arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एशिया कप छनोट : नेपाल युएईसँग पराजित, फाइनल खेल्ने सम्भावना न्यून

Aug 30, 2018  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १४, काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीवार भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ७८ रनले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको थियो ।

युएईविरुद्धको खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । खकुरेलले ९७ बल खेल्दै एक छक्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे । सोमपाल कामीले २७, कप्तान पारस खड्काले १६ तथा वसन्त रेग्मीले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४, रोहितकुमार पौडेल ९ तथा सागर पुन ३ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । युएईका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए ।

एशिया कपमा छनोट हुने सम्भावना न्यून लगातार दोस्रो हार बेहोरेको नेपालको एशिया कपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा बुधवार ओमनसँग ७ विकेटले पराजित भएको नेपाल बिहीवारको खेल गुमाएपछि अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको छ ।एशिया कप छनोटको फाइनलसम्म पुग्न पनि नेपालका लागि कठिन देखिएको छ । लगातार दुई खेल जितेको युएई र ओमन अङ्कतालिकाको शीर्ष दुई स्थानमा छन् । दुबै टोलीको ४/४ अङ्क छ । एक/एक खेल जितेका हङकङ र मलेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने दुबै खेल गुमाएको नेपाल पाँचौ र सिङ्गापुर छैठौँ स्थानमा छ ।

एशिया कप छनोट जित्दै भारत र पाकिस्तानसँग एशिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपालले आफ्नो लक्ष्य पूरा गर्न अब बाँकी ३ ओटै खेल जित्नु त पर्छ नै, त्यससँगै शीर्ष दुईमा रहेका टोलीले बाँकी सबै खेल गुमाउनुपर्नेछ । तर यी दुई बीचकै एक खेल बाँकी रहेको अवस्थामा कुनै एकले एशिया कप छनोटको फाइनल खेल्ने पक्का छ ।

यस्तोमा नेपाल फाइनल पुग्ने सम्भावना अत्यन्त न्यून देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्