ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्वतीय पर्यटनमा सम्भावना

Dec 11, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar हिमा वि.क.

नेपालको पर्यटन क्षेत्र पर्वतसँग अन्तरसम्बन्धित छ । देशको पर्यटन व्यवसाय पर्वतले नै थामेको छ । पर्यटकहरू यहाँका शहर हेर्न होइन, पहाडी क्षेत्रमा ट्रेकिङ, हिमाल आरोहण र स्थानीय जनजीवन तथा संस्कृति अवलोकनका लागि आउँछन् । यसले गर्दा पर्वतीय पर्यटन नेपालको पहिचान नै बनेको छ ।

नेपालको पर्यटन क्षेत्रमा सांस्कृतिक सम्पदा र पर्वतको महत्वपूर्ण भूमिका छ । त्यसमा पनि पर्वत मुख्य हो । नेपाल आउने अधिकांश पर्यटक ट्रेकिङ वा हिमाल आरोहणमा जान्छन् । शहर घुम्ने पर्यटक भने काठमाडौं उपत्यकाका पुरातात्विक तथा सांस्कृतिक सम्पदा अवलोकनमा आकर्षित हुने गरेका छन् ।

हिमाल, पहाड, तालतलैया, नदीनालासँग सम्बन्धित पर्यटनले व्यवसाय बढाएको मात्र छैन, हजारौंलाई रोजगारी पनि दिएको छ । यस्तै, यो क्षेत्रमार्फत देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेर भ्रमण वर्षको तयारीमा जुटेको सरकारका लागि २०१८ पर्यटक आगमनको दृष्टिले सुखद बनेको देखिन्छ । नेपालको सिंगो पर्यटन क्षेत्रमा पर्वतीय पर्यटनको हिस्सा ठूलो छ । पर्वतीय पर्यटन व्यवसाय फस्टाएसँगै यससँग सम्बन्धित संघ/संस्थाको संख्या पनि बढ्दै गएको छ । पर्वतीय पर्यटन गतिविधिमा हाइकिङ, ट्रेकिङ, हिमाल आरोहण, प्याराग्लाइडिङ, र्‍याफ्टिङ लगायत पर्छन् ।

नेपालमा साना–ठूला गरी ३ हजारभन्दा बढी हिमाल तथा पर्वत छन् । यीमध्ये अधिकांशमा पर्यटन गतिविधि हुने गरेका छन् । यसबाट राज्यलाई वार्षिक करोडौं राजस्व संकलन गर्छ भने स्थानीय बासिन्दाले समेत रोजगारी, आयआर्जन र व्यवसायको अवसर पाएका छन् ।

पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको भनिए पनि यससँग सम्बन्धित पूर्वाधार विकास, पर्वतारोहीको सुरक्षा, सेवालगायत पक्षमा ठोस काम हुन सकेको छैन । नेपालको पर्वतारोहण क्षेत्रमा सुरक्षा व्यवस्थित र विश्वसनीय हुन सकेको छैन । लामो ट्रेकिङ वा पर्वतारोहण रूटमा अझै पनि उपचार कक्षको व्यवस्था छैन । पर्यटकलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या परेमा तत्काल उपचार सेवा पुर्‍याउन कठिनाइ हुने गरेको छ ।

प्रविधिको प्रयोग नहुँदा एटीएमको व्यवस्था छैन । यसले गर्दा पर्वतारोही तथा ट्रेकिङमा जानेले भौतिक रकम बोकेरै जानुपर्ने बाध्यता छ । पर्वतीय पर्यटन सम्बन्धी पर्याप्त जानकारी दिने एप्स सरकार तथा सम्बन्धित संस्थाले प्रयोगमा ल्याउन सकेका छैनन् । हिमाल चढ्दा होस् वा पहाड, त्यसमा सुरक्षाको प्रत्याभूति नहुँदा पर्वतारोही लुटिएका घटना पनि बाहिर आएका छन् । पर्वतारोहीले ज्यान जोखीममा राखेर आरोहण गर्नुपर्ने बाध्यता छ ।

सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित क्षेत्रले पवतारोहणमैत्री पूर्वाधार विकास, प्रविधिको प्रयोग, स्वास्थ्य सेवा, होटल/लजको व्यवस्था तथा तिनको गुणस्तरमा ध्यान दिन जरुरी छ । पहाडी र हिमाली क्षेत्रमा पूर्वाधारको समस्या दीर्घकालीन समाधानका लागि योजना बनाएर काम गर्नुपर्छ । यस्तै, हवाई सेवा सुरक्षित र चुस्त बनाउनुपर्छ ।

पर्वतारोहीको संख्या वृद्धिले पर्वतीय पर्यटनमा टेवा पुर्‍याए पनि यसको फोहोर व्यवस्थापन भने यसको चुनौतीको रूपमा छ । बढ्दो फोहोरले पर्वतको सौन्दर्यमा ह्रास आउनुका साथै यहाँको वातावरणमा समेत असर पारेको छ । यस्तै, जलवायु परिवर्तनका कारण अहिले हिमपहिरो आउने, नयाँ प्रकृतिका प्राकृतिक समस्या देखिने गरेका छन् । जलवायु परिवर्तनको असर र प्रदूषण बढ्दै गए पर्वतीय पर्यटन संकटमा पर्छ । जलवायु परिवर्तनलाई नेपालले मात्रै समाधान गर्न नसक्ला, तर फोहोरको व्यवस्थापन भने गर्न सकिन्छ । यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायी, ट्रेकिङ गाइड, पर्वतारोही, सरकार र निजीक्षेत्रको सक्रिय भूमिका हुनुपर्छ ।

पर्यटनसँग जोडिएको एक महत्वपूर्ण क्षेत्र पर्वतीय पर्यटन भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । ‘यसको महत्व नेपालमा अत्यधिक छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय स्तरमा पनि यसलाई उत्तिकै महत्व दिइएको छ ।’ प्रविधिको उच्चतम प्रयोग, पूर्वाधारको सहज पहुँच, सचेतना जस्ता पक्षमा काम भए पर्वतीय पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उनको बुझाइ छ ।

[caption id="attachment_299730" align="alignleft" width="200"] डण्डुराज घिमिरे,
महानिर्देशक, पर्यटन विभाग[/caption]

पर्यटन व्यवसाय व्यवस्थित हुनुपर्छ पर्वतीय पर्यटनका लागि नेपाल ठूलो सम्भावनाको क्षेत्र हो । हाम्रा स्थानीय उत्पादन, पूर्वाधार, होटल/लजको व्यवस्था र पर्यटकलाई दिइने सेवासुविधाले पर्वतीय पर्यटनको विकास तथा प्रवद्र्धन निर्धारण गर्छ । देशको महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेका पर्वतको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । पर्यटन व्यवसायका नाममा जे पायो त्यही तरीकाबाट यसको प्रयोग गरिनु हुँदैन । व्यवस्थित कार्ययोजना बनाएर मात्र पर्वतीय पर्यटन व्यवसाय अघि बढाउनुपर्छ । हाम्रा पर्वत आरोहण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि भइरहेको छ । तर, प्रभावकारी नियमन नहुँदा फोहोर थुप्रिँदै गएको छ । यो आम चिन्ताको विषय हो । त्यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने पर्वत र यसमा निर्भर जीवजन्तुको अस्तित्व संकटमा पर्छ । यसले अन्तरराष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जान्छ ।

पर्वतारोहणका क्रममा विदेशी पर्यटक अनुशासित देखिएका छन् । तर, आन्तरिक पर्यटक खासै जिम्मेवार बनेको पाइन्न । अर्काेतर्फ, पुराना रोप (आरोहणका क्रममा साहयता लिने डोरी)हरू हटाउन सकिएको छैन । नयाँ रोप फिक्सिङको व्यवस्थापन पनि भएको छैन । स्थानीय निकाय, केन्द्र र विशेषज्ञले आफै गर्ने भन्ने विवाद छ । यसले लाखौं पर्वतारोहीको ज्यानसँग सम्बन्ध राख्ने भएकाले छिट्टै व्यवस्थापन गर्नुपर्छ ।

सन्दर्भः विश्व पर्वत दिवस
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्