arthik abhiyan
ad banner

कर्जाको दोहोरोपनाले जोखिम बढ्दै गएको छ

Jun 17, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar आर्थिक अभियान
केशवकुमार पौडेल २६ वर्षदेखि लघुवित्तको क्षेत्रमा आबद्ध रहँदै आएका छन् । यो क्रममा उनले तत्कालीन निर्धन उत्थान बैंकमा २२ वर्ष काम गरे । त्यसपछि कालिका लघुवित्त वित्तीय संस्थामा करीब डेढ वर्ष र इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा करीब ६ महीना प्रमुख कार्यकारी अधिकृत रहे । प्रस्तुुत छ, हाल सबैको लघुवित्त वित्तीय संस्थामा २ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत पौडेलसँग लघुवित्त वित्तीय संस्थाको सेरोफेरोमा रहेर आर्थिक अभियानका दीपेश पौडेलले गरेको कुराकानीको सार : सबैको लघुवित्त वित्तीय संस्थाको अवस्था कस्तो छ ? यो लघुवित्त संस्था २०७४ वैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो । संस्थाले नेपाल राष्ट्र बैंकबाट २०७४ असार २५ मा राष्ट्रियस्तरको वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयबाट २०७४ असार ३० गते कारोबार गर्न स्वीकृति पाएसँगै संस्थाले तनहुँको डुम्रे शाखाबाट आफ्नो सेवा शुरू गरेको हो । कारोबार थालेको २ वर्ष पुग्दा नपुग्दै २२ जिल्लामा ३८ ओटा शाखामार्फत संस्थाले करीब २९ हजार ग्राहकलाई वित्तीय सेवा पुर्‍याएको छ । उठाउन बाँकी कर्जा रू. १ अर्ब ५६ करोड छ भने आफ्ना सदस्यबाट रू. ३८ करोड ७६ लाख बचत संकलन भएको छ । वित्तीय सेवाको पहुँच कम भएका विपन्न वर्गलाई लक्षित गरेर शाखा सञ्चालन गरेका छौं । आगामी दिनमा समेत सोहीअनुसार शाखा स्थापना गर्ने सोचमा छौं । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याई रोजगारी सृजना गर्नुका साथै त्यहाँका विपन्न परिवारको आर्थिक र सामाजिक विकासमा संस्थाले सहयोग पुर्‍याउँदै आएको छ । समग्रमा यस लघुवित्त वित्तीय संस्थाको अवस्था राम्रो छ । लघुवित्त संस्थाहरूमा के कस्ता चुनौती छन् ? लघुवित्तको मूल मर्म अन्य बैंक तथा वित्तीय संस्थामा सहजै पहुँच नभएका समुदायलाई सामूहिक दायित्व, आपसी विश्वास, इमानदारीको आधारमा विनाधितो कर्जा प्रवाह गरी नियमित रूपमा कर्जा असुली गर्दै जानु हो । तर पछिल्लो समयमा लघुवित्त संस्थाहरू खुल्ने क्रम बढेकाले एउटै व्यक्तिले धेरै संस्थाबाट कर्जा लिने गरेका छन् । यसले आवश्यकताभन्दा बढी कर्जाको भार भई समयमा किस्ता तिर्ने नसक्ने अवस्था आएको छ । समूहमा आबद्ध भएका सदस्यले ऋण लिने गरे पनि आर्यआर्जनतर्फ लगानी नगर्दा अर्को समस्या देखिएको छ । लघुवित्त संस्थामा विभिन्न जटिल समस्या देखिएका छन् । यसलाई समयमै न्यूनीकरण गर्नुपर्छ । लघुवित्त संस्थाको मुख्य उद्देश्य गरीबी न्यूनीकरणका साथै आयआर्जन र आत्मनिर्भरता बढाउनु हो । तर लघुवित्त संस्था बढेसँगै अस्वस्थ प्रतिस्पर्धा पनि देखिएको छ । यस्ता संस्थाहरूलाई अहिले कर्जाको गुणस्तर कायम राख्नु मुख्य चुनौती बनेको छ । त्यस्तै ग्राहक सदस्यलाई कर्जा लगानी गर्न आवश्यक रकम अन्य बैंक तथा वित्तीय संस्थाबाट चर्को ब्याजदरमा लिनुपर्ने बाध्यता छ । केही बैंकले त १४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसबाट लघुवित्त संस्थाहरूको आम्दानी ब्याज तिर्न नै खर्च भएको छ । लघुवित्त संंस्थाहरूले प्रवाह गर्ने कर्जामा जोखिम कत्तिको छ ? लघुवित्त संस्थाले विश्वास गर्ने भनेकै समूहलाई हो । त्यसैले समूहमार्फत नै विनाधितो कर्जा प्रवाह हुन्छ । समूहको जिम्मेवारीमा सदस्यको परियोजना, क्षमता, विगतको कर्जाको अनुशासन, समूह अनुशासन र विश्वासको आधारमा कर्जा लगानी गर्ने हो । त्यसैले वितरित कर्जामा जोखिम हुनु स्वाभाविक देखिन्छ । यसभित्र दुई किसिमको ग्राहकले कर्जा पाउँछन् । एउटा, जीविकोपार्जन मात्र गर्ने र अर्को उद्यमशील बन्ने । उद्यमशीलभन्दा पनि जीविकोपार्जन गर्ने ग्राहकको लगानी बढी जोखिममा हुने गर्छ । यस्तै अर्को मुख्य समस्या कर्जाको दोहोरोपना हो । एउटै ग्राहकले धेरै लघुवित्त संस्थासँग कारोबार गर्दा कर्जा उत्पादन, व्यवसायमूलक क्षेत्रमा उपयोग नगरी उपभोगतर्फ गरेको देखिन्छ । यस्तो अवस्थामा कर्जा प्रवाह गर्दा केही हदसम्म जोखिम हुने गरेको छ । लघुवित्त संस्था मर्जर प्रक्रियामा रहेको अवस्थामा तपाईंको धारणा के छ ? मर्जर सम्बन्धमा यस लघुवित्तको आगामी योजना के छ ? नेपालमा लघुवित्त संस्था आवश्यकताभन्दा बढी भइसकेका छन् । संस्थाहरू जति बढी हुन्छन्, त्यति नै बढी विकृति बढ्दै जान्छ । सबै संस्थाहरूलाई छिटो नाफा चाहिएको छ । नाफा गर्न बढी कर्जा लगानी गर्दा आवश्यकताभन्दा बढी भयो भने दुर्घटना हुन्छ । किनभने ठाउँ त्यही हो, मान्छे तिनै हुन् । त्यसैले नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको पूँजी वृद्धि गरी मर्जरमा जान लगाई एउटा साइजमा ल्याउनैपर्छ । यसले संस्था बलियो हुन्छ । संख्या घटेपछि यस्ता संस्थामा सुधार पनि आउँछ । सबैको लघुवित्तको मर्जर सम्बन्धमा अहिले हाम्रो चुक्तापूँजी रू. ११ करोड २० लाख छ । छिट्टै रू. ५ करोड ३० लाखबराबरको ५ लाख ३० हजार कित्ता सर्वसाधारणमा शेयर निष्कासन हुनेछ त्यसपछि संस्थाको चुक्तापूँजी रू. १६ करोड ५० लाख पुग्छ । अनौपचारिक रूपमा सुन्दा राष्ट्रिय स्तरका लघुवित्त संस्थाहरूको चुक्तापूँजी कम्तीमा रू. ४० करोड पुग्छ भन्ने छ । संस्थाहरू सक्षम भई आफ्नो कारोबार सञ्चालन गर्न यति पूँजी आवश्यक नै हुन्छ । त्यसैले मर्जर सम्बन्धमा हाम्रो पहिलो प्राथमिकता भनेको कुनै संस्थालाई प्राप्ति गरी पूँजीवृद्धि गर्नु हो । यस सम्बन्धमा संस्थापक शेयरधनीको भेलाले स्पष्ट रूपमा म्यान्डेटसमेत दिइसकेको छ । तर पनि कर्मचारी व्यवस्थापन, कर्जाको गुणस्तर आदि पक्षलाई मुख्य रूपमा ध्यान दिई समान प्रकृतिका संस्थासँग मर्जर गर्न पनि तयार छौं । लघुवित्त संस्थाहरूलाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला ? लघुवित्त संस्थाहरूलाई अझै प्रभावकारी बनाउन सर्वप्रथम कर्जा सूचना केन्द्रको प्रभावकारी कार्यान्वयन गरी कर्जाको दोहोरोपना कम गर्नुपर्छ । ग्राहकलाई आवश्यकताअनुसार कर्जा प्रवाह गरी उद्यमशील बनाउनुपर्ने आवश्यकता छ । ग्राहकको आवश्यकता र बजारको सम्भावनाअनुसार उनीहरूलाई उद्यमशील बनाउने तालीम प्रदान गर्नुपर्छ । शिक्षा, स्वास्थ्य लगायत अन्य कार्यक्रमसँग समन्वय गरेर लघुवित्त संस्थाहरू अगाडि बढ्न सके प्रभावकारिता पनि बढ्छ । त्यो सबै कार्य लघुवित्त संस्थाले एक्लैले गर्न सक्ने अवस्था छैन । किनकि त्यसका लागि आर्थिक स्रोत र दक्ष प्राविधिक जनशक्ति महŒवपूर्ण हुन आउँछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकाय तथा अन्य गैरसरकारी संस्थाहरूको कार्यक्रम र लघुवित्तबीच समन्वय हुनुपर्छ । यसरी समन्वयमा अगाडि बढ्न सके ग्राहकको जीवनमा ठूलो परिवर्तन ल्याउन समेत टेवा पुग्छ ।
प्रतिक्रिया दिनुहोस्