प्रधानाध्यापक शाहीले जानकारी गराए । उनका अनुसार कञ्चनपुरका दुईओटा निजी विद्यालयलाई पनि प्रतियोगितामा सहभागी गराइएको छ ।

उक्त प्रतियोगिताको आयोजनाका लागि ४ लाख रुपैयाँ खर्च हुने बताइएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ३० हजार, द्वितीय टीमलाई १५ हजार र तृतीय हुने टीमलाई पुरस्कारस्वरूप १० हजार प्रदान गरिने जानकारी दिइएको छ । प्रतियोगितामा सहभागी हुने १६ ओटै विद्यालयहरूबाट सहाभागिताबापत रू. ५ हजारको दरले सङ्कलन गरिएको शाहीले बताए । प्रतियोगिताको प्रायोजकमा होटल डिभोटी, सिप्रदी तथा सुरज ग्रूप रहेका छन् । प्रतियोगितालाई निरन्तर रूपमा आयोजना गरिने जानकारी भन्दै उनले अर्को वर्ष विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।