ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरिया जान ८१ हजार जनाको आवेदन

Mar 28, 2019  
रोजगारी
NA
author avatar अभियान संवाददाता
काठमाडौं । सन् २०१९ मा दक्षिण कोरियाको रोजगारीमा जान भाषा परीक्षा आवेदन भर्नेको संख्या बुधवारसम्म ८१ हजार ७७ पुगेको छ । नेपालीको आकर्षक श्रम गन्तव्यको रूपमा रहेको कोरिया जान प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि उक्त संख्यामा आवेदन परेको हो । भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुनेछ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमूलक क्षेत्रतर्फ ५५ हजार ९९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका छन् । आवेदन भर्ने समय आइतवार रातिसम्म छ । सन् २०१९ को ईपीएस भाषा परीक्षा र शीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुने बताइएको छ, जसमा पढ्ने २० र सुन्ने २० गरी कुल ४० प्रश्न हुनेछन् । दुवैमा २५ र २५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उत्तीर्ण व्यक्ति मात्र दोस्रो चरणको शीप तथा क्षमता परीक्षणमा सहभागी हुन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने ईपीएस कोरिया शाखाले उल्लेख गरेको छ । दोस्रो चरणको शीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ । उत्पादनमूलक क्षेत्रतर्फ ४७.५ वा सोभन्दा बढी अंक र कृषि तथा पशुपालन क्षेत्रतर्पm ३६ वा सोभन्दा बढी अंक ल्याउनेमध्ये उच्च अंक प्राप्त गर्नेबाट छनोट हुनेछ । उत्तीर्ण हुने अनुमानित संख्या उत्पादनमूलक क्षेत्रको ७ हजार ५० र कृषि तथा पशुपालन क्षेत्रको ३ हजार गरी १० हजार ५० छ । आवेदन दिनेको ‘कलर ब्लाइन्डनेस’ समस्या र शारीरिक अपांगता नभएको हुनुपर्ने प्रावधान राखिएको छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने ईपीएस शाखाले उल्लेख गरेको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकोमा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेका छन् । विगतमा नेपाली कामदारलाई पाँचौं, छैटौं स्थानको प्राथमिकतामा राख्ने गरिएकोमा इमानदारी र परिश्रमको मूल्यांकन गर्दै कोरियाले अहिले दोस्रो प्राथमिकतामा राखेको छ । कोरियामा मासिक न्यूनतम १ लाख २५ हजारदेखि ‘ओभरटाइम’ गर्दा २ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले त्यहाँको रोजगारीतर्फ नेपाली युवाको आकर्षण बढेको छ । ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार ईपीएसअन्तर्गत कोरिया जाने नेपाली युवाले ४ वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । कोरिया जाने कामदारले ४ वर्ष १० महीना काम गरी पुनः नेपाल आएर परीक्षा दिएर जान सक्ने व्यवस्था छ । १ लाखदेखि डेढ लाख रुपैयाँ खर्चमा जान पाइने र अरू देशको तुलनामा धेरै कमाइ हुने भएकाले कोरियाको राजगारी बढी आकर्षक मानिएको हो । यसपालि आवेदन दिने ४ दिनअगाडि नै गत वर्षको हाराहारीमा आवेदन परेका छन् । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । त्यस्तै सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जना भाषा परीक्षामा सहभागी भएका थिए । १ दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजार ४९ जना सहभागी भइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका ईपीएस शाखाले बताएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच ईपीएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ देखि नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्