arthik abhiyan
ad banner

अलैंचीको रेशालाई व्यवसायमा बदल्ने माया

Jun 10, 2019
रोजगारी
Image Not Found
author avatar आर्थिक अभियान
काशीराम बजगाईं काठमाडौं ।मुलुकका ५५ जिल्लाका करीब १० लाख कृषक अलैंची खेतीमा संलग्न छन् । तीमध्ये अधिकांशको बुझाइ अलैंचीको दाना मात्र आम्दानीको स्रोत हो भन्ने छ । ताप्लेजुङकी माया गुरुङ भने अरूभन्दा फरक छिन् । उनले अलैंचीको डाँठको रेशालाई आम्दानीको स्रोत बनाएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा उनले खोलेको ‘चन्दन फाइबर उद्योग’माअलैंचीको रेशाबाट पिरा, रुम म्याट, डोर म्याट, ढाकी, हट म्याट, राउन्ड म्याट, रनर म्याट, टी म्याट, ब्याग र पर्स लगायत वस्तु उत्पादन हुन्छन् । उनको उद्योगमा १० महिलाले रोजगारी पाएका छन् । उनीहरू फुर्सदमा उद्योगमा जान्छन् र विभिन्न वस्तु बुनेर आम्दानी गर्छन् । ‘उहाँहरू घरको सबै काम सकेर आफूले चाहेको समयमा काम गर्न आउनुहुन्छ,’ गुरुङ भन्छिन्, ‘यस्तो कामबाट महीनामासात हजार रुपैयाँभन्दा बढी आम्दानी गर्नुहुन्छ ।’ वस्तु तयार पारेको संख्याअनुसार उनीहरूले पारिश्रमिक पाउँछन् । उद्योग, व्यापारका प्रदर्शनीहरू आयोजना हुने सिजनमा ती महिलाले जनही मासिक रू. २५ हजारसम्म आम्दानी गर्छन् । उद्योगबाट मासिक १ लाखभन्दा बढीको कारोबार हुने गरेको छ ।मासिक रू. ५० हजारसम्म नाफा हुने गरेको उनले जानकारी दिइन् । गुरुङका बाआमाले अलैंचीको रेशाबाट गुन्द्री र दाम्लो बाट्ने गरेका थिए । यही बुनाइ व्यावसायिक बन्ला भनेर मायाले पनि सोचेकी थिइनन् । २०६७ सालमा काठमाडौं आउँदा उनले ललितपुरको कुपण्डोलमा घाँसले बुनेर बनाएका विभिन्न कलात्मक वस्तु देखिन् । घाँससमेत बिकेको देखेर उनलाई अलैंचीको रेशाको प्रयोग गरेर व्यवसाय गर्न मन लाग्यो । केही वस्तुको उत्पादन गरी प्रदर्शनी र विक्री गरेपछि सकारात्मक प्रतिक्रिया पाइन् र २०६८ सालमै उद्योग दर्ता गराइन् । तर, अलैंचीको रेशाको प्रयोजनबारे ज्ञान नहुँदा उनले शुरूमा घाटा बेहोर्नुपर्‍यो । ‘शुरूमा कस्तो अलैंची काम लाग्छ भन्ने थाहा नपाउँदा ट्रकका ट्रक अलैंची खेर गयो,’ उनी भन्छिन् । धेरैपछि मात्र गाँठा भएको अलैंची काम नलाग्ने रहेछ भनेर उनले बुझिन् । अलैंचीको रेशाबाट बनेका वस्तु जति पुरानो हुँदै गए, त्यति नै गाढा रंग आएर नयाँ र आकर्षक देखिन्छन् । त्यस्तै पुराना वस्तु नै बढी लोकप्रिय भएको उनी बताउँछिन् । २०६८ सालमा बुनेको ब्याग देखाउँदै उनले भनिन्, ‘यसको रेशा कुहिन्न, केही दाग लागिहालेछ भने पनि धोएर हटाउन सकिन्छ ।’ उनलाई अलैंचीको रेशाबाट बन्ने सामानको ब्रान्डिङ गर्न झण्डै ७ वर्ष लाग्यो । २०७४ सालपछि भने उनलाई भ्याइनभ्याइ छ । देशका विभिन्न ठाउँबाट आएका अर्डरअनुसार सामान बनाउन उनलाई फुर्सद छैन । हाल काठमाडौंका विभिन्न पसलमा उनको उद्योगबाट उत्पादित अलंैचीका रेशाबाट बनेका वस्तु पाइन्छन् । काठमाडौंका व्यवसायीको सम्पर्कमा उनले ताप्लेजुङमा उत्पादित सामान बजारमा पुर्‍याइरहेकी छन् । व्यवसाय विस्तारका क्रममा उनी भारतको देहरादुनसम्म पुगेकी छन् । तर, उनले बनाएका सामान व्यवसायीले भारत, पाकिस्तान र कतार लगायत देशमा पनि निर्यात गर्दै आएका छन् । उनी हरेक दिनजसो के नयाँ उत्पादन गर्नेबारे पनि सोच्छिन् । कहिले बजारमा देखिने वस्तु हेरेर उनी त्यसअनुसारको डिजाइन बनाउँछिन् भने कहिले अर्डर गरेको डिजाइनअनुसार पनि नयाँ सामान बुन्ने गर्छिन् । युवावर्गलाई आफ्नो संस्कृति झल्किनेगरी स्वदेशी वस्तुको प्रयोगमार्पmत उद्यम गर्न अग्रसर हुनुपर्ने उनी बताउँछिन् । उनी आफ्ना सामानहरूमा पनि संस्कृति झल्किने गरी डिजाइन गर्न रुचाउँछिन् । उनकाअनुसार नेपालजस्तो देशमा संस्कृति प्रस्तुत हुनेगरी वस्तु उत्पादन गरिने उद्योगको सम्भावना अत्यधिक छ ।
प्रतिक्रिया दिनुहोस्