ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राधिकरण ‘एयर सेफ्टी प्लान २०१८–२०२०’ अनुरूप काम गर्दै छ

Dec 31, 2018  
प्रडक्ट.समाचार.
Image Not Found
author avatar आर्थिक अभियान
केही दिनअघि मात्र हामीले अन्तरराष्ट्रिय नागरिक संगठन (आईकाओ)को आह्वानमा अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनायौं । आईकाओमा विश्वभरका १ सय ९२ सदस्यले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाए । सोमवार हामी नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औं वार्षिकोत्सव मनाउँदै छौं । उड्डयन यस्तो क्षेत्र हो, जसको विश्वव्यापी सरोकार रहन्छ । त्यसैले आ–आफ्नो क्षेत्रमा उड्डयन सुरक्षा र तालीमका हिसाबले सक्षम बनाउनुपर्छ । अहिले विश्वमा दिनानुदिन एयर ट्राफिक बढे पनि त्यो अनुपातमा अन्य सुविधाको विकास भएको छैन । त्यसकारण हरेक देशले बढ्दो ट्राफिक अनुरूप आफ्नो भौतिक पूर्वाधार, क्षमता, तालीम सबै क्षेत्रमा विकास गर्न जरुरी छ । संसारका हरेक देशले नागरिक उड्डयन सुरक्षा चासो र व्यवस्थापनलाई महत्त्वपूर्ण लिने गर्छन् । उड्डयन क्षेत्रलाई सुरक्षित, विश्वसनीय तथा स्तरीय बनाउनु र जनचेतना अभिवृद्धि गर्नु पनि हाम्रो चासोको विषय हो । उड्डयन क्षेत्रमा भएका नयाँ प्रविधि र जनशक्तिको विकास सधैं यो क्षेत्रको सराकारको विषय हो । प्राधिकरण आफ्नो बजेट र उपलब्ध जनशक्ति मार्फत नेपालको उडान सुरक्षालाई प्रभावकारी बनाउन लागिपरेको छ । हरेक १५ देखि २० वर्षमा हवाई यात्रु दोब्बर उड्डयनका विभिन्न पक्षहरू, जस्तै– सुरक्षा र सेवाको दृष्टिकोणले कुनै पनि देश धरै माथि र कुनै धेरै तल नहोऊन् भन्ने उद्देश्य आईकाओले लिएको छ । हाम्रो सरोकार पनि यही हो । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको संख्या दोब्बर बढ्ने गरेको छ । यो सन्दर्भमा नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा आकर्षित गर्न र उड्डयन क्षेत्रबारे आम मानिसमा जनचेतना फैलाउन आवश्यक छ । अहिले एशिया प्यासिफिक क्षेत्रमा ३९ ओटा राष्ट्र छन् । तिनीहरूको सेफ्टी ओभरसाइट क्यापेबिलिटी ५ देखि ९५ प्रतिशतसम्म छ । यसमा कुनै पनि देशको सुरक्षा कमजोरीले अर्को देशको सुरक्षा अवस्थामा असर पार्न सक्छ । त्यसैले यसमा विश्वव्यापी चासो हुने गर्दछ । नेपालको सन्दर्भमा हामी आईकाओले तय गरेका सम्पूर्ण मापदण्डको पूर्ण परिपालनामा छौं । आईकाओको विश्वव्यापी एभरेज ६० हुन आवश्यक छ । तर नेपालको अवस्था ६७ प्रतिशत छ । यस हिसाबले हामीले विश्वव्यापी सुरक्षा तथा अन्य मूल्य मान्यतालाई अनुसरण गर्दै आएका छौं । तर यसो भन्दैमा सुरक्षाको विषयलाई सधै एउटै रूपमा हेर्न मिल्दैन । एक पटक सुधार भएको अवस्था भोलि पनि त्यही रहन्छ भन्ने छैन । यसलाई कायम राख्नु मुख्य चुनौती हो । बढ्दो एयर ट्राफिक व्यवस्थापनका लागि मुख्य रूपमा भौतिक पूर्वाधारको विकास र एयर स्पेस व्यवस्थापन नै मुख्य चुनौती हो । त्रिभुवन विमानस्थलको स्तरोन्नतिका साथै गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य अघि बढाइएको छ । यसले भौतिक पूर्वाधारमा केही सहयोग गर्छ । अन्य भएका विमानस्थलको पनि सुधार भइरहेको छ । एयर स्पेसमा पनि अहिले सहज भएको अवस्था हो । तर, जति एयर ट्रापिक बढ्दै जान्छ, यो त्यति नै चुनौतीपूर्ण बन्दै जान्छ । त्यसैले बढ्दो एयर ट्राफिकलाई दृष्टिगत गर्दै हाम्रो उडान सुरक्षा, विमानस्थल सुरक्षा, प्रभावकारिता र सहुलियत ढंगबाट सुविधा प्रदान गर्दै अगाडि बढ्नु हाम्रो जिम्मेवारी हो । एयर स्पेस व्यवस्थापन अहिले नेपालको ७५ प्रतिशत आकाश राडारको कभरेजमा छ । यसले गर्दा हाम्रो एयर स्पेसमा निगरानी सहज भएको छ । भट्टेडाँडामा नयाँ राडार जडान गरेपछि पूर्वमा मेचीदेखि पश्चिममा सुर्खेतसम्म नेपाली आकाश राडार कभरेजमा छ । यसले नेपाली आकाशका विमानको निगरानी गर्न धरै सहज भएको छ । अर्कोतर्फ हामीले सबै पद्धति प्रक्रियाहरू (प्रोसिडियर) स्याटेलाइट बेसमा गर्दै छौं । अबको २ वर्षभित्रै नेपालको सबै भूभाग राडारको कभरेजमा हुने गरी हामीले काम गरेका छौं । त्यो मात्र नभई हामीले साउथ एशियन रिजनमा एयर सेफ्टी प्लान २०१८–२०२० बनाएर सोही अनुरूप काम गरिरहेका छौं । हाम्रो अवस्था नराम्रो छैन । हामी आवश्यक पर्ने जनशक्तिको विकास तथा तालीममा जोड दिइरहेका छौं । अहिले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) फायर फाइटर, सुरक्षाको जनशक्तिलाई तालीम दिएका छौं । अर्कोतर्फ आईकाओको नेक्स्ट जेनरेशन एभिएशन प्रोफेशनल्स (एनग्याप) कार्यक्रम अन्तर्गत गतवर्ष मात्रै करीब ३ हजार विद्यार्थीलाई एभिएशनबारे जनचेतना दिने खालका कार्यक्रम सञ्चालन गरेका छौं । एभिएशन म्युजियम सञ्चालनमा ल्याएका छौं । यसमा गतवर्ष करीब १ लाख मानिसले यसको अवलोकन गरेका छन् । यसबाट आजका विद्यार्थीलाई भोलि यस पेशातर्फ आकर्षित गर्न सहयोग पुगेको छ । विश्वको औसत मापदण्डभन्दा नेपाल माथि सन् २०१३ मा नेपाल आईकाओको एसीसीमा पर्‍यो । त्यसले विश्वस्तरीय उड्डयन सुरक्षामा हाम्रा कमजोरी छन् भन्ने देखायो । त्यतिबेला आईकाओको विश्व एभरेज दर ६० रहँदा हाम्रो अवस्था ५४ प्रतिशत थियो । त्यसपछि आईकाओले नेपाललाई विभिन्न विषयका विशेषज्ञ पठाएर सहयोग ग¥यो । खासगरी पर्सनल लाइसेन्सिङ, एयर वर्दिनेस र फ्लाइट अपरेशनका विषयमा हामीलाई गरेको सहयोगले नेपाल सन् २०१७ मा आईकाओको कालोसूचीबाट बाहिर आउन सक्यो । र, अहिले हामी विश्वको औसत मापदण्डभन्दा माथि छौं । आईकाओले अडिट गरेर नेपाललाई प्रमाणपत्र प्रदान गरिसकेको अवस्थामा हाम्रा प्रतिवेदन यूरोपियन युनियनलाई बुझाएका छौं । कहीँ कतै समस्या छ भने आएर भन भनेका छौं । तर, ईयूले टोली पठाएको छैन । आईकाओले नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाएको १ वर्ष बितिसक्दा पनि ईयूले कालोसूचीमा राख्नुपर्ने खास कारण छैन । हामी प्रविधिको अधिकतम प्रयोग गर्दै अगाडि बढ्ने हो । उड्डयन क्षेत्र गतिशील क्षेत्र हो । प्रविधिको परिवर्तन धेरै छिटो हुने गर्दछ । त्यसलाई अनुसरण गर्दै जानु नेपाल जस्तो मुलुकका लागि चुनौती पनि हो । तर, हामी त्यो अनुसरण गर्दै जाने प्रयासमै छौं । अबको कार्यभार भैरहवामा साढे ७ अर्बको लागतमा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनिरहेको छ । अहिले यसको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आउँदो जुन महीनासम्म सक्ने योजना छ । त्यो समयसम्म विमानस्थलको सबै काम पूरा गर्छौं । विमानस्थलको भौतिक संरचना पूरा हुँदै गर्दा विमानस्थलको सञ्चालनका लागि अन्य तयारी पनि सँगै शुरू गर्दै छौं । पोखरामा २३ अर्ब लागतमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम चलिरहेको छ । अहिले यसको काम २२ प्रतिशतभन्दा माथि सकिएको छ । यसलाई पनि समयमै सक्नेगरी काम भइरहेको छ । निजगढको बारेमा कतिपय काम अघि बढेका छन् । सरकारको अनुमतिपछि रूख कटान जस्ता कतिपय काम अघि बढ्दै छन् । त्यहाँभित्र रहका बस्ती स्थानान्तरणको काम पनि सँगै गर्ने तयारी छ । अब आउने हप्तामै डीपीआरको बोलपत्र गर्दै छौं । भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको धावन मार्ग सुधार, टर्मिनल भवन लगायत अघि बढेका छन् । खासगरी राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्नेतर्फ प्राधिकरणको ध्यान केन्द्रित छ । (प्राधिकरणका महानिर्देशक गौतमसँग आर्थिक अभियानका टीपी भुसालले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्