ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समस्याबीच बारा–पर्सा औद्योगिक कोरिडोरमा थप उद्योग

Mar 16, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । बारा–पर्सा कोरिडोरलाई औद्योगिक उत्पादन र अन्य व्यवसायका लागि उन्नत क्षेत्र मानिन्छ । भौगोलिक स्थिति र उपलब्ध पूर्वाधारले बारा र पर्सा औद्योगिक लगानीको केन्द्र बने पनि यहाँ समस्याको कमी छैन । लगानीकर्ता अनेक आवरणका समस्यासित जुध्नुपरेको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश–२ का उपाध्यक्ष अशोककुमार वैद वीरगञ्ज क्षेत्रको सम्भाव्यतालाई आर्थिक विकासमा रूपान्तरण गर्न यसका अवरोधहरूको निकासमा सरकार गम्भीर हुनुपर्ने बताउँछन् । भारतीय रेलमार्गसँग जोडिएको मुलुकको सबैभन्दा ठूलो नाका वीरगञ्ज, मुलुकको मध्यभागको अवस्थिति र भारतीय समुद्री बन्दरगाहसँग सबैभन्दा निकटको दूरीले यो क्षेत्रको आर्थिक सम्भाव्यतालाई बढाएको छ । तर, उद्योग व्यापारका समस्या जस्ताको तस्तै छन् । भौगोलिक अवस्थिति र भौतिक पूर्वाधारको अधिकतम उपयोगका लागि उद्योग व्यापार क्षेत्रका नीतिगत र पूर्वाधारजन्य समस्याको निकासलाई पूर्वसर्त बनाइनुपर्ने उपाध्यक्ष वैदको भनाइ छ । ‘सरकारी उदासीनताले सम्भाव्यताको खोजी हुन सकेको छैन । सरकारी निकाय निकासका उपायमा गम्भीर देखिएनन्,’ उपाध्यक्ष वैदको आरोप छ । पछिल्ला वर्षहरूमा निर्माण सामग्रीको उत्पादनमा नयाँ लगानी थपिने क्रम ह्वात्तै बढेको छ । फलाम र सिमेण्ट उद्योग बढी रहेको कोरिडोरमा लगानी विस्तार भएसँगै उद्योगीले समस्याको पनि सामना गरिरहेका छन् । बारा र पर्साका १३ ओटा सिमेण्ट उद्योगले कच्चा पदार्थको आयातमा हैरानी बेहोरिरहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवम् श्री सिमेण्ट्स इण्डष्ट्रिजका प्रबन्ध निर्देशक अनिलकुमार अग्रवाल बताउँछन् । भारतीय रेलवेले यसअघि क्लिङ्कर अनलोड हुँदै आएको भारतको रक्सौलका लागि लोडिङ रोकेपछि यस्ता उद्योगलाई कच्चा पदार्थको आपूर्ति नै सकसपूर्ण बनेको अग्रवालको भनाइ छ । सरकार लगानी संरक्षणमा संवेदनशील हुन नसकेको उनको भनाइ छ । ‘अर्बौं रुपैयाँको लगानीमा खुलेका यो क्षेत्रका १३ ओटा सिमेण्ट उद्योगले कच्चा पदार्थको आपूर्तिमा अत्यन्तै असहजता झेलिरहेका छन् । तर, सरकार निकासको कुनै विकल्पमा गम्भीर देखिएको छैन,’ अग्रवालले आर्थिक अभियानसित गुनासो गरे । गत डिसेम्बर २२ देखि भारतीय रेलवेले मुख्य नाका वीरगञ्ज–रक्सौलको रेलवे यार्डमा क्लिङ्कर लोडअनलोड बन्द गरेपछि आयातकर्ता अहिले १ सय २५ किलोमिटर टाढा रहेको भारतकै नारायणपुरबाट ढुवानी गर्न बाध्य भएका छन् । यसबाट उत्पादन लागत बढी परेको उद्यमीको गुनासो छ । स्टार सिमेण्ट उद्योगका सञ्चालक विकास क्याल ढुवानीमा बढेको लागतले मात्र सिमेण्ट उत्पादनमा प्रतिबोरा ७५ रुपैयाँ बढी खर्च परेको बताउँछन् । यही अवस्था रहेमा यो क्षेत्रमा उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने क्यालको दाबी छ । इण्टरनेशनल सिमेण्टले हालै आफ्नो उत्पादन क्षमता बढाएर दोब्बर पुर्‍याएको उद्योगका सञ्चालक सन्दीप अग्रवालले बताए । उद्योगले आफ्नो उत्पादन क्षमतालाई दैनिक ५ सयबाट १ हजार मेट्रिकटन पुर्‍याएको छ । तर, कच्चा पदार्थको आयातमा देखिएको समस्याले उनलाई पनि अन्य उद्योगीलाई जस्तै चिन्ता थपेको छ । बारा–पर्साका सिमेण्ट उद्योगको कच्चा पदार्थको आपूर्ति आयातको भरमा चलेको छ । नेपालमा अहिले पनि ७० प्रतिशत क्लिङ्करको आपूर्ति आयातबाटै हुने उद्योगी बताउँछन् । ‘आयातित कच्चा पदार्थमा आधारित उद्योगको समस्याको निकासमा सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ । अन्यथा उद्योग धराशयी हुन समय लाग्दैन,’ सञ्चालक अग्रवालले भने । वीरगञ्ज नाकामा अहिले देखिएको कच्चा पदार्थको आपूर्तिको समस्याको निकासमा निजीक्षेत्रले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारी निकाय आवश्यकता जति गम्भीर नदेखिएको नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरको आरोप छ । वाणिज्य मन्त्रालयका अधिकारीले दीर्घकालीन समाधानका लागि स्वदेशमै कच्चा पदार्थ लोडअनलोडको व्यवस्था मिलाउन लागिएको र यसका लागि वीरगञ्ज आसपासका २/३ स्थानमा सम्भाव्यता अध्ययनसमेत भइरहेको बताउने गरेका छन् । यो कोरिडोरमा फलामे डण्डी, पाइप, जस्तापाता र निर्माणसम्बन्धी अन्य उद्योग पनि बाक्लै खुलेका छन् । क्याल समूहले हालै सवा अर्ब रुपैयाँको लगानीमा जस्तापाताको उद्योग सञ्चालनमा ल्याएको छ । वीरगञ्ज क्षेत्रको भौगोलिक अवस्थिति, कच्चा पदार्थको आपूर्ति र ढुवानीमा सहजताका कारण यो क्षेत्रमा निर्माण सामग्री उत्पादनको सम्भावना अत्यधिक रहेको उद्योगी प्रदीपकुमार केडिया बताउँछन् । वीरगञ्जदेखि पर्साको पोखिरियामा खाद्यान्न उद्योग केन्द्रको रूपमा स्थापित भइरहेको छ । यो कोरिडोरमा अधिकांश चामल उद्योग सञ्चालनमा रहे पनि आयातित चामल र कच्चा पदार्थको अभावको समस्या झेलिरहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्