arthik abhiyan
ad banner

भ्याट छली होइन, व्यावसायिक सुशासनको कमी हो

May 28, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar आर्थिक अभियान
टुटल मोबाइल एपको माध्यमबाट राइड शेयरिङ सेवा दिने स्टार्टअप कम्पनी हो । यसको मोबाइल एपमार्फत राइडर र सेवाग्राहीबीच सम्पर्क भएर यातायात सेवा आदानप्रदान हुन्छ । गैरकानूनी व्यवसाय र भ्याट छलीको आरोपमा विवादित बनेको कम्पनीलाई आन्तरिक राजस्व कार्यालय, ललितपुरले ३ करोड ३९ लाख कर तिर्न निर्देशन पनि दिइसकेको छ । यसै सेरोफेरोमा रहेर टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार : आन्तरिक राजस्व कार्यालय ललितपुरले टुटललाई कर तिर्ने आदेश दिएको छ । यसबारे कम्पनीको भनाइ के छ ? शुरूमा १ वर्ष हामीले सेवाग्राहीसँग भ्याट जोडेर भाडा उठाएकोमा त्यसपछि भ्याट हटाइसकेका छौं । कर छली नै गर्ने नियतले हामीले त्यो काम गरेका थिएनौं । यो एकदमै नौलो व्यवसाय भएकाले शुरूमा नीतिगत अन्योल थियो । हाल राजस्व कार्यालयले कर तिर्न आदेश दिएको छ । हाम्रा वकिलहरूले यस विषयमा अध्ययन गरिराख्नुभएको छ । प्रक्रिया बुझेर हामी अगाडि बढ्छौं । तर भ्याट हटाएको भने पनि भाडादर त उही रह्यो नि ? भ्याट हटाइसकेपछि पनि जुन भाडादर स्थिर रह्यो भन्ने कुरा छ, त्यो हाम्रा चालकहरूका लागि हो । राइड शेयरिङ व्यवसाय शुरू गरेपछि व्यवसाय अघि बढाउन चालकहरू चाहिन्छ । तर भर्खरै टुटलको बारेमा जानेका र जोडिन आएका चालक लगत्तै भाडा घट्दा हामीसँग रहँदैनथे । उनीहरूको मनोबल घट्थ्यो, टुटलमाथिको विश्वासमा कमी आई उनीहरू यसबाट टाढिन सक्थे । यसकारण चालक व्यवस्थापनका लागि पनि हामीले मूल्य यथावत् राख्नुपरेको हो । त्यसो भए टुटलले भ्याट छली गरेको छैन ? यो भ्याट छली नभई व्यवसाय सञ्चालनका विषयमा सुशासनको कमी हो । अर्को कुरा, हामीले प्रयोगकर्तालाई सस्तो सेवा र चालकलाई रोजगारी दिएका मात्रै हौं । सेवाग्राहीले तिरेको ९६ प्रतिशतसम्म भाडा चालकलाई नै जान्छ । हामीले पाउने भनेको त्यही ४ प्रतिशत मात्र हो । कर लगाए पनि त्यसमा लगाउनुपर्‍यो, हामी ४ प्रतिशतको कर तिर्न तयार छौं । यातायात ऐनअनुसार त गैरकानूनी रहेछ नि ? गैरकानूनी भन्नु र कानूनको अभाव हुनु फरक कुरा हुन् । करमा पनि कानूनी अभाव नै हो । प्रधानमन्त्रीले राइड शेयरिङलाई बन्द नगर्न आदेश दिएपछि हामी यसमा केही नयाँ कानून आउँछ कि भन्ने प्रतीक्षामा छौं । कानूनी रूपमा काम गरिरहेका व्यवसायीलाई टुटल जस्ता गैरकानूनी व्यवसायले प्रभाव पा¥यो भन्ने आरोप लागेको छ । कानूनी रूपमा काम गरिरहेका व्यवसायीमाथिको हस्तक्षेप हो यो ? बत्ती बनेपछि मैनबत्ती हुनुहुँदैन भन्ने हुन्न । कानून भनेको सञ्चालनमा आइरहेकाहरूका लागि हुन्छ, नयाँको कानून बनेको हुँदैन । काठमाडौंमा सडकको अभाव भएका क्षेत्रका लागि, महिला, अपांगता भएका र सर्वसाधारणका लागि यो सेवा अनुकूल र सर्वसुलभ पनि छ । दैनिक हजारौं व्यक्तिले सेवा लिनुहुन्छ । १० हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस्तो सुविधा र रोजगारी सरकारकै एजेन्डा हो । हामीले सरकारकै एजेन्डाअनुरूप काम गरिरहेका छौैं । समाजमा केही नवीनता ल्याएर सामाजिक समस्याको समाधान गर्ने बाटोमा हामी छौं । यो नयाँ सोचसहितको यात्रा मात्र हो, कानूनी रूपमा काम गरिरहेका व्यवसायीमाथिको हस्तक्षेप होइन । तर टुटल सधैं विवादमै आइरहेको छ । यसको कारण के होला ? हाम्रो देशमा पुरानाका लागि पोलिसी छ, नयाँका लागि पोलिसी छैन । बार, डिस्को, होटल, ट्याक्सी लगायत विभिन्न क्षेत्रमा पोलिसी छ । यी क्षेत्रमा काम गर्न गाह्रो थिएन, तर पनि हामी नयाँ केही गर्नुपर्छ भनी यसमा लागेका हौं । नयाँ सोचका साथ नयाँ केही गर्न थाले पो कानून बन्छ । हामीले गरिरहेको काम सामाजिक र आर्थिक विकासका लागि भएकाले हामीले नराम्रो केही गरेका छैनौं । समुद्र मन्थन गर्दा पनि शुरूमा त कालकूट विषै निस्किएको थियो भनिन्छ । यसैगरी टुटल पनि मन्थनकै क्रममा छ । नयाँ कुरा विवादित हुन्छ, विवादित हुनु पनि ठीकै हो । तर सरकारले कानून निर्माण गरी अघि बढ्न प्रेरित गर्छ भन्नेमा हामी विश्वस्त नै छौं । यस्तो सेवा बन्दै गर्नुपर्छ भन्ने अभिव्यक्ति यातायात क्षेत्रसँग सम्बन्धित निकायबाट आइरहेको छ । सञ्चालनमा केही कमजोरी हो ? फरक मत जसले पनि राख्न पाउँछ । म चाहिँ नयाँ व्यवसायलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्दछु । प्रविधिको प्रयोगद्वारा यस किसिमको सेवा संसारभर सञ्चालनमा आइरहेको छ । हामी डिजिटल वालेटबाट प्रत्येक चालकको बैंक खाता खोलिरहेका छौं । रोजगारी दिइरहेका छौं । श्रमप्रति सम्मानको भावना विकास गरिरहेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रत्येक नागरिकको बैंक खाता, श्रमको सम्मान आदि सबै सरकारका अभियान हुन् । हामी तिनै अभियानका लागि काम गरिरहेका छौं । टुटलका लागि चालक कसरी छानिन्छन् ? कस्ता व्यक्ति चालक बन्न सक्छन् ? श्रमप्रति सम्मानका लागि टुटल सञ्चालनमा आएको हो । विद्यार्थी, इन्जिनीयर, प्रोफेसर, पत्रकार, वैदेशिक रोजगारीबाट फर्किएका, देशमै केही गर्न चाहिरहेका ड्राइभिङ लाइसेन्स भएका सबै व्यक्ति टुटलका चालक छन्, बन्न सक्छन् । यसका लागि हामी टुटलको कार्यालयमा ट्रेनिङ दिन्छौं । ट्रेनिङपछि ती व्यक्तिहरू ‘टुटल राइडर’ बन्न सक्छन् । यात्रु सुरक्षाका लागि के काम गरिरहनुभएको छ ? सवारी नियमन गर्ने त्यस्तो कुनै व्यवस्था छ ? टुटलमा र अन्य यातायातमा सरक्षा तथा असुरक्षा उस्तै हो । पोलिसीअनुसार हामी सुधार गर्नेछौं । हामीले आफ्नो तर्फबाट सुरक्षाका लागि काम गरिरहेका छौं । सरकारले बनाएको मापदण्डअनुसार नियमन गर्न तयार पनि छौं । हाल हामीले टेक्नोलोजीको सहयोगले जीपीएस ट्र्याकिङ, स्पीड ट्र्याकिङ गरेर चालककोे निगरानी गरिरहेका छौं । सरकारले यातायात क्षेत्रको व्यवस्थापनका लागि ठूला सवारीलाई प्राथमिकतामा राखेर सानालाई विस्थापित गर्ने योजना बनाएको छ । यस्तोमा राइड शेयरिङ सेवालाई नियमितता दिन कम्पनीसँग केही योजना छ कि ? हाल दैनिक थुप्रै नेत्रविहीन, शारीरिक अशक्तता भएका लगायत हजारौंले टुटल सेवा लिइरहेका छन् । दैनिक १५० जना नेत्रविहीनले यो सेवा लिइरहेका छन् । यसरी अपांगतामैत्री अन्य कुनै सवारी छ ? यो एउटा व्यवसाय हो । यसले रोजगारी दिन्छ । तर हामीले यसलाई व्यवसायभन्दा बढी अभियान र सहयोगका रूपमा लिएका छौं । हाललाई ठूला सवारीलाई प्राथमिकता दिँदा सरकारले अपांगतामैत्री सवारी सञ्चालनमा जोड दिओस् मात्र भन्न चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्