arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि

Feb 19, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
ताप्लेजुङ । अलैंची खेतीतर्फ कृषकको आकर्षण बढेसँगै ताप्लेजुङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । यो वर्षमात्रै २ हजार ९ सय ४० मेट्रिक टन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले बताएको छ । कार्यालयका अनुसार यो पछिल्लो ६ वर्षयताकै सबैभन्दा धेरै उत्पादन हो । चालू आर्थिक वर्षमा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको कार्यालयको भनाइ छ । गतवर्ष यही क्षेत्रफलमा २ हजार ५ सय २० मेट्रिक टन उत्पादन भएको थियो । हालको बजार मूल्यअनुसार यो वर्षको उत्पादनले जिल्लामा २ अर्ब रुपैयाँभन्दा बढी रकम भित्रिने देखिन्छ । अहिले यहाँ प्रतिमन (४० किलो)को ३५ हजार रुपैयाँका दरले कारोबार भइरहेको बताइएको छ । प्रमुख नगदेबालीका रूपमा परिचित अलैंची खेतीतर्फ कृषकको आकर्षण बढेको र खेती व्यवस्थापनमा समेत सुधार हुँदै गएकाले उत्पादनमा वृद्धि भएको कार्यालयका सूचना अधिकारी मित्रलाल पौडेलले बताए । केही वर्षअघि भएको मूल्यवृद्धिपछि यहाँका अधिकांश कृषकले अन्न उब्जनी हुने खेतबारीमा अलैंची खेती गरेका थिए । अहिले पनि पाखो जग्गादेखि करेसाबारीसम्म सिँचाइको व्यवस्थापन गरेर स्थानीयले खेती विस्तार गरिरहेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेवाङका कृषक यमनाथ सिग्देलले भने, ‘पहिले भाउ नहुँदा वर्षमा २ पटक फाँड्न र टिप्न पुग्ने गरेको बगानमा भाउ बढेसँगै अहिले मलजल र सिँचाइ गर्न दिनहुँजसो पुगिन्छ ।’ अलैंची उत्पादन क्षमता तथ्याङ्कअनुसार वर्षेनि खेती विस्तार भइरहेको छ भने उत्पादनमा समेत सुधार भएको छ । अघिल्ला वर्षहरूमा रोग लागेर सखाप भएको बगानमा पुनः नयाँ बिरुवा लगाएपछि र खेती व्यवस्थापनमा थप मेहनत गरेपछि उत्पादन बढेको कृषकले बताएका छन् ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्