ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सम्बन्ध सेतुको पर्व फगुवा

Mar 1, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar ओमप्रकाश खनाल
तराई मधेशमा फगुवा (होली) पर्व आपसी सद्भाव र रङको उत्सवको रूपमा मनाइन्छ । नेपालको पहाडी क्षेत्रभन्दा एक दिनपछि मनाइने यो पर्व यस क्षेत्रको मुख्य चाड हो । होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ । पछिल्लो समयमा यो पर्व यो क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बन्न पुगेको छ । यस क्षेत्रका लोकसंस्कृतिका बारेमा जानकार एवम् पत्रकार चन्द्रकिशोर यस्ता सांस्कृतिक अवसरहरूले समुदायबीच सद्भाव अभिवृद्धि गर्ने बताउँछन् । पछिल्लो समयमा होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ उनको छ । ‘यो पर्वले यहाँका विभिन्न समूदायलाई आपसमा जोड्ने काम गरेको छ,’ उनी भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने कामसमेत गरेको छ । यो अन्यन्त सकारात्मक पाटो हो ।’ तराई क्षेत्रमै पनि स्थानअनुसार फगुवाको संस्कृतिमा विविधता रहेको जानकारहरू बताउँछन् । कामविशेषले टाढाटाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने गर्छन् । यो पर्वमा परिवारका सबै सदस्य, आफन्त र साथीसङ्गी भेला भएर आपसमा रङ दलेर मीठो परिकार खाने चलन छ । मान्यजनको हातबाट अबिर ग्रहण गरी आशीर्वाद लिनु पनि फगुवाको विशेषता हो । तर, पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा भने जानकारहरू चिन्तित देखिएका छन् । सञ्चारकर्मी रीतेश त्रिपाठी बढ्दो आधुनिकतासँगै यो चाडको सांस्कृतिक विशेषता ओझेलमा पर्न गएको बताउँछन् । ‘होलीअगावै गाउँघर र शहरका गल्लीहरूमा गुञ्जिने होलीका परम्परागत सङ्गीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ उनी भन्छन् । होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएपछि परम्परागत गीत गाउने चलन लोप भएर गएको हो । तराईमा प्रचलित लोकबजाहरू ढोलक, डम्फा, झाल र मञ्जिरी बजाएर गाइने होलीका गीत अहिले ‘होली मिलन’का नाममा आयोजना हुने समारोहमा बजाइने यस्ता बनिबनाउ गीतको चर्को अतिक्रमणले लोप भएका छन् । विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको छनकसमेत नपाइने दाबी त्रिपाठीको छ । समयको गतिसँगै होली मनाउने तौरतरीका पनि फेरिएको छ । जानकार चन्द्रकिशोर पहिले कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको बताउँछन् । ‘पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन थियो । गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । त्यो अहिले छैन,’ उनी भन्छन् । अधिकांश पर्वहरू कृषिमा आधारित भए पनि खेतिपाती गर्ने मानिसको सङ्ख्यामा कमी आएपछि विस्तारै यस्ता लोकसांस्कृतिक परम्परा ओझेलमा पर्दै गएको छ । पहिले १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको जानकारहरू बताउँछन् । पत्रकार चन्द्रकिशोर यो क्षेत्रमा मनाइने होली पर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पुर्‍याएकोमा भने खुशी व्यक्त गर्छन् । यो पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवद्र्धन गर्न सक्ने हो भने होली मनाउनुको सार्थकता हुने उनको भनाइ छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्