arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उत्कृष्ट कलेजको अवार्ड कुसोमलाई

Jun 22, 2018  
समाचार मुख्य खबर
Image Not Found
author avatar अभियान संवाददाता

असार ८, काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट (कुसोम)ले ‘बिजनेश स्कुल रेटिङ-र्‍याङ्किङ अवार्ड–२०१८’को उत्कृष्ट कलेजको अवार्ड हात पारेको छ । कुसोम, देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेजलाई पछि पार्दै उत्कृष्ट हुन सफल भएको हो ।

देशभरीका कलेज समेटी ‘न्यू बिजनेश एज प्रालि’ले आयोजना गर्ने यो सम्मान शैक्षिक क्षेत्रको एक मात्र देशव्यापी सम्मान हो । प्रालिले सन् २०१३ देखि शुरू गरेको यो कार्यक्रमको यो वर्षको चौंथो संस्करण शुक्रवार सम्पन्न भएको छ । सन् २०१३ र २०१४ मा नियमित रूपमा सम्पन्न भएको उक्त कार्यक्रम भूकम्प तथा अन्य विविध कारणले बीचमा दुई वर्ष सम्पन्न हुन सकेको थिएन । त्यसपछि गत वर्षबाट पुनः निरन्तरता पाएको कार्यक्रम अघिल्ला वर्षहरूबाट प्राप्त सिकाइलाई कार्यान्वयन गर्दै सम्पन्न गरिएको आयोजक संस्थाका अध्यक्ष मदन लम्सालले बताए ।

विभिन्न ७ विधामा प्रदान गरिएको उत्कृष्ट बिजनेश स्कूल अवार्डबाट देशभरीका १२ ओटा कलेज सम्मानित भएका छन् । जसमा एमबीए, बीबीए, बीबीएस, एमबीएस, बीएचएम, पब्लिक कलेज र प्रदेशका उत्कृष्ट कलेज क्याटेगोरी रहेका छन् ।

देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेजमध्येबाट शुरू गरेको छनोट प्रकृया विभिन्न चरण पार गर्दै अघि बढेको थियो । तथ्याङ्क सङ्कलन, सम्बन्धित कलेजमार्फत् तथ्याङ्क आह्वानका साथै विज्ञ सम्मिलित छनोट समितिको विज्ञतासमेत समेटी उत्कृष्ट बिजनेश कलेजहरूको छनोट गरिएको संस्थाका अध्यक्ष लम्सालले जानकारी दिए ।

कुसोम, एमबीए क्याटेगोरीको पनि उत्कृष्ट कलेज हुन सफल भएको छ । त्यसैगरी केसीएम बीबीए, डीएभी बीबीएस, वीरगञ्ज पब्लिक एमबीएस, नाथम बीएचएम क्याटेगोरीमा उत्कृष्ट कलेजको उपाधि प्राप्त गर्न सफल भएका छन् । विषयगतअन्तर्गत लगभग सम्पूर्ण विषयमा उत्कृष्ट कलेजहरू छानिएको प्रदेश ३ बाट प्रदेशअन्तर्गतको अलग्गै क्याटेगोरीमा छनोट नगरिएको आयोजकको भनाइ छ ।

बाँकी रहेका प्रदेशमध्ये प्रदेश १ बाट पूर्वाञ्चल युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट, प्रदेश २ बाट वीरगञ्ज पब्लिक कलेज, प्रदेश ४ बाट ला ग्य्राण्डी इण्टरनेशनल, प्रदेश ५ बाट राप्ती बबई क्याम्पस, कर्णाली प्रदेशबाट साहारा क्याम्पस र प्रदेश ७ बाट कैलाली बहुमुखी क्याम्पस उत्कृष्ट घोषित भएका छन् । त्यसैगरी पब्लिक कलेजको क्याटेगोरीको सम्मान पनि कैलाली बहुमुखी क्याम्पसले नै हात पारेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्