arthik abhiyan
ad banner

बिल पर्चेज बढाउन आयात निर्यात बढ्नुपर्छ

Apr 26, 2019 
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar आर्थिक अभियान
सबै नेपालीलाई बैंकिङ प्रणालीमा जोड्न ल्याइएको ‘खोलौं बैंक खाता’ योजना प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई निःशुल्क प्रवेश गर्ने वातावरण मिलाइसकेका छन् । राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवको शुभकामना दिँदै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले अझै वित्तीय क्षेत्र सुधारमा जोड दिनुपर्ने औंल्याए । प्रस्तुत छ, अध्यक्ष ढुंगानासँग आर्थिक अभियानले गरेको कुराकानी : राष्ट्र बैंकले सबै नेपालीको बैंक खाता खुलाउन भनेर ल्याएको योजना कार्यान्वयनका लागि बैंकहरूलाई निर्देशन दिएको छ । वैशाख १ गते यसबारे भव्य कार्यक्रम पनि गरियो । अब बैंकमा सबैको पहुँच पुग्छ त ? ‘खोलौं बैंक खाता’ योजना गत वैशाख १ गतेदेखि नेपालका २८ ओटै वाणिज्य बैंकको सहभागितामा शुरू गरिएको हो । यो सरकारको वार्षिक बजेटअन्तर्गतकै कार्यक्रम हो । यसले हाम्रो बैंक र पूँजी निर्माणमा सहयोग गर्छ । साथै सरकारले आगामी दिनमा दिने सामाजिक सुरक्षालगायत सरकारी सेवा सुविधा पनि यही खातामार्फत प्रदान हुने भएकाले सम्पूर्ण नेपालीको बैंक खाता हुन आवश्यक छ । यो कार्यक्रम ल्याउन सरकारको निश्चित उद्देश्य त छ नै, यसले बैंकिङ क्षेत्रमा सबैको पहुँच पुर्‍याउन पनि मद्दत गर्नेछ । यसले दोहोरो खाता हुने, लामो समय कारोबार नहुँदा डोरमेन्टमा जाने र केवाईसी फाराम भर्नुपर्ने समस्या बढ्दैन र ? खाता खोलेबापत बैंकले सामाजिक उत्तरदायित्वका रूपमा प्रतिखाता सय रुपैयाँ राख्ने पनि भनिएको छ, यसले खाता खोल्न उत्प्रेरित गर्छ । यसले गर्दा दोहोरो खाता पनि खुल्न सक्लान् । अहिले पनि एक व्यक्तिका दुईभन्दा खाता होलान् ! तपाईंले भने जस्तो दोहोरो खाता भएर त्यस्तो कुनै नोक्सान हुँदैन । अहिलेसम्म खाता नभएका व्यक्तिको खाता खोल्ने यस कार्यक्रमको लक्ष्य हो । हाल केवाईसी फर्म सरलीकृत गरिएको छ, यसले खाता खोल्न नागरिकताकै जरुरत पर्दैन । यसले व्यक्तिले आफ्नो जुनसुकै परिचयपत्रबाट बिन झन्झट खाता खोल्न सक्नेछ । १ वर्षसम्म खाता सञ्चालन गरिएन र १ लाखभन्दा बढी रुपैयाँको कारोबार भयो भने बैंकले थप डकुमेन्ट माग्न सक्छ । यो खातावालाको सुरक्षाका लागि हो, यसमा निक्षेपकर्ताले झन्झट मान्नु भएन । राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार गर्न के गर्न जरुरी छ ? वित्तीय क्षेत्र सुधारका लागि राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न काम गरेको छ । विगतको नतीजा हेर्ने हो भने बैंकमा हुनुपर्ने न्यूनतम पूँजी वृद्धि गरेर ८ अर्ब पुर्‍याइसकिएको छ, बैंक शक्तिशाली बनेका छन् । आगामी दिनमा बैंकको संख्यामा वृद्धि भयो भने मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले केही छूट, सुविधा थपेर स्थायित्व कायम गर्न सक्छ भन्ने लाग्छ । आधारदर गणना विधि परिवर्तन भए पनि बैंकहरूले कर्जाको ब्याजदर घटाएनन् । नियमन निकायले जारी गरेको निर्देशन बैंकले अटेरी गरे भन्ने आरोप लाग्छ नि ? आरोप लाग्छन्, त्यो सामान्य कुरा हो । तर वास्तविकता त्यस्तो छैन । बैंकहरूको आधारदर एकैचोटि १ प्रतिशत, २ प्रतिशत, ३ प्रतिशत घट्ने भन्ने हुँदैन । विगत १ वर्षलाई मात्रै हेर्ने हो भने शून्य दशमलव ५ प्रतिशत, शून्य दशमलव ३ प्रतिशत र शून्य दशमलव २ प्रतिशत मात्र भए पनि बैंकको आधारदर क्रमिक रूपमा घट्दै आएको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर स्वतः घट्छ । आधारदर घटेपछि ब्याजदर घटाउनैपर्ने राष्ट्र बैंकको सर्कुलर छ, राष्ट्र बैंकको सर्कुलरलाई बैंकले नटेर्ने भन्ने सम्भावना नै हुँदैन । तपाईंको विचारमा राष्ट्र बैंकका चुनौती के के छन् ? चुनौतीहरू घट्दैनन्, बरु समयसँगै थपिँदै जान्छन् । राष्ट्र बैंकलाई समयसान्दर्भिक रूपमा परिष्कृत गर्दै जाने क्रममा चुनौती थपिएका छन् । बैंकले बिल पर्चेज खासै बढाउन सकेको देखिन्न । यसको कारण के होला ? ग्राहकको मागअनुसार बिल पर्चेज बढ्ने हो । बढेको नदेखिए पनि कारोबार भइरहेको छ । यसलाई बढाउन आयात र निर्यात बढ्नुपर्छ । निर्यात हाम्रो धेरै कम छ । त्यसकारण पनि यस्तो देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्