ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्वतारोहणको वसन्त सिजन : १४ दलका १०३ जनालाई आरोहण अनुमति

Mar 27, 2019  
समाचार मुख्य खबर
Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । हिमाल आरोहणमा उत्कृष्ट मानिने वसन्त सिजन शुरू भएयता १४ ओटा दलले विभिन्न हिमाल तथा शिखर आरोहणका लागि अनुमति लिएका छन् । गत फागुन १७ देखि चैत १२ सम्ममा १४ ओटा दलका १०३ जना आरोहीलाई पर्यटन विभागले आरोहण अनुमति जारी गरेको हो । विभागका अनुसार वसन्त ऋतु शुरू भएदेखि हिमाल आरोहणका लागि दिइएको अनुमतिबाट हालसम्म रू. ७ करोड ७८ लाख राजस्व संकलन भएको छ । मंगलवार मात्रै रू. ३ करोड ८८ लाख राजस्व संकलन भएको विभागले जानकारी दिएको छ । मंगलवार हिमाल आरोहणसँग सम्बद्ध ८ ओटा एजेन्सीले उक्त रोयल्टी बुझाएका हुन् । विभागका अनुसार हिमाल आरोहणका लागि ७५ दिनको अनुमति जारी गर्ने गरिन्छ । सोही अवधिभित्र आरोहण गरिसक्नुपर्छ । विभागले सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति जारी गरेको छ । सगरमाथाका लागि ४ ओटा दलका ४२ आरोहीले अनुमति पाएका छन् । यस्तै, अन्नपूर्ण हिमाल आरोहणका लागि तीनओटा दलका २३ आरोहीले अनुमति पाएका छन् । विभागको तथ्यांकअनुसार सातओटा हिमाल तथा शिखरमा भने १/१ दलले आरोहणका लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि काठमाडौंबाट ८ देखि १० दिन लाग्छ । सगरमाथामा १० आइसफल डाक्टर सगरमाथा आरोहण सहज बनाउन गत फागुन १५ देखि १० जना आइफल डाक्टर खटाइएको छ । ‘विगतमा विभागले अनुमति जारी गरेपछि मात्रै आइसफल डाक्टर खटाउने गरिन्थ्यो । करीब ४ वर्षयता भने अनुमति जारी हुनु १ महीनाअघि नै खटाउने गरिएको छ,’ विभागकी निर्देशक मीरा आचार्यले भनिन्, ‘आइसफल डाक्टर कम भएमा आवश्यकताअनुसार थप गर्न सकिन्छ ।’ विभागले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्म आइसफल डाक्टर खटाएको छ । त्यसका लागि विभागले ‘सगरमाथा पोलुशन कन्ट्रोल कमिटी’सँग ५ वर्षका लागि सम्झौता गरेको छ । पर्वतारोहीहरू सगरमाथा आधार शिविरतर्फ उकालो लाग्नुअघि हिमालहरूमा भर्‍याङ, पुल, अंकुश र डोरी टाँग्ने टोलीहरू पुगिसकेका हुन्छन् । शेर्पा समुदायका युवा रहने सोही टोलीलाई ‘आइसफल डाक्टर’ भन्ने गरिएको हो । सगरमाथा बाहेकका हिमालमा आइसफल डाक्टरहरूले बाटो बनाउँदैनन् । सगरमाथामा भने आइसफल डाक्टरले तयार पार्ने मार्ग पछ्याउँदै पर्वतारोहीहरू शिखरतर्फ लम्किन्छन् । सगरमाथा आरोहणका क्रममा धेरै पर्वतारोहीले ज्यान गुमाएपछि आइसफल डाक्टरको अवधारणा अगाडि सारिएको हो । धमाधम डोरी टाँगिँदै एक्सपिडिशन अपरेटर्स एशोसिएशन नेपालका अध्यक्ष डम्बर पराजुलीले सगरमाथा र ल्होत्से हिमालमा धमाधम डोरी (रोप) टाँग्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार हिमाल चढ्न सहज बनाउने उद्देश्यले डोरी टाँग्न ९ जना खटाइएको छ । क्याम्प–२ देखि २५ सय मिटरसम्म डोरी टाँगिएको हुन्छ । पराजुलीका अनुसार हिमाल चढ्न टाँगिएका डोरीहरू आरोहण सकिएपछि विस्थापन गर्नुपर्छ । पुरानै डोरी प्रयोग गरिए चुँडिएर आरोहीहरू दुर्घटनामा पर्ने जोखिम हुन्छ । ‘तर, आरोही र पथप्रदर्शकले विशेष ध्यान दिएमा डोरी चुँडिएर समस्या हुँदैन,’ पराजुलीले भने, ‘हरेक वर्षका नयाँ सिजन शुरू हुँदा नै गतवर्षका डोरीको रंग (कलर) परिवर्तन गरिन्छ । जस्तो, गतवर्षको वसन्त सिजनमा रातो डोरी प्रयोग गरिएको भए अहिले नीलो वा कुनै फरक रंगका डोरी प्रयोग हुन्छन् ।’ होटल अक्युपेन्सीमा आएन सुधार होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यका अनुसार वसन्त ऋतुको शुरुआती अवस्थामा पनि होटलहरूको अक्युपेन्सीमा सुधार देखिएको छैन । पर्वतारोहणको सिजन शुरू भए पनि काठमाडौं लगायत प्रमुख शहरका होटलहरूको अक्युपेन्सी औसतमा ५० देखि ५५ प्रतिशत रहेको उनले जानकारी दिए । ‘अक्युपेन्सी र पर्यटक आगमनको हिसाबले होटल व्यवसायमा सन्तोषजनक प्रभाव पार्न सकेको छैन,’ उनले भने, ‘भर्खर सिजन शुरू भएकाले आगामी महीनामा अक्युपेन्सी दर बढ्न सक्छ ।’ पछिल्ला दिनमा फस्टाएको होमस्टे र ग्रामीण पर्यटकमा बढ्दो आकर्षणका कारण होटलभन्दा पनि ती क्षेत्रमा आरोहीको आकर्षण हुनसक्ने उनको टिप्पणी छ । वर्षकै उत्कृष्ट वसन्त सिजन चैत पहिलो सातादेखि शुरू हुने वसन्त ऋतु वैशाख अन्तिममा सकिन्छ । यही ऋतुलाई हिमाल आरोहणका लागि उत्कृष्ट समय मानिन्छ । हिमालदेखि तराईसम्मका भूगोलमा यतिबेला पालुवा लाग्ने भएकाले पर्वतारोहीहरू हरियालीमा रमाउने गर्छन् । पर्वतारोही र पदयात्रीलाई प्रकृतिप्रेमीका रूपमा पनि बुझ्ने गरिन्छ । यही सिजनमा लालीगुराँस फुलेर हिमाली र लेकाली भेगका जंगल राताम्य हुने गर्छन् । लालीगुराँसको सौन्दर्यबाट पदयात्री र पर्वतारोहीहरूले अद्भुत अनुभूति गर्छन् । लेकाली र हिमाली भेगमा सुनगाभा लगायत फूलहरूको सौन्दर्यमा लठ्ठ पर्छन्, पदयात्री र पर्वतारोही । सोही कारण नेपालमा वसन्त ऋतुको पदयात्रा र पर्वतारोहण विश्वविख्यात बनेको हो । पदयात्रालाई रोमाञ्चक र आरामदायी बनाउनका लागि मौसमको मुख्य भूमिका हुन्छ । अन्य ऋतुको तुलनामा नेपालको मौसम वसन्त ऋतुमा सबैभन्दा राम्रो रहन्छ, न त धेरै जाडो, न गर्मी नै । आकाश खुलेको हुन्छ, गर्मी धेरै नहुने भएकाले हिमाली भेगमा पनि तापमान उपयुक्त अवस्थाको हुन्छ । तराई भेगमा गर्मी शुरू भइसके पनि ४ सय मिटर उचाइमा मध्यमस्तरको तापमान हुन्छ । साँझ–बिहान केही जाडो महसूस हुने भए पनि हेमन्त र शिशिर ऋतुको तुलनामा चिसो कम हुन्छ । सोही कारण पदयात्रीले अधिक न्यानो गराउने कपडा बोक्नु/लगाउनु पर्दैन । नेपाली एडभेन्चर एजेन्सीहरूले वसन्त ऋतुको प्याकेजलाई प्राथमिकताका साथ विक्री गर्दै आएका छन् । अन्नपूर्ण, लाङटाङ, तीनजुरे–मिल्के–जलजले लगायत पदमार्गमा यही मौसममा विदेशी पर्यटक ओइरिन्छन् ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्