arthik abhiyan
ad banner

वयस्क पुरुषले रगतको पीएसए परीक्षण अनिवार्य गर्नुपर्छ

Jun 7, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar (अस)
४० वर्ष लागेपछि उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमलगायत रोगहरू देखा पर्न थाल्छन् । यसँगै ४५ वर्षतिर प्रोस्टेटको समस्या पनि देखिने सम्भावना बढी हुन्छ । परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको रहेछ भने वंशाणुगत रोगको रूपमा देखिने सम्भावना झन् अधिक हुन्छ । यसर्थ, पुरुष वयस्क भएपछि प्रोस्ट्रेटको परीक्षण गर्नुपर्ने सुझाव डा. महेशबहादुर अधिकारीको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस र एमएस गरेपछि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलबाट फेलोशिप गरेका डा. अधिकारीले उमेर पुगेपछि रगतको पीएसए परीक्षण गनुपर्ने बताएका छन् । प्रस्तुत छ डा. अधिकारीसँग आर्थिक अभियान दैनिकका पूर्णभक्त दुवालले गरेकोे कुराकानीको सम्पादित अंश : प्रोस्टेट क्यान्सर के हो ? प्रोस्टेट एक ग्रन्थी हो । यो पिसाबनलीको चारैतिर फैलिएको हुन्छ । यसको मुख्य काम शुक्राणुलाई पोषण दिनु हो । सामान्यतया यो ग्रन्थीको वजन १८ ग्राम हुन्छ । कोषहरूको अनावश्यक विभाजन भई यसको आकार÷वजन बढेपछि क्यान्सरको खतरा रहन्छ । प्रोस्टेट ग्रन्थीको वजन ३० देखि ५० ग्राम पुग्दा प्रोस्टेट क्यान्सर हुन्छ । प्रोस्टेट क्यान्सर हुँदा के हुन्छ ? विनापरिश्रम लगातार पिठ्युँ वा शरीरको कुनै पनि भाग दुखिरहनु प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । लगातार शरीरको तौल घट्दै जानु पनि प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । विना कुनै कारण छिटोछिटो शरीरको तौल घट्यो भने सम्झनुहोस्, त्यो क्यान्सरको संकेत हो । पाचन प्रक्रियाले सही ढंगले काम नगर्नु पनि प्रोस्टेट क्यान्सरको लक्षणमध्ये एक हो । प्रोस्टेट क्यान्सर हुँदा शरीरको रोग–प्रतिरोधक क्षमतामा पनि ह्रास आउँछ । यसले शरीरमा अन्य रोगको समेत खतरा बढाउँछ । प्रोस्टेटको समस्या कहिले देखापर्छ ? पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले वीर्यलाई आवश्यक पर्ने तŒव उत्पादन गर्छ । सामान्यतया ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ । यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । अन्य मुलुकमा ५५ देखि ६० वर्षको उमेरका पुरुषले अनिवार्य रूपमा रगतको पीएसए (प्रोस्टेटिक सेन्सेटिभ एन्टिजिन) परीक्षण गर्छन् । पीएसए लेभल ४ भन्दा बढी भयो भने क्यान्सर हो कि भनेर थप परीक्षण गर्नुपर्ने हुन्छ । यसको परीक्षण तथा उपचार कसरी गरिन्छ ? शुरूमा वयस्क पुरुषको रगतमा पीएसए जाँच गरिन्छ । तर, पीएसए बढ्दैमा क्यान्सर भएको छ भन्ने चाहिँ हुँदैन । यो प्रोस्टेट क्यान्सर पत्ता लगाउन गरिने सामान्य स्क्रिनिङ मात्र हो । त्यस्तै, पिसाबमा संक्रमण छ कि छैन भनेर ल्याब परीक्षण गरिन्छ । ‘युरिन कल्चर’ परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । किड्नी जाँचबाट चाहिँ प्रोस्टेटले किड्नीमा असर गरेको छ कि छैन भन्ने कुरा पत्ता लगाइन्छ । प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायोप्सी गरिन्छ । त्यसबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायोप्सी’ गर्नुपर्ने हुन्छ । नेपालमा प्रोस्टेटको बायोप्सी गर्ने उचित प्रविधि मेडिसिटीसँग मात्र छ । शिक्षण अस्पताल, महाराजगञ्जले पनि खरीद प्रक्रिया अगाडि बढाएको छ । त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ । शुरुआती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ । प्रोस्टेट क्यान्सर अरू क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन । प्रोस्टेट क्यान्सर भए÷नभएको थाहा पाउन समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ । यो रोगको समस्या नेपालमा कस्तो छ ? प्रोस्टेट क्यान्सर पहिला धनीलाई लाग्ने रोग भनिन्थ्यो । अहिले रोगको निदान सहज रूपमा हुन थालेपछि सबैलाई उत्तिकै लाग्ने रोग भन्ने पुष्टि भइसकेको छ । पुरुषमा रोगप्रति चेतनाको विकास, चिकित्सकमा ज्ञान र अनुभवको वृद्धि र पीएसए जाँचको पहुँच इत्यादि धेरै कारणले बढ्दै आएको आँकडा छ । प्रोस्टेट क्यान्सर भनेर निदान भएपछि यो रोग ग्रन्थीभित्रै सीमित छ वा त्यहाँबाट निस्केर फैलिएको छ भन्ने थाहा पाउन विभिन्न रक्त परीक्षण, एक्स–रे, सिटिस्क्यान, अल्ट्रासोनोग्राफी, सम्पूर्ण अस्थिपञ्जरको विकिरण जाँच, एमआरआईजस्ता विभिन्न महŒवपूर्ण तथा जटिल आधुनिक परीक्षणबाट उपचार तथा रोग व्यवस्थापनको रेखा कोर्न अत्यन्त ठूलो सहयोग पुग्छ । प्रोस्टेट क्यान्सर प्रमाणित बिरामीको उपचार कसरी गरिन्छ ? ८० प्रतिशतभन्दा बढी बिरामीमा प्रोस्टेट क्यान्सरले घातक रूप लिँदैन र लामो समय लगाएर विकसित हुने भएकाले शरीरमा भएका अरू नै जटिल रोगबाट रोगीको मृत्यु हुने गर्छ । उपचार गर्ने कि चिकित्सकको सक्रिय तथा निरन्तर निगरानीमा बस्ने भनेर चिकित्सक र बिरामीबीच प्रष्ट बुझ्ने गरी गहिरो परामर्श हुनुपर्छ । उपचार गर्ने हो भने कहिलेसम्म ? किन ? कुन प्रकारको ? परामर्श र विचारविमर्शको आवश्यकता पर्छ । किनभने प्रायः प्रोस्टेट क्यान्सर लागेको व्यक्तिमा अरू क्यान्सरमा जस्तो ज्यानको खतरा हुँदैन । यो रोग लागेपछि पनि व्यक्ति १० वर्ष बाँच्न सक्छ । यद्यपि, विकसित मुलुकमा खर्च बढी हुने भए पनि रोबोटबाट प्रोस्टेट क्यान्सरको उपचार गर्ने गरिन्छ । नेपालमा प्रोस्टेट क्यान्सरबाट पीडित पुरुषको संख्या बढ्दै गएको छ । दीर्घायु, स्वास्थ्यप्रति बढेको जनचेतना, विशेषज्ञ चिकित्सकको वृद्धि, ‘पीएसए रक्त परीक्षण’ र आधुनिक उपकरणको उपलब्धताले रोग समयमै निदान हुन सक्ने भएकाले बिरामी संख्या बढेको हो । प्रोस्टेट क्यान्सर ग्रन्थी बाहिर फैलिन शुरू भइसकेको भए पूर्ण उपचार हुँदैन । रोगबाट उत्पन्न हुन सक्ने पीडा र अरू जटिल परिस्थितिसँग सामना गर्न भने उपचारले सघाउँछ । प्रोस्टेट क्यान्सरको लक्षण के हो ? ‘यो प्रोस्टेट क्यान्सरको मात्र लक्षण हो’ भन्न मिल्ने कुनै विशिष्ट लक्षण छैन । खासगरेर शुरूमा प्रोस्टेट क्यान्सर लक्षणहीन हुन्छ । प्रोस्टेट क्यान्सरको प्राकृतिक विकास १०–१५ वर्ष लगाएर हुने गर्छ । थुप्रै बिरामी चाल नपाएर शरीरमा भएका अरू रोगको कारण मृत्यु वरण गर्छन् । प्रायः ६० वर्ष पुगेपछि प्रोस्टेट क्यान्सर बढी देखिन्छ । त्यो उमेरमा थुप्रै पुरुष मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा कलेजो रोग, दम तथा फोक्सो रोग, आमाशय तथा आन्द्राको रोग आदिबाट पीडित हुने सम्भावना धेरै हुन्छ । धेरैजसो बिरामी ढाड दुख्यो भनेर उपचार गर्न आउँछन् । कति त हड्डीसम्म क्यान्सर फैलिसकेको अवस्थामा आउँछन् । ढाडको परीक्षण गर्दा प्रोस्ट्रेट क्यान्सर भएको भेटिने गरिएका छन् । प्रोस्टेट क्यान्सर वृद्धि भएर ठूलो भएपछि पनि प्रोस्टेट ग्रन्थीमै सीमित छ भने त्यसले उत्पत्तिका दृष्टिले अनिश्चित मूत्र अवरोधको लक्षण मात्र देखाउँछ । जस्तोः पिसाब फेर्न गएपछि तुरुन्त नहुने र कुर्नुपर्ने, पिसाबको धारा लुलो तथा मसिनो हुने, पिसाब फेरिसकेपछि अन्तमा थोपाथोपा चुहिने, पिसाब निख्रेको पूरा आनन्द नआउने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पिसाब पोल्ने, यौन इच्छामा कमी आउने इत्यादि । प्रोस्टेट क्यान्सर ग्रन्थीबाट बाहिर फैलिएको भए कुन अंगको कार्यमा बाधा पुगेको छ, त्यसबाट रोगको लक्षण थाहा हुन्छ । प्रोस्टेट क्यान्सर मूत्रवाहिनी नलीमा फैलिए मिर्गौला फुलेर त्यसको कार्यमा ह्रास आउन सक्छ । अस्थिपञ्जरमा प्रोस्टेट क्यान्सर फैलिँदा हड्डी दुख्ने, कमजोर भएर थोरै चोटपटकबाट भाँचिने गर्छ । लिम्फसम्बन्धी ग्रन्थी र अस्थिपञ्जर प्रोस्टेट क्यान्सर फैलिने प्रमुख ठाउँ हुन् । मूत्रवाहिनी नली, मूत्रथैली, कलेजो, फोक्सो, मस्तिष्क इत्यादि ठाउँमा रोग छरिन सक्छ । प्रोस्टेट क्यान्सरको उच्चतम विकासको अवस्थामा हड्डीको चरम पीडा, रक्तअल्पता, मृगौलाको अक्षमता, अरुचि, कुपोषण, कम्मरमुनिको पक्षाघात, दिसामा समस्याजस्ता लक्षण देखिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्