arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्नेकको सम्मेलन नेपालमा

Apr 12, 2018  
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । प्रारम्भिक बालविकास (ईसीडी)सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सञ्जाल (अर्नेक)को सम्मेलन नेपालमा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आगामी जेठ २२ गतेदेखि ३ दिनसम्म सो कार्यक्रम चल्नेछ । सोही क्रममा प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक पनि सम्पन्न हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । सम्मेलनमा मुख्यतः अन्तरराष्ट्रिय स्तरमा भएका ईसीडीका नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान गर्ने, सरोकारवालाहरूबीच ईसीडीसम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने उद्देश्य छन् । त्यसैगरी, प्रारम्भिक बालशिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिहरूबारे छलफल गर्ने, ईसीडीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र ईसीडीको क्षेत्रमा भएका प्रगति तथा अभ्यासलाई प्रस्तुत गर्ने योजना छ । सम्मेलनको मुख्य विषयवस्तु ‘ईसीडीका माध्यमबाट दिगो विकास लक्ष्य प्राप्त गर्ने दिशामा : ईसीडीका लागि सफल बहु–क्षेत्रीय विधि के हो ?’ रहेको छ । त्यस्तै, स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचाह प्रदान, प्रारम्भिक सिकाइ, सुरक्षाहरू सम्मेलनका उप विषयवस्तु छन् । सम्मेलनमा करीब ४० देशबाट शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, सचिव, कूटनीतिक, गैरसरकारी संस्था एवम् राष्ट्रसङ्घीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अपेक्षा छ । यसभन्दा अघिको उक्त सम्मेलन सन् २०१७ मा कम्बोडियामा आयोजना भएको थियो ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्