arthik abhiyan
ad banner

साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्नुपर्छ

May 31, 2019 
समाचार अन्तरवार्ता
Image Not Found
author avatar आर्थिक अभियान
नेपालमा २५ प्रतिशत मानिस मुटुरोगसँग जुधिरहेको तथ्यांक छ । अघिल्लो वर्षमात्रै मुटुसँग सम्बन्धित रोगका कारण ३० हजार ५५९ को मृत्यु भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय हृदयाघात, भल्भमा प्वाल, बाथ, उक्त रक्तचाप, मधुमेह लगायत मुटुसँग सम्बन्धित रोगीको जनसंख्या बढेको छ । यो अवस्थामा सुधार नआउने हो भने मुटुरोगले महामारीको रूप लिनेछ । वंशाणुगत, अत्यधिक मदिरा सेवन, मानसिक तनाव, मोटोपना, अस्वस्थकर खानेकुरा र व्यायामको कमीले विश्वमा मुटुरोगी बढ्दै गएका छन् । प्रस्तुत छ, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रकी मुटु सर्जन डा. दीक्षा जोशीसँग आर्थिक अभियानका काशीराम बजगाईंले मुटुरोगको सेरोफेरोमा रहेर गरेको कुराकानीको सार: मुटुरोग के कति प्रकारको हुन्छ ? मुटुरोग धेरै प्रकारको हुन्छ । जन्मजात मुटुरोग साइनोटिक हार्ट डिजिज र असाइनोटिक हार्ट डिजिज गरी दुई प्रकारको हुन्छ । साइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुनुका साथै शरीरमा अक्सिजनको मात्राको कमी भई शरीर नीलो हुन्छ । असाइनोटिक हार्ट डिजिजमा मुटुमा प्वाल हुने र मुटुको बनावट प्रक्रियामा पनि खराबी हुन्छ, तर यसमा अक्सिजनको मात्रा कमी हुँदैन । त्यस्तै बाथ मुटुरोग, मुटुको धमनीमा रक्त सञ्चालन नहुँदा हुने लगायतका गरी  विभिन्न प्रकारका मुटुरोग हुन्छन् । मुटुरोगका लक्षण के के हुन् ? मुटुरोगमा छाती दुख्ने, खुट्टाहरू सुन्निने, कफमा रगत देखिने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, बेहोश हुने, थकाइ लाग्ने लगायत लक्षण देखिन सक्छन् । तर यस्ता लक्षण देखिनेबित्तिकै मुटुरोग नै भन्न सकिँदैन । विभिन्न चेकजाँच गरेर मुटुरोग पत्ता लगाउन सकिन्छ । कुन अवस्थामा मुटुको शल्यक्रिया गर्नुपर्छ ? मुटुरोगको प्रकारअनुसार कहिले शल्यक्रिया गर्ने भन्ने निर्भर हुन्छ । साइनोटिक हार्ट डिजिज पत्ता लागेपछि तुरुन्त शल्यक्रिया गर्दा राम्रो हुन्छ । तर असाइनोटिक हार्ट डिजिजमा फोक्सोको प्रेसर र मुटुको खुम्चने शक्ति ठीक छ भने केही समय कुर्न सकिन्छ । असाइनोटिक हार्ट डिजिजमा जन्मेको २ वर्षभित्र मुटुको बनावट ठीक हुने तथा मुटुको प्वाल आफै टालिने हुँदा पर्खिन सकिन्छ । तर २ वर्षपछि भने तुरुन्त यसको पनि शल्यक्रिया गर्नुपर्छ । त्यस्तै मुटुको बाथ रोगमा भल्भ, मुटुको खुम्चने शक्ति फोक्सोको प्रेसर हेरेर त्यसअनुसार शल्यक्रिया गर्नुपर्छ । कोरोनरी हार्ट डिजिजमा तीन तहमा उपचार गरिन्छ । शुरूमा मुटुमा ५० प्रतिशतभन्दा कम अवरोध छ भने औषधि उपचार गरिन्छ । अवरोध ५० प्रतिशतभन्दा बढी र दुई धमनीमा सीमित छ भने एन्जियाप्लास्टी वा स्टेन्टको सहायताले धमनी खोल्ने प्रयास गरिन्छ । तर रोग तीन वा तीनभन्दा बढी धमनीमा फैलिएको छ तथा रक्तसञ्चार हुने मुख्य धमनीमा रोग फैलिएको, मुटुको खुम्चने शक्ति कम भएको र मधुमेह, उच्च रक्तचाप लगायत अन्य रोग भएको अवस्थामा बाइपास शल्यक्रिया गरिन्छ । मुटुको शल्यक्रियाको क्रममा के कस्तो जोखिम आउन सक्छ ? मुटुको शल्यक्रिया भनेको ओपन हार्ट सर्जरी हो । ओपन हार्ट सर्जरी गर्दा हामी मुटुलाई बन्द गर्छौं । मुटु बन्द गर्दा मान्छे कसरी बाँच्छ भन्ने सवाल पनि आउन सक्छ । उक्त शल्यक्रिया गर्दा हार्ट लङ मेशिनको प्रयोग गरिन्छ । मुटु पूर्ण बन्द हुँदा पनि मुटु र फोक्सोले गर्ने सम्पूर्ण काम उक्त मेशिनले गर्दछ । यही बेला मुटुको प्वाल टाल्ने, भल्भ फेर्ने, बाइपास शल्यक्रिया गर्ने लगायत काम हुन्छन् । त्यसपछि मुटुलाई चालमा ल्याएर मेशिन बन्द गरिन्छ । संसारमै सबैभन्दा गाह्रो शल्यक्रियाको रूपमा मुटुको शल्यक्रिया रहेको छ । यसरी मुटु बन्द गरेर मेशिनद्वारा मुटु र फोक्सोले गर्ने काम गराइने हुँदा ओपन हार्ट शल्यक्रियामा जोखिम त हुने नै भयो । यस्तै शल्यक्रियापछि रगत धेरै बग्ने, घाउ पाक्ने, प्यारालाइसिस हुने, मिर्गौलामा समस्या देखिन सक्ने, मुटुको चाल बिग्रिएर पेसमेकर राख्नुपर्ने र ज्यानै जान सक्ने सम्भावना पनि हुन सक्छ । तर चिकित्सकले वढो होशियारीका साथ शल्यक्रिया गरी विरामीलाई ठीक पार्ने काम गरिन्छ । शल्यक्रिया कति प्रतिशत सफल र कति असफल हुन्छ ? रोगअनुसार फरक पर्छ । रोग कति गम्भीर भइसकेको छ भन्ने कुरामा सफल र असफल निर्भर हुन्छ । सही समयमा बिरामी आउने हो र शल्यक्रिया हुने हो भने सामान्य शल्यक्रियामा १ प्रतिशतभन्दा कम मात्र मृत्यु हुने सम्भावना हुन्छ । रोग जटिल अवस्थामा पुगिसकेकोे छ र मुटु नै खराब भइसकेको छ भने चाहिँ असफल हुने सम्भावना उच्च हुन्छ । त्यसैले मुटुरोगको चेकजाँच र उपचार समयमै गर्नुपर्ने हुन्छ । नेपालमा सबैभन्दा बढी शल्यक्रिया हुने मुटुरोग कुन हो ? पछिल्लो समयमा मुटु बाथरोगका कारण मुटुको भल्भ मर्मत गर्ने र फेर्ने शल्यक्रिया सबैभन्दा बढी हुने गरेको देखिन्छ । विश्वव्यापी रूपमा झन्डै उन्मूलन भइसकेको यो रोग हाम्रो जस्तो देशमा चाहिँ अझै बाँकी छ । मुटुको बाथरोग विकट क्षेत्रहरूमा बढी देखिएको छ । डाक्टरको अभाव र सही समयमा सही उपचारको अभावले त्यस्ता ठाउँका मानिसमा यो रोग बढी पाइन्छ । ५ देखि १५ वर्षसम्मको बच्चामा देखिने घाँटीको संक्रमण (ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शन)को राम्रो उपचार भएन भने यो रोग लाग्न सक्छ । मुटुको शल्यक्रियापछि रिकभरीका लागि कति समय लाग्छ ? केही जटिलता नभएको अवस्थामा सामान्यतया छिट्टै रिकभरी हुन्छ । शल्यक्रिया गरेका बिरामीलाई २–३ दिनमा उठ्ने, हिँड्ने, छातीको कसरत गराउने काम गरिन्छ । बिरामी पुराना क्रियाकलापमा जति छिटो अभ्यस्त हुन्छ, त्यति छिटो रिकभरी हुन्छ । अन्य रोगमा जस्तो आराम गर्नुपर्ने यसमा हुँदैन । तर भारी सामान उठाउने, मोटरसाइकल चलाउने लगायत काम गर्नुहुँदैन । यस्तो क्रियाकलापले शल्यक्रिया गरिएको ठाउँमा असर पार्ने गर्छ । सामान्यतया यस्ता क्रियाकलाप ३ महीनापछि मात्र गर्नुपर्छ । मुटुरोगबाट कसरी बच्न सकिन्छ ? जन्मजात मुटुरोगबाट बच्न बच्चा गर्भावस्थामा हुँदा नै बच्चाको मुटुमा समस्या भए/नभएको जाँच गर्न सकिन्छ । परिवारमा अन्य कुनै व्यक्तिलाई अथवा अघिल्लो बच्चामा मुटुरोग देखिएको छ भने यस्तो किसिमको जाँच अनिवार्य गर्नुपर्छ । अर्को कुरा, धेरै कम उमेरमा र धेरै बढी उमेरमा नभई ठीक समयमा बच्चा जन्माउनुपर्छ । मुटु बाथरोगबाट बच्न चाहिँ ५ देखि १५ वर्ष उमेरको बच्चामा हुने ग्रूप बी बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकस इन्फेक्शनको उपचार गर्नुपर्छ । त्यस्तै कोरोनरी आर्टी डिजिजबाट बच्न स्वस्थ खाना खाने, नियमित व्यायाम गर्नुका साथै धूमपान, मद्यपान, सुर्तीजन्य पदार्थ लगायत स्वास्थ्यका लागि हानिकारक वस्तुको सेवन गर्नु हुँदैन । त्यस्तै मधुमेह, उच्च रक्तचाप जस्ता रोगको समयमै उपचार गराउनुपर्छ । आफ्नो जीवनशैलीमा ध्यान दिने हो भने यस किसिमको मुटुको रोगबाट बच्न सकिन्छ । मुटुको शल्यक्रियापछि जीवनयापनमा केही जटिलता पनि आउँछ ? सामान्य मुटुको प्वाल टाल्ने शल्यक्रियाले जीवनयापनमा खासै फरक पर्दैन । मुटुको भल्भ फेरिएको, कार्बन धातुको भल्भ राखिएको हो भने रगत पातलो गर्ने वार्पmरिन नामक औषधि जिन्दगीभर सेवन गर्नुपर्छ । उक्त औषधि बढी खाए नसा फुट्ने र रगत बग्ने तथा कम खाए भल्भ रोकिने तथा मुटु बन्द हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक महीना रगतको जाँच गरी सही मात्रामा औषधि सेवन गर्नुपर्दछ । यो औषधि सेवन गरिरहेको अवस्थामा पेटमा बच्चा रह्यो भने ५ देखि १५ प्रतिशतसम्म बच्चा अंगभंग हुन सक्ने, केही अंगविनै जन्मिन सक्ने हुँदा महिलाले विशेष ध्यान दिनुपर्दछ । बाइपास शल्यक्रिया गरेका व्यक्तिले चाहिँ खानपिन र जीवनस्तरमा ध्यान दिई औषधि नियमित सेवन गर्नुपर्दछ । मुटुको शल्यक्रिया कत्तिको महँगो हुन्छ ? मुटुको शल्यक्रिया संसारमै सबैभन्दा महँगो शल्यक्रिया मानिन्छ । नेपालमा भने सरकारले मुटुरोगीका लागि विशेष व्यवस्था गरेको छ । यस कारण नेपाल मुटुको शल्यक्रिया सबैभन्दा सस्तो र सजिलो हुने देशमध्ये पर्छ । नेपालमा १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धाको मुटुको शल्यक्रिया पूर्ण निःशुल्क छ । यसबाहेक मुटुको अन्य शल्यक्रियाका लागि नेपाल सरकारले विपन्न वर्गलाई १ लाख अनुदान प्रदान गर्दै आएको छ । त्यसैले नेपालमा आर्थिक अभावकै कारण मुटुको शल्यक्रिया नहुने अवस्थाबाट कोही पनि वञ्चित हुनुपर्दैन ।
प्रतिक्रिया दिनुहोस्