ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तराईमा फगुवा : गाँसिँदै सम्बन्ध, मासिँदै मौलिकता

Mar 19, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar ओमप्रकाश खनाल
फगुवा अर्थात् होली तराई/मधेशको मुख्य पर्वमात्र होइन, आपसी सद्भाव र रङको उत्सवको पनि हो । नेपालको तराईमा पहाडी क्षेत्रभन्दा १ दिनपछि यो पर्व मनाइन्छ । होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरको रूपमा पनि लिइन्छ । यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्त भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् । आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान गर्दछन् । यसलाई आपसी रिसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वको रूपमा समेत लिइन्छ । काम विशेषले टाढाटाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने भएकाले यो पर्व मिलनको अवसर पनि हो । फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसंगी भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन छ । तराई/मधेशको राजनीतिक र सांस्कृतिक मामिलामा जानकार बुद्धिजीवी चन्द्रकिशोर फागु पर्व यो क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायका बासिन्दाबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बन्न पुगेको बताउँछन् । राजनीतिक रूपमा समुदायबीच बढ्दो दूरी यस्ता सांस्कृतिक अवसरले घटाउने विश्वास पत्रकार चन्द्रकिशोरको छ । यो क्षेत्रमा मनाइने फागु पर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरी मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पु¥याएको दाबी पत्रकार चन्द्रकिशोरको छ । पर्वले समुदायको बीचमा बढाएको आपसी अन्तर्घुलन र उल्लास प्रवद्र्धन गरी अझ प्रगाढ र बलियो बनाउन सक्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ जानकारहरूको छ । ‘यो पर्वले यहाँका विभिन्न समुदायलाई आपसमा जोड्ने काम गरेको छ,’ चन्द्रकिशोर भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने कामसमेत गरेको छ । यो अन्यन्त सकारात्मक पाटो हो,’ उनी भन्छन् । तराई क्षेत्रमै पनि स्थानअनुसार फगुवाको संस्कृतिमा विविधता रहेको जानकारहरू बताउँछन् । यस क्षेत्रका लोकसंस्कृतिका बारेमा जानकार सञ्चारकर्मी रीतेश त्रिपाठी पछिल्लो समय होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा भने चिन्ता व्यक्त गर्दछन् । उनी भन्छन्, ‘होलीअगावै गाउँघर र शहरका गल्लीहरूमा गुन्जिने होलीका परम्परागत संगीत (होरी) अहिले सुन्न पाइँदैन ।’ बढ्दो आधुनिकतासँगै यो चाडको सांस्कृतिक विशेषता हराउन थालेको उनको भनाइ छ । हिन्दी सिनेमाको देखासिकीमा होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् । परम्परागत गीत गाउने चलन लोप भएर गएको छ । तराईमा प्रचलित लोकबजाहरू ढोलक, डम्फा, झाल र मन्जिरी बजाएर गाइने होलीका गीत अहिले विरलै सुन्न पाइन्छ । होलीको बहानामा मादक पदार्थ सेवन र यसबाट आपसी झैझडाका घटना बढ्न थालेका छन् । यसले विभिन्न विकृति र विसंगति पनि बढाएको छ । ‘होली मिलन’का नाममा आयोजना हुने समारोहमा बजाइने बनिबनाउ गीतले फगुवाको लोकसंस्कृति लोप हुँदै गएकाले जगेर्नामा जागरुक हुनुपर्ने धारणा पत्रकार त्रिपाठीको छ । पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन थियो । गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीत सुनिन्थ्यो । तर त्यो मौलिकता अहिले देख्न पाइँदैन । विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको छनकसमेत नपाइने दाबी जानकारको छ । होली मनाउने तौरतरीका पनि फेरिएको बुझाइ पत्रकार चन्द्रकिशोरको छ । कृषिमा आधारित पर्वमा अहिले आधुनिकताले प्रवेश पाएको छ । अधिकांश पर्व कृषिमा आधारित भए पनि खेतीपाती गर्ने मानिसको संख्या घटेसँगै विस्तारै यस्ता लोक सांस्कृतिक परम्परा ओझेलमा पर्दै गएका हुन् । पहिले तराईमा १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २–४ दिनमा सीमित हुन पुगेको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्