ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बारा–पर्सा कोरिडोरमा निर्माण सामग्री उत्पादनमा बढ्दो लगानी

Feb 8, 2018  
समाचार मुख्य खबर
Image Not Found
author avatar ओमप्रकाश खनाल
माघ २५, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा पछिल्ला वर्षहरूमा निर्माण सामग्रीको उत्पादनमा नयाँ लगानी थपिनेक्रम बढेको छ । फलाम र सिमेण्ट उद्योगको बाहुल्यता रहेको यो कोरिडोरमा यस्ता उद्योगमा मात्र २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उद्योगीहरूको अनुमान छ । कोरिडोरमा लगानी विस्तार भएसँगै उद्योगीले नयाँ नयाँ चुनौतिहरूको पनि सामना गरिरहनु परेको छ । हालै बारा पर्साका एक दर्जनभन्दा बढी सिमेण्ट उद्योगले कच्चा पदार्थको आयातमा चरम सकस बेहोरिरहेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवम् श्री सिमेण्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवाल सरकार लगानी संरक्षणमा संवेदनशील हुन नसकेको बताउँछन् । ‘अर्बौंको लगानीमा खुलेका यो क्षेत्रका १३ ओटा सिमेण्ट उद्योगले कच्चा पदार्थको आपूर्तिमा अत्यन्तै असहजता झेलिरहेका छन् । तर, सरकार निकासको कुनै विकल्पमा गम्भीर देखिएको छैन,’ अग्रवालले गुनासो गरे । गत डिसेम्बर २२ देखि भारतीय रेलवेले मुख्य नाका वीरगञ्ज–रक्सौलको रेलवे यार्डमा क्लिङ्कर लोडअनलोड बन्द गरेपछि आयातकर्ता अहिले १ सय २५ किलोमीटर टाढा रहेको भारतकै नारायणपुरबाट ढुवानी गर्न बाध्य भएका छन् । यसबाट उत्पादन लागत बढी परेको उद्यमीको गुनासो छ । फलाम उद्योगीहरूले पनि रेलवे र बन्दरगाहमा अनपेक्षित विलम्व र त्यसबाट जरीवानाको भार खेप्नु परेको गुनासो गरेका छन् । चाहिएको बेलामा रेलवेले ¥याक नदिने र वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालन प्रभावकारी नहुँदा खर्च बढी परिरहेको आयातकर्ता बताउँछन् । अन्तरराष्ट्रिय बजारमा अहिले निर्माण सामग्री र कच्चा पदार्थको भाउ बढेका बेला ढुवानीमा अनपेक्षित अवरोधका कारण स्वदेशमा निर्माण सामग्रीको मूल्य थप वृद्धि हुन पुगेको उनीहरूको दाबी छ । वीरगञ्ज–पथलैया कोरिडोरमा सञ्चालनमा रहेका र खुल्ने तयारीका निर्माण सामग्रीका उद्योगहरूले यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको हब बनाएका छन् । तर, समयक्रममा आइलाग्ने समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्ने उद्यमीहरुको भनाइ रहँदै आएको छ । ‘लगानी परिमाण र सम्भावनाका आधारमा करिडोरलाई निर्माण सामग्री उत्पादनको क्षेत्रका रुपमा ब्राण्डिङ गर्न सकिन्छ,’ बारा–पर्सामा लगानी केन्द्रित गरेको औद्योगिक घराना क्याल समूहका कार्यकारी निर्देशक राजेश क्यालले भने, ‘यो औद्योगिक कोरिडोर मुख्य नाकासँगै जोडिएर रहेकाले कच्चा पदार्थको आयात सहज छ । भौगोलिक अवस्थिति मुलुकको मध्य भागमा भएकाले यहाँबाट उत्पादनको ढुवानी र बजारीकरण पनि अन्यत्रको तुलनामा कम खर्चिलो छ ।’ सम्भाव्यता दोहनका लागि लगानीको सुरक्षित वातावरण र पूर्वाधारको व्यवस्थित प्रबन्धको आवश्यकतालाई उद्योगीहरूले जोड दिएका छन् । उपलब्ध पूर्वाधारको प्रभावकारी परिचालनका निम्ति आवश्यकीय आधार निर्माण भएमा यो क्षेत्रलाई निर्माण सामग्री उत्पादनको केन्द्रका रुपमा स्थापित गर्न सकिने सम्भावना बलियो भएको उनीहरूको छ । अहिले यहाँ १३ ओटा सिमेण्ट उद्योग र त्यति नै सङ्ख्यामा फलामे डण्डी, पाइप, जस्तापाता र निर्माणसम्बन्धी अन्य उद्योग खुलेका छन् । बारा–पर्सामा नारायणी, इण्टरनेशनल, स्टार, जगदम्बा, अम्बे, नेपाल शालिमार, अरनिको, विश्वकर्मा, श्री, कृष्णा, आरएमसीलगायतका सिमेन्ट उद्योग खुलेका छन् । इण्टरनेशनल सिमेण्टले हालै आफ्नो उत्पादन क्षमता बढाएर दोब्बर पु¥याएको उद्योगका सञ्चालक सन्दीप अग्रवालले बताए । उद्योगले आफ्नो उत्पादन क्षमतालाई दैनिक ५ सयबाट एक हजार मेट्रिकटन पु¥याएको छ । यो कोरिडोरमा जगदम्बा स्टिल, नारायणी रोलिङ मिल्स, हामा आइरन, अशोका स्टील, बन्दना रोलिङ, शाखः स्टील, हिमाल, शालिमारलगायतका साना ठूला गरी एक दर्जन डण्डी, पाइप र निर्माणका उद्योगहरू पनि छन् । यी उद्योगहरुको दैनिक उत्पादन क्षमता एक सयदेखि १ हजार मेट्रिकटनसम्म छ । केही औद्योगिक धरानाले सिमेण्ट र डण्डी दुवै उद्योगमा लगानी गरेका छन् । क्याल समूहले हालै सवा अर्ब रुपैयाँको लगानीमा जस्ता पाताको उद्योग सञ्चालनमा ल्याएको छ । यो उद्योगले रङ्गिन र सादा जस्ता पाता उत्पादन गरिरहेको छ । क्याल समूहले डण्डी उत्पादनमा ठूलो लगानीमा अत्याधुनिक नयाँ उद्योग थप्ने तयारी भइरहेको बताएको छ । यो औद्योगिक समूहले यसअघि नै नारायणी टीएमटी, विभिन्न नाप आकारमा पत्ती, एङ्गल, च्यानल, स्क्वायर रड, प्लेन रड, पाइप, सिमेण्ट, ब्लक, तार जालीगायतका वस्तुको उत्पादन गरिरहेको छ । वीरगञ्ज क्षेत्रको भौगोलिक अवस्थिति, कच्चा पदार्थको आपूर्ति र ढुवानीमा सहजताका कारण यो क्षेत्रमा निर्माण सामग्री उत्पादनको सम्भावना अत्याधिक रहेको उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । ‘लगानीको प्रवृत्ति र भौगोलिक उपलब्धताका आधारमा यो क्षेत्रमा निर्माण सामग्री उत्पादनको राम्रो सम्भावना छ । यसको उपयोगका लागि सरकारले प्रोत्साहनमुलक नीति ल्याउनु पर्दछ’, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका केडियाको भनाइ छ । नेपाल विकासशिल देश भएकाले निर्माण सामग्रीको बजार विस्तार हुनेमा उद्योगी अशावादी भए पनि सम्भावनाको अधिकतम् उपयोगका लागि उर्जा र कच्चापदार्थको आपूर्तिका समस्या समधान हुनुपर्ने धारणा नेपाल शालिमार सिमेण्टका सञ्चालक अशोक कुमार वैदको छ । बारा–पर्सालाई निर्माण सामग्री उत्पादन क्षेत्र घोषणा गरी उर्जा, कर, राजस्वलगायतमा प्रोत्साहन दिने हो भने सहज रुपमा नयाँ लगानी थपिने उद्योगीको भनाइ छ । विद्युत् आपूर्तिमा तुलनात्मक सुधार आए पनि त्यो अपेक्षित नभएको उद्यमी बताउँछन् । समस्या समाधानमा उदासीनताः बारा–पर्साका सिमेण्ट उद्योगको कच्चा पदार्थको आपूर्ति आयातको भरमा चलेको छ । नेपालमा अहिले पनि ७० प्रतिशत क्लिङ्करको आपूर्ति आयातबाटै हुने उद्योगी वैदको भनाइ छ । कतिपय क्लिङ्कर उत्पादन गर्ने स्विदेशी उद्योगले समेत केही परिमाण भारतबाट आयात गरिरहेको पाइन्छ । वीरगञ्ज नाकामा अहिले देखिएको कच्चा पदार्थको आपूर्तिको समस्याको निकासमा निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारी निकाय आवश्यकताअनुसार गम्भीर नदेखिएको नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक उमेश चन्द्र ठाकुर बताउँछन् । वाणिज्य मन्त्रालयका अधिकारीहरूले भने दीर्घकालीन समाधानका लागि स्वदेशमै कच्चा पदार्थ लोड अनलोडको व्यवस्था मिलाउन लागि परेको बताउने गरेका छन् । सरकारी सक्रियताको सार देखि नसकेको आयात कर्ताको गुनासो छ । सरकारले स्वदेशी सिमेण्ट उद्योगलाई आफैं क्लिङ्कर बनाउन सुझाउने गरेको छ । यस्ता उद्योगीले उद्योगको अनुमति लिँदा नै स्थापनाको ५ वर्षभित्र क्लिङ्कर उत्पादन गर्ने शर्त स्वीकार गरेका हुन्छन् । तर, पर्याप्त पूर्वाधारको अभाव र खानी ओगट्ने प्रवृत्तिका कारण स्वदेशमा कच्चा पदार्थ उत्पादन हुन नसकेको उद्यमीहरूको साझा गुनासो छ । सरकारले खानी स्थलसम्म आवश्यकीय पूर्वाधार पु¥याउन नसक्नु र स्थानीयको अनावश्यक अवरोध क्लिङ्कर उत्पादनका चुनौतिहरू हुन् । क्लिङ्कर उत्पादनमा ग्राण्डिङ युनिटको तुलनामा तीन गुणासम्म बढी लगानी आवश्यक पर्ने उद्योगी बताउँछन् । ‘खानीस्थलसम्म विद्युत् र बाटो घाटो जस्ता पूर्वाधार पुग्ने हो र स्पष्ट कानूनी आधार भएमा लगानीको सम्भावना नभएको पनि होइन’, महाप्रबन्धक ठाकुरले भने ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्