ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

निर्माण व्यवसायमा अग्रसर हुँदै

Mar 8, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar हिमा वि.क.
नेपाल निर्माण व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार १२ हजार ५ सयभन्दा बढी निर्माण व्यवसायी रहेको यस क्षेत्रमा महिलाको उपस्थिति निकै न्यून छ । यीमध्ये ५० महिला निर्माण व्यवसायीले आफ्नै नेतृत्वमा कम्पनी नै स्थापना गरी निर्माण क्षेत्रमा काम गर्दै आएका छन् । १ सयजना जति महिला श्रीमानसँगै व्यवसायमा संलग्न छन् । निर्माण व्यवसायको क्षेत्रमा अहिले ३ हजार २ सयभन्दा बढी महिला सक्रिय रूपमा काम गरिरहेको महासङ्घको तथ्याङ्क छ । १४ वर्षदेखि निर्माण व्यवसाय क्षेत्रमा काम गर्दै आएकी देवकी राईका अनुसार आफ्नै नेतृत्वमा कन्ष्ट्रक्शन कम्पनी चलाएका महिलाका लागि अहिले काम गर्न सहज वातावरण बन्दै आएको छ । आफ्नै स्वामित्वमा अनामनगरमा साइनिङ कन्ष्ट्रक्शन कम्पनी सञ्चालन गरेकी उनी महासङ्घको सदस्यमा पनि छिन् । ‘विगतमा हामीलाई कार्यक्षेत्र (फिल्ड)मा जाँदा महिलाले पनि यस्तो काम गर्न सक्छन् भनेर होच्याउँथे,’ उनी भन्छिन् । तर अहिले यो अवस्था फेरिएको उनको अनुभव छ । ‘निर्माणका कामका लागि दुर्गम स्थान तथा अन्य जिल्लामा काम गर्न जाँदा महिला आएको भन्नेबित्तिकै विश्वास गरिहाल्ने अवस्था नै थिएन,’ देवीथान निर्माण सेवा प्रालिकी प्रबन्ध निर्देशक कमला भट्टराईले भनिन्, ‘अहिले महिला निर्माण व्यवसायी पनि अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका छन् ।’ महिला निर्माण व्यवसायीले गरेका काममा अहिलेसम्म गुनासो नआएको, गुणस्तरीय, टिकाउ भएको उनको अनुभव छ । निर्माणको काम कठिन हुन्छ । त्यसका लागि दिनरात नभनी फिल्डमै खटिनुपर्छ । साथै, उनीहरूले आफ्नो घरपरिवारसँग पनि सहज वातावरण बनाउनैपर्ने हुन्छ । यद्यपि, महिला निर्माण व्यवसायीले ठूला राष्ट्रिय गौरवका आयोजना तथा परियोजनामा भने काम नगरेको भट्टराईको भनाइ छ । महिला निर्माण व्यवसायी अझै पनि नेतृत्वमा भने आउन सकेका छैनन् । हरेक क्षेत्रमा महिलालाई नेतृत्व तहमा ल्याउनुपर्ने आवाज उठे पनि अझैसम्म उनीहरूलाई नेतृत्वमा आउन सक्ने वातावरण कुनै क्षेत्रका पुरुष नेतृत्वले गरेको पाइँदैन । महिलालाई नेतृत्वमा ल्याउन कोटाको व्यवस्था गरिएको छ । यसले महिलाको सहभागिता बढाए पनि नेतृत्व तहमा पुग्न भने सहयोग पुगेको देखिँदैन । जिल्लाका केही कम्पनीमा महिलाको नेतृत्व देखिए पनि महासङ्घ, जिल्ला सङ्घको नेतृत्वमा महिलालाई ल्याउन नसकिएको भट्टराईको तर्क छ । महिलालाई खुला प्रतिस्पर्धामा आउने वातावरण नै बनाइँदैन । महिलालाई सीमित कोटाभित्रै प्रतिस्पर्धामा राखिएको छ । यसले गर्दा उनीहरूको आत्मविश्वास तथा नेतृत्वमा पुग्ने अभिलाषामा ठेस पुग्ने देखिन्छ । निर्माणका काम फिल्डमै हुने र दूरदराजमा पनि पुग्नुपर्ने भएकोले पनि कतिपय अवस्थामा यो काममा आउन महिलालाई बाधा पुग्ने तर्क पनि पुरुष निर्माण व्यवसायीले गर्छन् । निर्माण व्यवसायको क्षेत्र महिलालाई चुनौतीपूर्ण भए पनि यस क्षेत्रमा महिला सक्रिय रूपमा लागेको देखिन्छ । यसले के प्रस्ट पार्छ, भने आत्मविश्वास र परिवारको सहयोग भएमा महिलाले कुनै पनि काम गर्न सक्छन् । ३३% महिला हुनुपर्ने महासङ्घको विधान विगत वर्षहरूमा निर्माणको क्षेत्रमा महिलाको निर्माण व्यवसायीको सहभागिता शून्यप्रायः थियो । तर, अहिले आफ्नै नेतृत्वमा कम्पनी स्थापना नगरे पनि महिलाको उपस्थिति वृद्धि हुँदै गएको छ । यो अवस्थामा महासङ्घले महिलाको सहभागिता सुनिश्चितताका लागि अहिले विधानमै ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने व्यवस्था गरेको छ । यसले पनि महिलालाई निर्माण क्षेत्रमा लाग्न प्रोत्साहित गर्छ । महासङ्घका महासचिव रामशरण देउजाले महिला निर्माण व्यवसायीको सहभागिता न्यून भए पनि पछिल्लो समय महिलाको चासो यो क्षेत्रमा उत्साहजनक भएको बताए । अहिले महासङ्घको विधानले नै पाँचजना महिलालाई कार्यकारी समितिमा राखेको छ । अनिवार्य रूपमा चारजना महिला निर्वाचित हुने र एकजना महिलालाई अध्यक्षको सिफारिशमा राख्ने व्यवस्था महासङ्घले गरेको छ । २०७२ सालमा गएको भूकम्पपछि निर्माण क्षेत्रमा महिला निर्माण व्यवसायीको सहभागिता व्यापक हुँदै गएको छ । युवाहरू विदेशिएको अवस्थामा महिलामा निर्माणको जिम्मेवारी थपिएको छ । उनीहरू पनि घर/भवनको पुनर्निर्माणमा सक्रिय रूपमा लागेका छन् । महिलालाई यस क्षेत्रमा आउन प्रोत्साहन गर्न सरकार तथा सम्बन्धित निकायले नीतिगत रूपमा प्रोत्साहन, टेण्डरमा छूट, महिला–महिलाका कम्पनीबीच प्रतिस्पर्धा कायम गर्न आवश्यक छ । महिला निर्माण व्यवसायीलाई आयकरमा छूट, कम्पनी दर्ता, सहुलियत ऋणलगायतमा प्रोत्साहित गर्ने नीति सरकारले अख्तियार गर्नुपर्छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्