ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हरि सिञ्चुरी विक : पुर्ख्यौली पेशाबाटै सफल व्यवसायी

Apr 11, 2019  
रोजगारी मुख्य खबर
Image Not Found
author avatar आर्थिक अभियान
शीपविनाको मानिस जिन्दगीमा सधैं अधूरो र अपूरो रहन्छ । अहिलेको युगमा शीप र ज्ञानले नै मानिसलाई धनी बनाउँछ । शीपयुक्त व्यक्तिले सही ठाउँ पायो भने उन्नति गर्छन् । शीपलाई आफ्नो ज्ञान र क्षमतामार्फत आफूलाई उकासेका व्यक्तिको सूचीमा हरि सिञ्चुरी विक अग्रस्थानमा आउँछन् । नेपालले कालिगढबाट केही लिन नसकेकोमा विक आश्चर्य प्रकट गर्छन् । राज्यले केही दिन नसके पनि कालिगढलाई कम्तीमा पनि कर प्रणालीमा ल्याउन उत्प्रेरणा जगाउन सके राज्यले ठूलो लाभ पाउने ठम्याइ उनको छ । धादिङको कल्लेरीमा २०३६ साउन १५ मा जन्मिएका सिञ्चुरीले स्थानीय सरस्वती निमावि डुम्रीचौरबाट कखरा सिके । सामान्य परिवारका उनले अहिले जेजति प्रगति गरेका छन्, त्यो आफ्नै मेहनत र संघर्षको परिणाम हो । बाल्यकालदेखि नै शीप र श्रममा रम्दै आएका विकलाई मान र सम्मान पनि यसैबाट मिलेको छ । सिञ्चुरीको पुर्ख्यौली पेशा सुनचाँदीका गरगहना बनाउने हो । पछिल्लो समय विश्वकर्मा समुदायले आफ्नो पुर्ख्यौली पेशा छाडेर अन्य पेशा तथा व्यवसाय रोजेका छन् । तर, उनले भने पुर्खाकै पेशालाई निरन्तता दिँदै आएका छन् । हाल उनले ग्लोबल सेञ्चुरी प्रालिमार्फत कालिगढी व्यवसायलाई अगाडि बढाउँदै आएका छन् । उक्त कम्पनीका सञ्चालक तथा महाप्रबन्धक रहेका उनी नेपाल हस्तकला कालिगढ संघका अध्यक्षसमेत हुन् । सोही संघमार्फत उनले नेपाली हस्तकलाको उत्पादनलाई चीन, बंगलादेश, श्रीलंका, अमेरिका लगायत मुलुकमा निर्यात तथा प्रवर्द्धन गर्दै आएका छन् । सिञ्चुरीको पुर्खा नै हस्तकला व्यवसायमा संलग्न हुँदै आए पनि उनीहरूको जीवनस्तर बदल्न सकेका थिएनन् । पुर्खौंदेखि मजदूरी गरेर खान लगाउन समेत धौधौ हुँदै आएपछि उनले हस्तकलालाई व्यवसायको रूपमा परिणत गरे । उनले हस्तकलाका सामग्री बनाई विदेशमा समेत निर्यात गरिरहेका छन् । समाजले उनलाई ‘दलित’ भन्ने गरेको छ । तर, शीपले सफलतातिर लम्किँदै गर्दा उनमा निकै आत्मबल बढेको छ । ‘पुर्खादेखि काम गर्दै आए पनि मजदूरीमा मात्र सीमित हुँदा पुस्ता बदलिन सकेन, तर मलाई व्यवसाय गरेर मात्र जीवन बदल्न सकिन्छ भन्ने लागेर व्यवसाय शुरू गरेको हुँ,’ उनी भन्छन्, ‘अहिले यो व्यवसाय थालेपछि मैले पनि यो समाजका लागि केही गरेछु भन्ने लागेको छ ।’ घट्दो आकर्षण कालिगढको पेशा आर्थिक रूपमा राम्रो मानिन्छ । तर, नयाँ पुस्ता यसमा आकर्षित हुन सकिरहेका छैनन् । नेपालमा हस्तकला व्यवसायमा ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । हस्तकला व्यवसायले वार्षिक १५ अर्बबराबरको निर्यात गर्दै आएको छ । औंठी, चुरालगायत हस्तकला सामग्रीको नेपालमै उपभोग बढ्दै गएको छ । तर, नेपालमा मागअनुसार उत्पादन हुन सकिरहेको छैन । केही बाध्यताले र धेरै रहरले विदेश जाँदा शीपयुक्त कामदारको अभावमा माग अनुरूप उत्पादन हुन नसकेको हो । ‘वैदेशिक रोजगारीमा जानुको साटो नेपालमै व्यवसाय गर्न सके दीर्घकालीन लाभ लिन सकिन्छ,’ उनी भन्छन्, ‘स्वदेशमा काम गरेर प्रशस्त आयआर्जन गर्न सकिन्छ, तर नेपालमै केही गरौं भन्ने भावना नै हराउन थालिसक्यो ।’ ‘नयाँ पुस्ता हस्तकलामा आकर्षित देखिँदैन, उनीहरूलाई शीप सिकाउनु हाम्रो कर्तव्य हो,’ उनले थपे, ‘युवालाई यो पेशाप्रति मोह जगाउन सकेनौं भने नेपालको अर्थतन्त्रलाई समेत असर पुग्छ ।’ नेपालको कला संस्कृति जगेर्ना तथा पुख्र्यौली पेशालाई निरन्तरता दिएर व्यावसायिक सफलता हात पार्न सकेकोमा उनी आफू चाहिँ सन्तुष्ट देखिन्छन् । उनी आफै सुनचाँदीका गहनाका साथै काष्ठकलाका विभिन्न प्रकारका सामग्री बनाउने र विक्री गर्ने गर्छन् । मेटलक्राफ्ट, मूर्ति, स्टोनक्राप्ट, चित्रकला, बेतबाँस, पस्मिना, हड्डीका सामग्री उनको पसलमा पाइन्छन् । उनले पुर्खौली व्यवसायलाई व्यवसायीकरण गर्न तालीमसमेत चलाउँदै छन् । उनले सयौंलाई रोजगारी दिइसकेका छन् । उनको पसलमा अहिले २० जनाभन्दा बढीले काम गर्छन् । सिजनका बेला ४० जनाभन्दा बढीले काम गर्ने उनी बताउँछन् । दर्जनौं नेपालीलाई रोजगारीको अवसर दिन सकेकोमा उनी आत्मसन्तुष्ट छन् । सानो कामलाई पनि निरन्तरता दिन सके सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरणका पात्र बनेका छन् विक । उनी भन्छन्, ‘हातैले बनाउने भएकाले पनि नेपाली हस्तकलामा मौलिकपन हुन्छ । त्यसकारण पनि नेपाली हस्तकलाको माग विदेशमा अधिक छ । अमेरिका, यूरोप लगायत क्षेत्रमा नेपाली हस्तकलाका सामाग्री विक्री हुन्छ ।’ हातमा सम्मान उत्तिकै व्यवसायमा सफलतासँगै उनले दर्जनौं सम्मान पनि पाएका छन् । उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान पाएका छन् । यसलाई उनी आफ्नो मिहिनेत र परिश्रम नै ठान्छन् । उनले हालै मात्र ‘वर्ल्ड क्राफ्ट काउन्सिल’बाट अन्तरराष्ट्रिय स्तरको सम्मान पाएका छन् । कुवेतबाट पाएको उक्त सम्मान उनको गुणस्तरीय हस्तकला सामग्रीकै कारण थियो । उनी सन् २००८ मा सर्वोत्कृष्ट उद्यमीलाई प्रदान गरिने ‘स्मल इन्टरप्राइजेज एक्सिलेन्स अवार्ड’ र २०१० मा तेस्रो ‘स्मल इन्टरप्राइजेज एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएका थिए । उनले अन्नपूर्ण प्रावि सम्मान, अम्बेडकर सम्मान पदक अन्तरराष्ट्रिय पुरस्कार, नेपाल दलित संघ राष्ट्रिय दलित सदनबाट सम्मान लगायत पुरस्कार पाएका छन् । प्रस्तुति : मिलन विश्वकर्मा
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्