arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैङ्किङ एक्स्पो शुरू

Feb 2, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा दोस्रो बैङ्किङ एक्स्पो–२०१८ शुरू भएको छ । नेपाल राष्ट्र बैङ्कको प्रवद्र्धन, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेण्ट बैङ्कर्स संघ, नेपाल वित्तीय संस्था सङ्घ र माइक्रोफाइनान्स बैङ्कर्स सङ्घको सहकार्य एवम् मिडिया इण्टरनेशनलको आयोजनामा दुईदिने उक्त एक्स्पो शुरू भएको हो । निःशुल्क प्रवेश पाइने मेला शनिवारसम्म जारी रहने आयोजक समितिले बताएको छ । गतवर्ष वैशाख १५ गतेदेखि १७ गतेसम्म तीनदिने बैङ्किङ एक्स्पो सञ्चालन गरिएको थियो । एक्स्पोमा राष्ट्र बैङ्क, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एशोसिएशनलगायत विभिन्न वित्तीय सङ्घसंस्था तथा बैङ्क, बीमा, रेमिट्यान्स, मर्चेण्ट बैङ्कलगायतकोे सूचनामूलक स्टल रहनेछन्् । यो मेला बैङ्क, बीमा, शेयर बजार एवम् उद्यमशीलता विषयबारे जानकार राख्ने थलोको रूपमा रहने आयोजकको भनाइ छ । उसका अनुसार मेलामा सहभागी हुन कुनै शुल्क लाग्दैन । मेलामा सम्बन्धित विषयका विज्ञको सहभागितामा गोष्ठीसमेत सञ्चालन गरिनेछ । आयोजकको अनुसार यसपटक एक्स्पोमा शेयर बजार र बैङ्किङ प्रविधिलाई केन्द्रित गरेर गोष्ठी सञ्चालन गरिनेछ । आयोजकका अनुसार विशेषगरी म्यानेजमेण्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी, व्यवसाय बढाउन चाहने उद्यमी, रकमको अभावले उद्यम थाल्न नसकिरहेका युवा र स्वदेशमै अवसर खोजिरहेका व्यक्तिलाई लक्षित गरी एक्स्पो सञ्चालन गरिएको हो । मेलामा बैङ्किङ सूचना प्रवाह, बैङ्कबाटै कर्जा लिएर उद्यमशीलताको विकास तथा बैङ्किङ क्षेत्रमा भित्रिएका नयाँ प्रविधि तथा प्रडक्टबारे जानकारी गराइनेछ । यस्तै, आधिकारिक माध्यमबाट रेमिट्यान्स पठाउने बानीको विकास गराउनुका साथै रेमिट्यान्स क्षेत्रमा भित्रिएका प्रविधिकाबारे जानकारी दिइनेछ । वित्तीय जागरण ल्याउनेगरी कार्यक्रम सञ्चालन, बैङ्क खाता नभएकाहरूलाई खाता खोल्न सहजीकरण, बैङ्किङ टेक्नोलोजीसम्बन्धी जानकारी नभएकालाई ई–बैङ्किङ एवम् बैङ्किङ कार्डहरू तथा मोबाइल बैङ्किङसम्बन्धी जानकारी दिइनेछ । यसैगरी मेलामा बीमाको विकास, विस्तार, आवश्यकता र महत्त्वका साथै बीमा क्षेत्रमा भित्रिएका प्रविधिबारे जानकारी गराउने लक्ष्य छ । पछिल्लो समय अत्यधिक विस्तार भएको पूँजी बजारमा लगानीको अवसर, आस्बा प्रणाली एवम् शेयर क्षेत्रमा भित्रिएका नयाँ प्रविधिकोे जानकारी गराइनेछ । मेलामार्फत पूँजी बजारलाई अझ व्यापक बनाउने उद्देश्यसमेत लिइएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्