arthik abhiyan
ad banner

फजुल खर्च नगरौं सरकार !

Sep 14, 2018
पाठक विचार
Image Not Found
author avatar आर्थिक अभियान
निकै तामझामसहित यही २०७५ भदौ ५ गते प्रधानमन्त्रीले उद्घाटन गरेको ‘घरघरमा ग्यास’ वितरण गर्ने परियोजना करीब १५ दिनमै बिग्रेको खबरले दुःखित बनायो । विराटनगर महानगरपालिका–१४ स्थित स्थानीय श्रीकृष्ण गौसेवा सदनले गाईको गोबर सङ्कलन गरी बायोग्यास उत्पादन गर्ने परियोजनामा विश्व बैङ्क, गौसेवा सदन, स्थानीय तह र नेपाल सरकार सहितको झण्डै ७५ लाखको लगानीमा उक्त परियोजना निर्माण भएको थियो । तर, निर्माण लागतभन्दा धेरै बढी रकम उद्घाटन कार्यक्रममा मात्र खर्च भएको अनुमान सहजै गर्न सकिन्छ । तर, कहीँ कतैबाट उक्त उद्घाटन कार्यक्रममा भएको खर्च सार्वजनिक गरेका छैनन् । स्थानीय स्तरको निकै सानो परियोजना स्थानीय स्तरबाटै उद्घाटन, सञ्चालन हुन सक्नेमा उद्घाटनका लागि प्रधानमन्त्रीसहित झण्डै आधा दर्जन केन्द्रीय मन्त्री, पूरै एक नं. प्रदेश मन्त्रिपरिषद्, कयौं केन्द्रीय र प्रदेश सांसद, सयौं स्थानीय तहका पदाधिकारी एवम् कर्मचारी, विभिन्न मन्त्रालय तथा अन्य कार्यालयहरूका सयौं कर्मचारीहरू, प्राविधिकहरू उद्घाटनमा सहभागी भएका थिए । सेना, प्रहरी, गुप्तचर सयौं थिए । हजारौ कार्यकर्ता, आसेपासेको हवाई तथा स्थल यातायातको भाडा, इन्धन, बसाइ खर्च, खान खर्च, भोजभतेरजस्ता वैधानिक खर्च तथा अन्य अदृश्य खर्चसमेत जोड्ने हो भने जसले पनि सहजै अनुमान गर्न सक्छ परियोजनाको कुल लागतभन्दा कयौं बढी रकम उद्घाटनमा मात्र खर्च भयको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को लोकप्रिय नारा ‘उत्पादन र प्रसारण’ गर्ने सरकार र सरकारका मियो अर्थात् प्रधानमन्त्रीका यस्ता क्रियाकलाप र फजुल खर्च गर्ने प्रवृत्तिले न त देश समृद्ध बन्छ न त आम नेपाली सुखी नै हुन्छन् । यस्ता अनावश्यक खर्च र ‘ओली भोज’ जस्ता फजुल खर्च नियन्त्रण गर्दै आम जनताले भोगिरहेका साझा समस्या समाधान गर्नेतर्फ सरकार अग्रसर हुनु नितान्त जरुरी छ । ‘मरे पछि डुमै राजा’ भन्ने उखानलाई चरितार्थ नगरी थोरै मात्र भए पनि जन पक्षीय कार्यहरु गरी अमर हुनेतर्फ सोची त्यसै अनुसार नेताहरूले काम गर्नुपर्ने हो । यसो गरेको भए उनीहरूको जनसम्मान बढ्ने थियो । विभव खतिवडा गौरीगञ्ज गाउँपालिका, ३, झापा bibhav.khatiwada@gmail.com
प्रतिक्रिया दिनुहोस्