arthik abhiyan
ad banner

१०–१५ मिनेटभित्रै हेलिकोप्टरलाई हेली एम्बुलेन्समा परिणत गरिन्छ

Jun 14, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar (अस)
विश्वमा प्रि–हस्पिटल केयरको शुरुआत नेपोलियनको युुद्धकालमा भएको विश्वास गरिन्छ । उनले युद्धमा जाँदा चिकित्सा टोलीलाई लगेर प्रि–हस्पिटल केयर दिलाउँथे । नेपालमा भने अझै पनि प्रि–हस्पिटल केयरको जग राम्रोसँग बसिसकेको छैन । अहिले पनि सामान्य बेड र चालक मात्र भएका एम्बुलेन्सबाट घाइते र बिरामीलाई अस्पताल पुर्‍याउने गरिन्छ । एम्बुलेन्समा राखेरै प्रि–हस्पिटल केयर दिन सके धेरैले अस्पताल आउँदा आउँदै ज्यान गुमाउनुपर्दैन । यसैलाई दृष्टिगत गर्दै मेडिसिटी अस्पतालले प्रि–हस्पिटल केयर डिपार्टमेन्ट नै खडा गरेर स्थल तथा हवाई यातायातमार्फत प्रि–हस्पिटल केयर सेवा दिँदै आएको छ । यो डिपार्टमेन्टको नेतृत्व डा. सञ्जय कार्कीले लिएका छन् । हस्पिटलले यसलाई इमर्जेन्सी मेडिसिन/इमर्जेन्सी मेडिकल सर्भिस/हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस नाम दिएको छ । डा. कार्कीले इमर्जेन्सी मेडिसिनमा एमडी गरेका छन् । उनले स्पेन र फ्रान्सबाट यूरोपियन अफिसियल हेल्थ एन्ड वेलफेयरसम्बन्धी डबल मास्टर्स र एभिएशन मेडिसिनमा जर्मनीबाट डिप्लोमा पनि गरेका छन् । हेलिकोप्टरबाट क्रिटिकल बिरामीको सेवामा करीब ६ वर्ष बिताइसकेका डा. कार्कीलाई नेपालमा पहिलोपटक हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरू गरेको श्रेय जान्छ । उनले बेलायतबाट सन् २०१४ को डिसेम्बर महीनामा ‘डेभिड विल एक्स्ट्रिम मेडिसिन अवार्ड’ र सन् २०१७ को मार्चमा अमेरिकामा ‘ईएमएस टेन इनोभेटर्स अफ द इयर २०१६ अवार्ड’ समेत प्राप्त गरेका छन् । प्रस्तुत छ, प्रि–हस्पिटल केयरका विविध विषयमा आर्थिक अभियानका प्रमुख समाचारदाता पूर्णभक्त दुवालले डा. कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश : प्रि–हस्पिटल केयर के हो ? हस्पिटल छिर्नुभन्दा पहिलाको उपचार नै प्रि–हस्पिटल केयर हो । क्रिटिकल बिरामीलाई हस्पिटलको इमर्जेन्सी कक्षसम्म सुरक्षित तवरले ल्याउन बाटोमा गरिने उपचारलाई प्रि–हस्पिटल केयर भनिन्छ । क्रिटिकल बिरामीलाई अवस्थाअनुसार डाक्टर एवं पारामेडिक्सहरूले विभिन्न उपचार गरेर वा उपचार गर्दै थप उपचारका लागि सम्बन्धित विशेष हस्पिटलको कोठासम्म पु¥याउनु नै प्रि–हस्पिटल केयर हो । यसलाई इमर्जेन्सी मेडिकल सर्भिस (ईएमएस) पनि भनिन्छ । ईएमएस ग्राउन्ड इमर्जेन्सी मेडिकल सर्भिस र हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस गरी दुई प्रकारको हुन्छ । नेपालमा यो सेवा कसरी अगाडि बढिरहेको छ ? हामीकहाँ अस्पताल, समाज, क्लबलगायतले एम्बुलेन्स सेवा दिँदै आएका छन् । तर त्यो एम्बुलेन्स चालकको मातहतमा हुन्छ । त्यसमा अत्यावश्यक पूर्वाधार नै हुँदैन । कतिपयमा अक्सिजन नै हुँदैन । वास्तवमा एम्बुलेन्स भनेपछि त्यसमा स्वास्थ्यकर्मीसहित अत्यावश्यक प्राथमिक उपचार सामग्री हुनुपर्छ । ९९ प्रतिशत एम्बुलेन्समा पारामेडिक्स हुँदैन । विकसित मुलुकमा भए ४ वर्षको कोर्स गरेका एचए वा सीएमए एम्बुलेन्समा अनिवार्य गरिएको हुन्छ । यद्यपि सन् २०११ देखि नेपाल एम्बुलेन्स सर्भिसले पारामेडिक्ससहित २४ सै घण्टा सेवा दिइरहेको छ, जसमा अक्सिजन र मेडिसिन पनि राखिएको छ । १०२ मा फोन गर्नेबवत्तिकै नजीकै रहेको एम्बुलेन्समार्फत सेवा दिइन्छ । प्रि–हस्पिटल केयर डिपार्टमेन्ट नै राखेर इमर्जेन्सी मेडिकल सर्भिस भने नेपाल मेडिसिटी अस्पताल, ह्याम्स र ग्रान्डीले मात्र दिइरहेका छन् । अहिले धुलिखेल अस्पतालले पनि यो प्रयास गरिरहेको छ । इमर्जेन्सी मेडिकल सर्भिस (ईएमएस) कति प्रकारका हुन्छन् त ? यो खास गरी तीन प्रकारका हुन्छन् । फ्रान्को जर्मन मोडल, एंग्लो अमेरिकन मोडल र हाइब्रिड मोडल । फ्रान्को जर्मन मोडलको ईएमएसमा सुविधासम्पन्न एम्बुलेन्स हुन्छ । साथमा यसमा चिकित्सक र पारामेडिक्स पनि हुन्छ । यो मोडल फ्रान्स र जर्मनीबाट शुरू भएको हो । यो मोडलको इमर्जेन्सी मेडिकल सर्भिसमा एम्बुलेन्स भित्र डाक्टर, पारामेडिक्स, आवश्यक सम्पूर्ण उपकरण र सुविधाको व्यवस्था गरिएको हुन्छ । यसले बिरामीलाई घटनास्थलमा मेडिकल इन्टरभेन्शन गरेर स्टेबल बनाएपछि अस्पताल लैजानुपर्ने मान्यता राख्छ । यूरोपमा धेरैजसो यो मोडल छ र यसमा इमर्जेन्सी डिपार्टमेन्टमा काम गर्ने चिकित्सकको संलग्नता हुन्छ । एंग्लो अमेरिकन मोडलमा अलि अलि उपचार गरेर बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्‍याइन्छ । यो मोडलको एम्बुलेन्समा चिकित्सक हुँदैन । यसमा पारामेडिक्सहरूको अध्ययन उच्च तहको हुने भएकाले धेरैजसो अवस्थामा चिकित्सक रहँदैन । यो मोडलका पारामेडिक्सहरूले ४–५ वर्ष लगाएर ईएमटी, ईएमटी बेसिक, ईएमटी एड्भान्स्ड पारामेडिक्स कोर्स गरेका हुन्छन् । त्यसैले पारामेडिक्सहरूले नै ईएमएस सेवा नियन्त्रण गरेका हुन्छन् । हाइब्रिड मोडलमा आवश्यकता अनुसार एम्बुलेन्समा चिकित्सक बस्ने वा नबस्ने हुन्छ । अस्पतालमा आएको फोनकलको आधारमा चिकित्सक जाने कि नजाने भन्ने निक्र्योल गरिन्छ । हृदयाघात, ब्रेन ह्यामरेज, जटिल ट्रमा, अचेत अवस्थाका बिरामी छन् भने चिकित्सक जान्छन् । यसमा २४ सै घण्टा पारामेडिक्स रहेको हुन्छ । बिरामीलाई आवश्यक परेको बेलामा चिकित्सक एम्बुलेन्समा रहने र नपरेको अवस्थामा पारामेडिक्सले व्यवस्थापन गर्ने हाइब्रिड मोडलको ईएमएस हो । एम्बुलेन्स पनि बीएलएस, एसीएलएस लगायत विभिन्न प्रकारमा वर्गीकरण गरिएको हुन्छ । एसीएलएस एम्बुलेन्समा भेन्टिलेटरसहितको एड्भान्स कार्डियाक लाइफ सपोर्ट (एसीएलएस) दिन मिल्छ । यस प्रकारको एम्बुलेन्स सेवा नेपालमा नेपाल मेडिसिटी, ग्रान्डी, ह्याम्स र धुलिखेल हस्पिटलमा मात्र उपलब्ध छ । अब हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचईएमएस) का बारेमा केही बताइ दिनुहुन्छ कि ? हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस अहिले धेरै लोकप्रिय हुँदै आएको छ । नेपालजस्तो डाँडाकाँडा भएको ठाउँमा यो अत्यावश्यक छ पनि । सन् १९६७÷६८ तिर एयरजरम्याट स्विट्जरल्यान्डले हिमाली क्षेत्रबाट बिरामी बोक्न थालेको थियो भने जर्मनीको एडीएसीले हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरू गरेको थियो । अमेरिकाको पनि विभिन्न अस्पतालमा बिरामी ट्रान्सफर गर्न हेलिकोप्टरको प्रयोग सोही दशकमा थालिएको थियो । यसको शुरुआत खासगरी ट्रमाका लागि फोकस गरिएको थियो । नेपालमा भने हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरू भएको ६ वर्ष जति भयो । सन् २०१३ अगाडिसम्म बिरामीको उद्धार गर्नुपर्दा हेलिकोप्टर जान्थ्यो र क्याप्टेनले उद्धार गरी ल्याइन्थ्यो । सन् २०१३ को अक्टोबरमा ग्रान्डी इन्टरनेशनल अस्पतालले हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस शुरू गरेको थियो । अस्पतालको छतमा हेलिप्याड बनाउने पहिलो काठमाडौंको बल्खुस्थित वयोधा हस्पिटल हो भने दोस्रो ग्रान्डी, तेस्रो मेडिसिटी, चौथो झापाको बीएनसी मेडिकल कलेज र पाँचौं ह्याम्स हस्पिटल हो । बुटवलको क्रिमसन हस्पिटलमा छतमा नभए पनि ग्राउन्डमा राम्रो हेलिप्याड छ । ग्राउण्डमा झैं यसमा पनि विभिन्न मोडल छन् कि ? खासगरी यसमा पनि विभिन्न मोडल छन् । ट्रेडिशनल मोडल, कम्युनिटी मोडल, नेशनल मोडल र अस्पताल मोडल । ट्रेडिशनल मोडलमा हस्पिटल र हेलिकोप्टर अपरेटर्सबीच सम्झौता भएर आवश्यक परेको बेलामा बिरामीको उद्धार गरिन्छ । कम्युनिटी मोडलमा स्वतन्त्र निकायले हेलिकोप्टर र मेडिकल क्य्रू्र प्रदान गरी अस्पतालमा बिरामी ल्याउने गरिन्छ । नेशनल मोडलमा सरकारले एचईएमएस सेवा उपलब्ध गराउँछ । आकस्मिक दुर्घटनामा परी क्रिटिकल अवस्थाका बिरामी उद्धारका लागि राष्ट्रले सञ्चालनमा ल्याएको हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिसलाई नेशनल मोडल भनिन्छ । अस्पताल मोडलमा हेलिकोप्टर र मेडिकल क्य्रू दुवै अस्पतालले नै उपलब्ध गराउँछ । मेडिसिटीले कसरी हेलिकोप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचईएमएस) सेवा दिइरहेको छ त ? नेपालमा डेडिकेटेड हेलिकोप्टर एम्बुलेन्स छैन । त्यसैले मेडिसिटी अस्पतालमा एचईएमएसका लागि कल आएमा उक्त कलको प्रतिक्रिया इमर्जेन्सी मेडिसिन डिपार्टमेन्ट वा प्रि–हस्पिटल केयरले दिन्छ । यसैको आधारमा एयरपोर्टमा उपलब्ध हेलिकोप्टर मगाइन्छ । हेलिकोप्टरले यसैको आधारमा अगाडिको सीट निकालेर र पछाडिको सीट फोल्ड गरी खाली गरेर अस्पतालमा ल्याइन्छ । यसबीचमा प्रि–हस्पिटल केयर अन ड्युटी चिकित्सक÷नर्स÷पारामेडिक्स तयारी अवस्थामा रहिसकेका हुन्छन् । यही दौरानमा प्रि–हस्पिटल केयर अन ड्युटी चिकित्सकले जुन अस्पताबाट बिरामीलाई ल्याउनुुपर्ने हो, उक्त अस्पतालका सम्बन्धित चिकित्सकसँग बिरामीको अवस्थाबारे जानकारी पनि लिइसकेका हुन्छन् । अस्पतालमा हेलिकोप्टर आएको १०–१५ मिनेटभित्र हाम्रा इमर्जेन्सी उद्धारका प्राविधिकहरूले भेन्टिलेटर, अक्सिजन स्ट्यान्ड, मोनिटर, बिरामी बोक्ने ब्याग, औषधि दिने यन्त्र, मेडिसिन बक्स र बिरामीलाई सुताउने पोजिशनको तत्काल व्यवस्थापन गरिसक्छ । तर यी सबै प्रक्रिया शुरू गर्नुअघि बिरामी पक्ष र हेलिकोप्टर अपरेटरबीच हेलिकोप्टर शुल्कका विषयमा प्रस्ट कुराकानी भई आवश्यक निर्णय लिइन्छ । नेपालमा प्रि–हस्पिटल केयरको अवस्था कस्तो छ ? यसका लागि के के सुविधा हुनुपर्छ ? नेपालमा प्रि–हस्पिटल केयरबारे धेरैले बुझेका छैनन् । प्रि–हस्पिटल केयरको कन्सेप्ट र डिपार्टमेन्ट हुनेमा ग्रान्डी, मेडिसिटी, ह्याम्स र धुलिखेल हस्पिटल पर्छन् । पहिलोपटक प्रि–हस्पिटल केयरको डिपार्ट खोलेको हस्पिटल ग्रान्डी हस्पिटल हो । प्रि–हस्पिटल केयरका लागि इमर्जेन्सी डिपार्टमेन्ट बलियो हुनुपर्छ र यसलाई समयसापेक्ष बलियो पार्दै लैजानुपर्छ । दक्ष जनशक्ति हुनुपर्छ, पूर्वाधार र अन्य उपकरण हुनुपर्छ । पोर्टेबल डिभाइस र मोनिटरहरू हुनु आवश्यक छ । यसरी उद्धार गरिरहँदा के–के चुुनौतीहरू महसूस गर्नुभएको छ ? मेडिसिटी अस्पतालमा चौबीसै घण्टा हवाई उद्धारका लागि मेडिभ्याक टिम उपलब्ध भए तापनि विविध कारण ढिलाइ हुुन सक्छ, जस्तै– हिमाल आरोहणका लागि अनुुकूल मौसममा हेलिकोप्टरको उपलब्धता कम हुन सक्छ । भौगोलिक जटिलता पनि एउटा समस्या हो । साथै मौसमी अस्थिरता र नाइट भिजन हेलिकोप्टरको कमीले राति मेडिकल उद्धार हुने सम्भावना न्यूनतम छ । अन्य विकसित राष्ट्रहरूमा जस्तै नेपालमा हेली एम्बुलेन्स नहुनुु र यो सेवा सबै वर्गको पहुँचमा नहुनु अर्को विडम्बना हो । एकातिर देशमा भौगोलिक विकटता रहनुु र हेलिकोप्टरबाट उद्धारको आवश्यकता दिनानुदिन बढ्दै जानुले अबको समयमा स्वास्थ्य उपचारका सरोकारवाला निकायहरूले राष्ट्रियस्तरमै यसका लागि आवश्यक कदम चाल्नुुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्