ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सामाजिक सुरक्षा कोषले कसरी काम गर्छ ?

Jan 14, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar हिमा वि.क.
सामाजिक सुरक्षा योजना नेपालका लागि नयाँ अभ्यास हो । श्रमिक र रोजगारदाताबीच असल सम्बन्ध कायम राख्दै रोजगारमैत्री वातावरण निर्माण गर्न यो योजना लागू गरिएको हो । यसले सबै किसिमका श्रमिक, कामदार र कर्मचारीलाई पेन्सन प्रणालीमा लैजान्छ । रोजगारमैत्री वातावरणका लागि श्रमको हक, श्रमिकको सामाजिक सुरक्षा र रोजगारदाताको सुरक्षा प्रत्याभूति हुनु जरुरी छ । यसका निम्ति कोषले विभिन्न योजना बनाएको छ । योगदान गरेपछि प्रहरी, सेना र निजामती सेवामा जस्तै श्रमिकलाई पनि पेन्सन प्रणालीमा समावेश गराइनेछ । योगदानकर्ता काममा हुँदासम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना बीमा, आश्रित परिवार सुरक्षाको व्यवस्था कोषबाट हुनेछ । काम गुम्दा पनि निश्चित अवधिसम्म जीवन यापनको न्यूनतम सुविधा प्राप्त हुनेछ । कामबाट अवकाश प्राप्त गरेपछि योगदानका आधारमा पेन्सन पाउने व्यवस्था छ । योजनामा सहभागी हुन के गर्नुपर्छ ? सर्वप्रथम रोजगारदाताले कोषको वेबसाइटमा गई अनलाइन सूचीकरण हुनुपर्छ । सूचीकरण भएको ३ महीनाभित्र आफ्ना कर्मचारी तथा श्रमिकको सूचीकरण गरिसक्नुपर्छ । रकम कताबाट आउँछ ?
  • कोषमा जम्मा हुने रकम मूलतः श्रमिक र रोजगारदाताबाट आउँछ । दुवै गरेर श्रमिकको तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ ।
  • यसका अतिरिक्त कोषमा नेपाल सरकारबाट अन्तरराष्ट्रिय सहायता तथा दातृ निकायबाट कुनै कार्यका लागि आउन सक्छ ।
  • बोनस ऐनअन्तर्गत बोनस वितरण गरेर बाँकी हुने मध्ये राष्ट्रिय कल्याणकारी कोषमा जम्मा भएको रकम पनि सामाजिक सुरक्षा कोषमा आउनेछ ।
त्यो रकम कहाँ जान्छ ?
  • योगदानकर्तालाई दिइने सुविधामा जान्छ । कोषमा जम्मा भएको ३१ प्रतिशत रकम मध्येबाट वृद्ध अवस्था सुरक्षा योजना (पेन्सन) मा २८ दशमलव ३३ प्रतिशत र बाँकी २ दशमलव ६७ प्रतिशत रकम अन्य चार योजनामा खर्च हुन्छ ।
  • अहिलेलाई मुख्यत चारओटा योजनामा रकम खर्च हुन्छ ।
  • अन्य रकम दीर्घकालीन निक्षेप र लगानीका अन्य क्षेत्रमा पनि लगानी गर्न सकिन्छ ।
  • सामाजिक सुरक्षा कोषले सञ्चय कोषले जस्तै विविध लगानी गर्न सक्छ ।
  • लगानीबाट प्राप्त हुने मुनाफा योगदानकर्ताले पाउनेछन् । मुनाफाबाट रकम थप गरी पेन्सन तथा उपदान पनि दिइनेछ ।
पेन्सन कति पाइन्छ र कसरी ?
  • ६० वर्ष पूरा भएका श्रमिकले जीवनभर पेन्सन पाउनेछन् ।
  • अवकाश हुँदाका मितिसम्म जम्मा भएको कुल योगदानमा प्रतिफल समेत थप गरी हुने कुल रकमलाई १८० ले भाग गर्दा हुने रकम पेन्सनको रकम हुनेछ ।
  • ६० वर्ष उमेर नपुगी श्रमिकको मृत्यु भएमा निजको नाममा कोषमा रहेको रकम र प्राप्त प्रतिफल समेत आश्रित परिवारले पाउनेछ ।
  • विदेशी नागरिकले रोजगारी छाडी गएको अवस्थामा जम्मा भएको रकम एकमुष्ट लैजान पाउनेछ ।
रोजगारदातालाई किन सजिलो ?
  • योगदान रकम कोषमा आएपछि श्रमिकको, उपचार, सुरक्षा, उपदान/निवृत्तिभरण जस्ता विषय कोषले हेर्छ । यस्ता दायित्व र जिम्मेवारी रोजगारदाताले हेर्नुपर्दैन ।
  • यसरी रोजगारदाता धेरै दायित्वबाट मुक्त भएका छन् ।
  • श्रमिकहरू पनि आफ्नो रोजगारदाताबाट अवकाश लिँदा रकम पाउँछु कि पाउँदैन ?, उपचार खर्च पाउँछु कि पाउँदिनँ भन्ने द्विविधाबाट मुक्त हुन्छन् ।
  • एउटा रोजगारदाता छाडेर अर्काे रोजगारदातामा गए पनि श्रमिकको परिचयपत्र नम्बर एउटै हुन्छ र कोषबाट लाभ पाइरहन्छन् ।
  • यसरी रोजगार नभएको अवस्थामा निश्चित अवधिसम्म तलबको निश्चित प्रतिशत रकम कोषबाट पाइरहनेछन् । अर्थात् जागीर नरहँदा हातमुख कसरी जोर्ने भन्ने चिन्ता रहेनेछैन ।
कहिले देखि लागू हुन्छ ?
  • हाल कम्पनी/प्रतिष्ठान तथा रोजगारदातालाई सूचीकरण गर्ने काम जारी छ ।
  • योगदान रकम जम्मा गर्न कोषले सूचना जारी गरेपछि मात्रै रकम जम्मा गर्न शुरू हुनेछ ।
  • २०७६ साउनदेखि कोषले विधिवत् काम शुरू गर्नेछ । अर्थात् योगदानको रकम जम्मा हुन थाल्ने र सुविधा पनि प्राप्त हुन थाल्नेछ ।
किन उपयोगी ?
  • सामाजिक सुरक्षाका लागि अहिले प्रतिष्ठान, कम्पनीले गर्दै आएको काम अब सामाजिक सुरक्षा कोषले गर्ने ।
  • कम्पनी तथा प्रतिष्ठान धराशयी हुने अवस्था आउँदा श्रमिक र प्रतिष्ठान/कम्पनीबीच हुँदै आएको नेगोसिएशन, द्वन्द्वको अवस्था अब रोकिनेछ । श्रमिकले पाउनुपर्ने सुविधा कोषले उपलब्ध गराउनेछ ।
  • यो व्यवस्थाले रोजगारदाता र श्रमिकबीच असल सम्बन्ध कायम राख्न सहयोग पुर्‍याउनेछ । सामाजिक सुरक्षा कार्यक्रमले देशको छवि नै बदल्नेछ ।
सम्भावित समस्या के के छन् ?
  • अहिलेको समस्या निजी कम्पनीको सञ्चयकर्ताको रकम सञ्चय कोषबाट कसरी यो कोषमा ल्याउने भन्ने विषय हो ।
  • कोषले आईटी प्रणालीको विकास गर्ने, बैंक, अस्पताल छनोट गर्ने जस्ता विषय अझै टुंगिएका छैनन् ।
  • पहिलो चरणमा सरकारी अस्पताल छनोट गरिन्छ । नेपालका लागि यो नयाँ पद्धति हो । यसमा समावेश भएपछि श्रमिक तथा रोजगारदातालाई हित तथा लाभ हुन्छ भन्ने विश्वास दिलाउनुपर्छ ।
  • कोषले श्रमिक र रोजगारदाताको हितको सुरक्षा दिन्छ, जम्मा गरिएको रकमको सुरक्षा हुन्छ भन्ने विश्वास दिलाउन चुनौती छ ।
यसरी गर्छ कोषले काम
  • सर्वप्रथम रोजगारदाताहरू कोषमा दर्ता हुन्छन् ।
  • रोजगारदाताले परिचयपत्र र आधिकारिक नम्बरसहितको सर्टिफिकेट पाउँछन् ।
  • यसपछि रोजगारदाताले आफूकहाँ काम गर्ने श्रमिकहरूलाई दर्ता गर्छन् ।
  • रोजगारदाताले जस्तै श्रमिकले पनि परिचयपत्र र आधिकारिक नम्बर पाउँछन् ।
  • श्रमिकले आधिकारिक नम्बरका आधारमा आफ्नो योगदान रकम कोषमा जम्मा गर्छन् ।
  • रोजगारदाताले श्रमिकको नम्बरमा आफ्नो तर्फबाट योगदान रकम कोषमा जम्मा गर्छन् ।
  • योगदानकर्ता श्रमिकले सुविधा दाबी गर्नुपर्दा प्रत्येक सुविधाका लागि निश्चित फारम भरेर कोषमा पेश गर्नुपर्छ ।
  • फारमका साथ दाबी पुष्टि हुने कागज समेत पेश गर्नुपर्छ ।
  • अस्पतालमा भर्ना भएको अवस्थामा अस्पताल आफैले रकम दाबी गर्न सक्छ । श्रमिकले २० प्रतिशत रकम जम्मा गर्ने र सीमाभन्दा बढी रकम सोझै भुक्तानी गर्नुपर्ने हुन्छ ।
  • रकम भुक्तानी सोझै श्रमिकको बैंक खातामा जम्मा हुन्छ ।
  • दोहोरो सुविधा लिएमा वा झुटा विवरण पेश गरी रकम लिएमा कैद वा जरीवाना हुनेछ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्