arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राक्सीराङमा २ अर्बको हर्बल उद्योग स्थापना

Mar 2, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
हेटौंडा । मकवानपुरको राक्सीराङ गाउँपालिका–५ चैनपुरमा २ अर्बको लगानीमा जडीबुटी प्रशोधनका लागि आयुर्वेदिक उद्योग स्थापना हुने भएको छ । उद्योग स्थापनाका लागि चिनियाँ लगानीकर्ताले ४ सय रोपनी जमीन माग गरेको राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनले उद्योग स्थापनापछि स्थानीयले जडीबुटी खेती गरी उद्योगलाई विक्री गर्ने अवसर पाउने बताए । पहाडी भेगमा पाइने जडीबुटी उत्पादनका लागि राम्रो सम्भावना रहेको राक्सीराङ चेपाङ बाहुल्य क्षेत्र हो । सोनेङ हर्बल मेडिसिन प्रडक्ट्सले आयुर्वेदिक औषधि उत्पादनका लागि उद्योग स्थापना गर्न लागेको बताइएको छ । उद्योगमा आवश्यक जडीबुटी आफैं उत्पादन गर्ने योजनासहित लगानीकर्ताको समूह आएको अध्यक्ष मल्लले जानकारी दिए । केही दिनअघि उद्योग स्थापनाका लागि आवश्यक सिफारिश गरेर पठाएको उनले बताए । जडीबुटीजन्य वस्तु उत्पादनमा पौने २ अर्ब रुपैयाँ र औषधि उत्पादन गर्ने प्लाण्टमा २४ करोड रुपैयाँ लगानी गर्ने चिनियाँ टोलीले जानकारी दिएको छ । ४ सय रोपनी जमीन माग गरिएको भए पनि एकै स्थानमा ४ सय रोपनी जमीन उपलब्ध गर्न कठिनाइ पर्ने अवस्थाबारे पनि लगानीकर्ताको टोलीलाई जानकारी दिएको अध्यक्ष मल्लले बताए । मनहरीको बगरमा तटबन्ध गर्ने हो भने १ हजार रोपनी जग्गा निस्कन्छ । राक्सीराङ गाउँपालिका–५ को रानीबाङको पर्ती जङ्गलमा जडीबुटीको उत्पादन राम्रो हुने भएकाले चिनियाँ लगानीकर्ता आकर्षित भएका हुन् । कृषि तथा वनजन्य उद्योगमा स–साना स्वदेशी पूँजीमात्रै लगानी भइरहेको बेला २ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी आउनुले गाउँपालिका विकासको ढोका खुलेको छ । १०औं हजार मेट्रिकटन आयुर्वेदिक औषधि उत्पादनको क्षमता राख्ने सेनोङले नेपालमा औषधि उत्पादन गरी चिनियाँ बजारमा निर्यात गर्ने लक्ष्य लिएको बताइएको छ । उद्योगले स्वदेशी तथा विदेशी २ सय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने अनुमान छ । गत महीनामात्र विदेशी लगानी स्वीकृत गराएको सेनोङ हर्बल मेडिसिनले फागुन ९ गते विभागमा उद्योग दर्ता गराएको बताइएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्