ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बन्दरगाहमा फलाम थुप्रियो, उद्योगमा कच्चा पदार्थको अभाव

Dec 5, 2018  
समाचार मुख्य खबर
Image Not Found
author avatar ओमप्रकाश खनाल

मङ्सिर १९, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ढुवानीका साधनको भारवहन क्षमतामा कडाइ गरिएपछि सुक्खा बन्दरगाहमा कच्चा पदार्थ थुप्रिन थालेको छ । क्षेत्रीय टाफिक प्रहरी कार्यालय पथलैयाले केही महीनायता मापदण्डभन्दा बढी तौल बोक्न रोक लगाएपछि वीरगञ्ज सुक्खा बन्दरगाहमा औद्योगिक कच्चा पदार्थ थन्किएको हो ।

विगतमा वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा लहरीले ६० मेट्रिकटनसम्म फलाम लोड गर्नेमा अहिले २७ मेट्रिकटनभन्दा बढी बोक्न पाएका छैनन् । ढुवानी क्षमताभन्दा बढी भार बोक्ने साधनलाई कडाइ गरिएपछि बन्दरगाहमा फलाम थुप्रिन थालेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृत अनिमेश कुमारले बताए ।

ढुवानी हुन नसकेर रोकिएको आयातित बिलेट र क्वायलको परिमाण करीब दोब्बर पुगिसकेको टर्मिनलले बताएको छ । ‘सामान्य अवस्थामा ३० हजार मेट्रिकटनभन्दा बढी नहुनेमा अहिले ५५ हजार मेट्रिकटन पुगिसकेको छ,’ अधिकृत अनिमेश कुमारले आर्थिक अभियानसित भने । बन्दरगाहमा फलामको थुप्रिनेक्रम बढेपछि सञ्चालनमै समस्या आउन थालेको सरोकारका पक्षले बताएका छन् । उद्योगले विगतको तुलनामा आधा परिमाणमात्र ढुवानी गरेका छन् ।

बन्दरगाहमा बिलेट र क्वायल रोकिएपछि उद्योगले कच्चा पदार्थको अभाव खेपिरहेका छन् । ‘बन्दरगाहमा कच्चा पादर्थ अड्किएको छ । यता उद्योगले अभावको सामना गरिरहनु परेको छ,’ एक उद्योगीले आर्थिक अभियानसित गुनासो गरे । कच्चा पादर्थको ढुवानी प्रभावित भएपछि अहिले कोरिडोरका फलाम उद्योगले क्षमताको आधामात्र उत्पादन गरिरहेको उद्योगी बताउँछन् । वीरगञ्ज नाकाबाट १४ ओटा फलाम उद्योगले कच्चा पदार्थ आयात गर्छन् ।

बन्दरगाहमा फलामको चाप बढेपछि व्यवस्थापन कठिन बनेको बताइएको छ । साँघुरो ठाउँका कारण समस्या भएको अनिमेशले बताए । अव्यवस्थित अनलोडका कारण पहिला आएको कच्चा पदार्थ उठाउनै नसकिएको एक आयातकर्ताले बताए ।

भारवाहन क्षमतामा गृह मन्त्रालयको द्वैध निर्णयले असहजता थपिएको आयातकर्ताको गुनासो छ । मन्त्रालयले ढुवानी सहजीकरणका लागि कोरिडोरपिच्छे फरक निर्देशन दिएको छ । सबैभन्दा ठूलो वीरगञ्ज–पथलैया कोरिडोरमा ४ महीनादेखि ढुवानी असहज छ ।

गृह मन्त्रालयले २०७४ कात्तिक २४ गते रुपन्देही, कपिलवस्तुलगायत अन्य नाकाबाट १५ किलोमीटरसम्मका कोरिडोरसम्म आयातित औद्योगिक कच्चा पदार्थको ढुवानीमा भारवाहन क्षमता कार्यान्वयनमा कडाइ नगर्ने निर्णय गरेको थियो । वीरगञ्जमा भने टुक्र्याउन नमिल्ने कच्चा पदार्थको ढुवानीलाई मात्र सहजीकरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको दाहोरो मापदण्डका कारण यो क्षेत्रमा उद्योगले समस्या झेलिरहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आरोप लगाए । ‘यही असोज २१ गते वीरगञ्ज–पथलैया कोरिडोरमा औद्योगिक प्रयोजनका लागि हुने ढुवानीमा अलग निर्णय गरेपछि यहाँका उद्योगलाई समस्या परेको हो,’ अध्यक्ष शर्माले आर्थिक अभियानसित भने ।

अघिल्लो निर्णयमा कोरिडोरसम्म फलामे रड, बिलेट, जिप्सम, वायर, कोइलाजस्ता कच्चा पदार्थ लैजान दिने उल्लेख गरिएको छ । टुक्र्याउन नमिल्ने औद्योगिक कच्चा पदार्थलाई मात्र सहजीकरण गर्ने निर्देशन दिएपछि औसत ढुवानी प्रभावित भएको हो ।

मन्त्रालयले यही मङ्सिर ३ गतेको पत्रमार्फत निर्णय कार्यान्वयनका बारेमा प्रष्ट्याइएको बताएको छ । तर, बारा र पर्सा प्रशासनलाई लेखिएको पत्रमा पुरानै निर्णयलाई बल पुग्ने गरी टुक्र्याउन नमिल्ने औद्योगिक कच्चा पदार्थलाई कोरिडोरसम्मको पहुँच सुनिश्चित गर्न भनिएको छ ।

सीमावर्ती भारतीय रक्सौल स्टेसनबाट हुने ढुवानीसमेत प्रभावित भएको छ । वीरगञ्ज भन्सार हुँदै भित्रिने फलाम, कोइला, क्लिङ्करलगायको ढुवानीमा समस्या आएको व्यवसायीले बताए । वीरगञ्ज नाकाबाट ढुवानी असहज भएपछि भारतीय ट्रक र ट्रेलरले ढुवानी गर्न नमानेको उद्योगी बताउँछन् । एकीकृत जाँच चौकी र रक्सौलबाट हुने ढुवानी भारतीय साधनले गर्छन् ।

भारतबाट बढी तौल बोकेर आएका साधन रोकिन थालेपछि आउन नमानेको आयातकर्ताले बताए । भन्सार विन्दुमै भार मिलान हुनुपर्नेमा नाकामा यस्तो व्यवस्था छैन । नाकाबाट भित्रिएका ढुवानीका साधनलाई ट्राफिकले रोक्ने गरेको छ ।

वीरगञ्ज बन्दरगाह र रेलवेको रक्सौल यार्डमा कच्चा पदार्थ अड्किएपछि जरीवानाको भार पनि बढ्न थालेको जगदम्बा स्टीलका सञ्चालक रमेश अग्रवालले बताए । बढी भार बोकेका साधनलाई ट्राफिक प्रहरीले राजमार्गमा रोकेर राख्ने गरेको छ ।

रोकिएका भारतीय ढुवानीका साधनले आयातकर्तासित दिनको २ हजारदेखि ३ हजार रुपैयाँसम्म जरीवाना लिने सञ्चालक अग्रवालले बताए । भारतीय रेलवेले मालसामनको चाप बढेपछि जरीवानाको दर ६ गुणासम्म बढाउने गरेको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रमुख ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्य ढुवानीका साधनले क्षमताभन्दा बढी भार बोक्न नमिल्ने बताउँछिन् । ‘टुक्र्याउन नमिल्ने कच्चा पदार्थको ढुवानीलाई मात्र कोरिडोरसम्मको पहुँच निश्चित गर्ने भनिएको छ । मैले त गृह मन्त्रालयको निर्देशनअनुसार काम गर्ने हो,’ बज्राचार्यले भनिन् । विगतमा एउटै लहरीले १ सय मेट्रिकटनसम्म बोकेको भेटिएको पनि उनले बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्