arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

त्रिवि शिक्षण अस्पतालमा वर्षाको पानी सङ्कलन प्रणाली

Feb 27, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । त्रिवि शिक्षण अस्पताललाई कोकाकोलाको सहयोगमा वर्षामा परेको पानी जम्मा गर्ने रेन वाटर हार्भेष्टिङ (आरडब्लूएच) र जमीनमुनिको पानी रिचार्ज गर्ने ग्राउण्ड वाटर रिचार्ज (जीडब्ल्यूआर) हस्तान्तरण गरिएको छ । स्मार्ट पानीले बोटलर्स नेपालको सहयोगमा शिक्षण अस्पताललाई यो योजना सोमवार हस्तान्तरण गरेको हो । कार्यक्रममा शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दीपकप्रकाश महराले पहिलो आरडब्ल्यूएच र जीडब्ल्यूआर योजना शुरू गर्न पाएकोमा आभार व्यक्त गरे । ‘शिक्षण अस्पताल देशकै ठूलो र धेरै बिरामीलाई सेवा दिने केन्द्रका रूपमा रहेको अस्पताल हो,’ उनले भने, ‘यो प्रविधिले हाम्रो क्षमता वृद्धिमा सहयोग पुग्नेछ ।’ स्मार्ट पानीका प्रबन्ध निर्देशक सुमन शाक्यले भने, ‘आठओटा रेन वाटर हार्भेष्टिङ र ग्राउण्ड वाटर रिचार्ज सिष्टम कोकाकोलाको सहकार्यमा शिक्षण अस्पतालमा सञ्चालन गर्न पाउँदा निकै खुशी छौं ।’ कोकाकोलासँग जोडिएर अन्य योजनामा पनि कम्पनीले काम गर्दै आएको उनले जानकारी दिए । यो प्रविधि प्रयोग गरेका संस्था र समुदायलाई वर्षाको पानी सङ्कलन गर्ने योजनामा सहयोग पुग्ने उनको भनाइ छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्नेले आफ्नो कम्पनी सामाजिक कार्यप्रति प्रतिबद्ध रहेको बताए । ‘विश्वभर नै कोकाकोलाले यस्ता सामाजिक कार्य गर्दै आएको छ । जमीनमुनिको पानी रिचार्ज गर्न हामी फरक कार्यक्रम र सहकार्यको खोजीमा छौं,’ उनले भने, ‘देशकै मुख्य स्वास्थ्य सेवा दिने स्थानमा पहिलो रेन हार्भेष्टिङ र ग्राउण्ड वाटर रिचार्ज सिष्टमको एक हिस्सा बन्न पाएकोमा खुशी लागेको छ ।’ सामाजिक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध कोकाकोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापन र एकीकृत जल प्रशोधन व्यवस्थापनको निम्ति निरन्तर काम गर्दै आएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्