arthik abhiyan
ad banner

विद्यार्थीका लागि नैतिक र राजनीतिक शिक्षा

Sep 14, 2018 
पाठक विचार
Image Not Found
author avatar आर्थिक अभियान
हामीले मुलुकमा जतिसुकै स्कूल र कलेजहरूको स्थापना गरेको भए पनि पढाइमा भने स्तरीयता ल्याउन सकिएको छैन । त्यसमाथि पनि जबसम्म हाम्रो देशमा औसतमा शिक्षित वर्ग धेरै हुँदैन तबसम्म मुलुकको विकास हुन गाह्रो छ । बोली र अखबारहरूमा भएको विकासका गफलाई मानिसहरू मान्न तयार छैनन् । आज देशमा लोकतन्त्र आएको ३ दशक भइसक्यो तापनि देश भाँडभैलोका रूपले रहेको छ । हामीले जतिसुकै लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, सङ्घीयता भनेर नारा लगाए पनि विकासमा पछाडि नै छौं । मानिसहरूले आफ्नो खराब सोच संस्कारलाई परिवर्तन गरी अघि बढ्नुपर्छ । खै त यहाँ जनतालाई करले कस्ने, सत्ता, भत्ता, जत्थालाई अँगाल्ने बाहेक के भएको छ ? गुटबन्दी, आफ्नो मान्छे र अल्छीपना आदि कुरा एकनासले दोहोरिराखेका छन् । यसैका परिणाम हामी सर्वसाधारणले भोगिरहनु परेको छ । उदाहरणका लागि बेरोजगार, भ्रष्टाचारले मुलुकको हालत लथालिङ र भताभुङ्ग हो । यस्तो बेलामा पनि मुलुक हाँक्नेहरू कुर्सीमोहबाहेक अरू देखाउँदैनन् । राष्ट्र बनाउने जिम्मा लिएकाहरू गफ र कलहमा अल्झिराखेका छन् । जतिसुकै राजनीतिक परिवर्तन भए पनि यो मुलुकका समस्या ज्यूका त्यूँ छन् । पञ्चायतकालदेखि अहिलेसम्म जनताका समस्या उस्तै छन् । न त यसलाई समाज र सरकारले बदल्न सकेको छ न नेताहरूले नै । नेताहरू गम्भीर भएर नेपालीका समस्यातर्फ कहिल्यै लागेको पाइन्न । देशको अझै पनि झन्झटिलो प्रशासन छ । भत्किएका कुरूप बाटाहरूले यात्रुलाई निकै सास्ती दिइरहेको छ । व्यक्तिहरूको अल्लारे सोच र सरकारहरूको एकोहोरोपनले गर्दा समाज स्वच्छ रूपमा अगाडि बढ्न सकेको छैन । समाजको सोच र व्यवहार बदल्ने काममा कसैले पनि काम गरेका छैनन् । स्वार्थका जालाहरू बुनेर जनतालाई झुलाउने र सताउने काम मात्रै भएको छ भन्दा हुन्छ । यो निकै दुःख लाग्दो कुरा हो । यस्तो बेलामा बुढापाका नेताहरूले विस्तारै युवा पुस्तालाई नेतृत्व सुम्पने हो भने पक्कै पनि केही सुधार आउन सक्थ्यो भन्ने आशा गर्न सकिन्छ । तर, बुढापाका नेताबाट राम्रो केही हुने देखिन्न । कारण अहिलेको घडीमा नयाँ पुस्ताले देशका लागि जुन कार्य गर्न सक्छन् त्यो पुरानो पुस्ताका राज्य चलाउनेहरूलाई गाह्रो हुन आउँछ । यही गर्न नसकेर हाम्रो देशमा विकास हुन नसकेको हो । अन्यथा, हाम्रो मुलुक अरू देशको दाँजोमा अघि बढिसक्थ्यो । तर, यो मुलुकमा गफ सिवाय अरू केही हुँदैन । हुन त यो मुलुकमा पुराना बुढाखाडा नेताहरूका पनि केही योगदान नभएको त होइन । यिनीहरूले विगतमा धेरै दुःख खाए, जेल गए, मार खाए । यी सब कुरा सही हुन् । तर, यिनीहरूले दुःखमा विताएका दिनका बदलामा चाहेको कुराहरू पाइसके । अब उनीहरूले नयाँ नेतृत्वलाई देश सुम्पनुपर्छ । उनीहरू अभिभावक बनेर युवापुस्तालाई काम गर्न दिनुपर्छ । मुलुकमा लोकतन्त्र आयो, मान्छेले लेख्न पाए, बोल्न पाए । मौलिक अधिकार र हकहरू पाए । साथै, मानिसहरूका जीवन स्तर पनि पहिलाभन्दा केही फेरियो । तर, अब यसको मतलब यो होइन, जिन्दगी भर पुरानै नेताहरूले शासन गरिरहने । अब यिनीहरू ‘वाचडग’का रूपमा बस्नुपर्छ । अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूले युवा पुस्तालाई शासन हस्तान्तरण गर्नुपर्छ । र युवा पुस्तालाई मार्गनिर्देशन गर्नुपर्छ । यस्तो भएको खण्डमा मात्र मुलुकको द्रुत विकास सम्भव छ । अन्यथा यो मुलुकको हालत सधैं उस्तै रहनेछ । यी सब कुरा तब सम्भव हुन्छ जब यो देशमा राम्रा राम्रा बुद्धिजीवीहरू अग्रसर हुन्छन् । तर, यो मुलुकमा बुद्धिजीवी र राम्रा पढे लेखेका जमातले पनि काम गर्ने अवसर पाएको छैन । उनीहरू पनि राजनीतिक स्वार्थको शिकार भएका छन् । सरकारले स्वार्थ, लालच, गुटबन्दी त्यागेर स्कूल कलेजमा विद्यार्थीका लागि अनिवार्य नैतिक तथा राजनीतिक कुरा सिकाउने गरी यस्ता विषयलाई अनिवार्य गर्छ भने नयाँ पुस्ता निकै राम्रो हुन्छ । हाम्रो जस्तो मुलुकको विकास चाहने हो भने सरकारमा बस्नेले निजी स्वार्थ छाड्नुपर्छ । त्यस्तै जनताले अल्लारे भावना त्याग्नुपर्छ । नैतिक तथा राजनीतिक शिक्षालाई अगाँल्नैपर्छ । यसपछि मात्रै हाम्रो देशको भविष्य सुन्दर हुनेछ । विद्यार्थीलाई यस्तो शिक्षा नदिएसम्म देशको विकास निकै गाह्रो हुनेछ । आशा गरौं, सरकारले उचित शिक्षा प्रदान गरी देशको विकासका लागि बाटो तय गर्नेछ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया दिनुहोस्