ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन आयोजना : निर्माण कार्यले लियो गति

Feb 27, 2018  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । इन्धन आपूर्तिको दृष्टिले महत्त्वपूर्ण मानिएको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम तीव्र गतिमा अघि बढेको छ । पेट्रोलियम पाइपलाइन योजनाअन्तर्गत सीमावर्ती भारतीय शहर रक्सौलदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्मको निर्माण कार्य तीव्र रूपमा अघि बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । रक्सौलदेखि अमलेखगञ्जसम्मको दूरी ४० किलोमिटर छ । भारतबाट ४१ लरी पाइप नेपाल भित्रिएसँगै यसले गति लिन थालेको उनले स्पष्ट पारे । भारतीय पक्षले आयोजना कार्यान्वयनमा तत्परता देखाउँदा निर्माण कार्यले गति लिन थालेको गोइतको भनाइ छ । मोतिहारीदेखि रक्सौल–अमलेखगञ्ज पाइपलाइन आयोजनाको कुल दूरी भने ७८ किलोमिटर छ । निगमका अनुसार केही दिनअघि मात्रै भारतीय कण्ट्र्याक्टरको स्थानीय प्रशासनसँग बैठक सम्पन्न भएको छ । बैठकमा कण्ट्र्याक्टरहरूले काम अघि बढाउने विषयमा छलफल भएको निगम स्रोतले बताएको छ । त्यस्तै पहिलो चरणको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) पास भइसकेको र दोस्रो चरणका लागि तयारी अघि बढेकोसमेत निगमले जानकारी गरायो । निगमका अनुसार केही महीना अघिदेखि नै पाइपलाइनको काम शुरू भएको हो । निर्माण कार्यका लागि प्रारम्भिक सर्वेसमेत भइसकेको छ । उक्त पाइपलाइन तथा भण्डारण गृह निर्माणका लागि कुल ३४ हेक्टर जमीन आवश्यक पर्छ । केही जमीन प्राप्त गरी काम अघि बढाइएको छ भने बाँकी जमीनका लागि पनि आवश्यक कार्य अघि बढाइएको आपूर्ति मन्त्रालयले बताएको छ । केही महीनाअघि वन मन्त्रालय र निगमबीच पाइपलाइन राख्ने ठाउँका रूख काट्नेसम्बन्धमा देखिएको समस्या समाधान भइसकेको बताइएको छ । भारतीय आयल निगम (आईओसी)ले भारततर्फ पाइप बिछ्याउने कार्य धमाधम अघि बढाएको छ । नेपालले सम्पूर्ण तयारी पूरा गरेको अवस्थामा भारतले ३० महीनाभित्र पाइपलाइनको सबै काम सक्ने दाबी गरेको निगमको भनाइ छ । नेपाल र भारतबीच २०७२ भदौमा रक्सौल अमलेखगञ्ज पाइपलाइन आयोजना निर्माण गर्ने सम्झौता भएको थियो । उक्त आयोजना निर्माणका लागि भारतीय रुपैयाँ २ अर्ब ७५ करोड लाग्ने अनुमान छ । उक्त रकम पछिल्लो लागतअनुरूप समायोजन गरिनेसमेत सम्झौतामा उल्लेख भएको निगमले बताएको हो । पछिल्लो समय मुलुकमा इन्धनको माग र आपूर्ति बढेकाले ठूलो परिमाणमा इन्धन ल्याउन पाइपलाइन आयोजना अघि बढाएको निगमले स्पष्ट बताएको छ । पाइपलाइन निर्माण भएपछि रक्सौलमा हुने जामको सास्ती हट्ने, तेल ल्याउँदा हुने ढुवानी भाडा बचतलगायत फाइदा हुने निगमको दाबी छ । निगमले पाइपलाइन निर्माण भएपछि एकैपटक प्रतिघण्टा ३ लाख लिटरको दरले इन्धन मुलुकमा भित्रिने र १ दिनमा करीब ३० लाख लिटर इन्धन भारतबाट आयात गर्न सकिने जानकारी गराएको हो । यसबाट प्रत्येक दिन तेल आयातका लागि प्रयोग हुने २५ हजार लिटर डिजल बचत हुने भएको छ । त्यसबाट करीब ५० करोड रुपैयाँको बचत हुने निगमको अनुमान छ । त्यस्तै ट्याङ्करले लिँदै आएको ढुवानी भाडाबापत ७० करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्