arthik abhiyan
ad banner

ढाड दुख्नुको कारण फाइब्रोमाएल्जिया र मेरुदण्डको बाथ पनि हुन सक्छ

Jun 21, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar (अस)
कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ । एउटै ‘पोजिशनमा’ बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । ढाडलाई अफ्ठ्यारो गरेर राखिराख्यो भने मांसपेशी थाकेर ढाड दुखाइ शुरू हुन्छ । सामान्यतया गर्दनको तल र नितम्बबीचको भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशीलाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ । यस्तो दुखाइ मेरुदण्डमा जहाँ कहीँ हुन सक्छ । प्रस्तुत छ, ढाड दुखाइ, बाथ र फाइब्रोमाएल्जिया रोगमा केन्द्रित रहेर आर्थिक अभियानका पूर्णभक्त दुवालले डा. श्वेता नकर्मीसँग गरेको कुराकानीको सम्पादित अंश : ढाड दुख्ने कारण के के हुन् ? शरीर र अंगले थेग्न नसक्ने काम गर्दा दुखाइको समस्या आउँछ । यसैगरी लामो समयसम्म एउटै स्थानमा बसेर उठ्दा पनि ढाड दुख्ने गर्छ । यसरी भएको दुखाइ २४ घन्टासम्म मात्र रहन्छ । ढाड दुख्नुको अर्को कारण बाथ पनि हुन सक्छ । बाथरोगले मांसपेशी र जोर्नी दुखाउँछ । मोटोपनले पनि ढाड दुख्ने समस्या ल्याउँछ । हड्डीले नसा च्यापिएका कारण पनि ढाड दुख्छ । उमेर बढ्दै गएपछि हड्डी खिइएर पनि दुख्ने समस्या देखापर्छ । उमेर ढल्किँदै जाँदा शरीरका हड्डी पातला हुँदै जान्छन् । यो समयमा हर्मोन असन्तुलन हुने गर्छ । यसले मांसपेशीको दुखाइ बढाउँछ । ३०–३५ वर्षको उमेर भएपछि मेरुदण्डको हड्डीको बीचमा ‘डिस्क’ कमजोर हुन्छ र त्यहाँबाट फुत्किएर बाहिरी ‘स्पाइनल क्यानल’मा आउन सक्छ । यसकारण नसा च्यापिएर ढाडमा समस्या हुन्छ । ढल्किँदो उमेरमा हड्डी खिइएको भागमा नयाँ हड्डी पलाउने गर्छ र नसा च्यापिएर पनि ढाड दुख्छ । मेरुदण्डभित्रको स्पाइनल क्यानल लिगामेन्ट बाक्लो हुने तथा सोही ठाउँमा नयाँ हड्डी आउने हुँदा साँघुरो भएर नसा च्यापिने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसलाई ‘स्पाइनल इस्टेनोसिस’ भन्छन् । ढाड दुखेमा के गर्नुहुन्छ र के गर्नु हुँदैन ? हाड–जोर्नीलाई चलायमान बनाइराख्नु पर्छ । नियमित व्यायाम गर्नुपर्छ । साथै ढाडको विशेष व्यायाम पनि गर्नुपर्छ । लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर खानुहुँदैन । यसले मिर्गौला खराब हुन सक्छ । रक्सी र हाई प्रोटिनयुक्त खानासमेत खानु हुँदैन । ढाड दुख्नुका अन्य कारण के के छन् ? हड्डीको संक्रमण, हड्डीमा क्याल्सियमको कमीले हड्डी कमजोर भएर, हड्डी मक्किने अस्टियोपोरोसिसले गर्दा पनि ढाड दुख्न सक्छ । त्यस्तै भार अनुपयुक्त तरीकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीका कारण पनि ढाड दुख्छ । मिर्गौलाको पत्थरी, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा दुखाइ हुन सक्छ । बाथरोगका कारण समेत ढाड दुख्छ । बाथरोगका बारेमा पनि अलिकति चर्चा गरौं न ? बाथरोग विभिन्न रोगहरूको संयोजन हो । यसभित्र सयभन्दा बढी रोग पर्छन् । बाथरोग भनेको अटोइम्युन प्रक्रिया हो । शरीरको रोग निरोधक शक्तिले शरीरको अंगलाई असर गर्दा बाथरोग हुने गर्छ । हाम्रो शरीरमा बाहिरी रोगसँग लड्ने क्षमता हुन्छ । जब यो क्षमतामा गडबडी आउँछ, तब शरीरका कोषहरूले आफ्नै अंगलाई नष्ट गर्न थाल्छन् । बाथरोग लाग्दा खासगरी मिर्गौला, मुटु, आँखा र हड्डीलाई असर गर्छ । नेपालमा बाथरोगको अवस्था कस्तो छ ? पहिलेको तुलनामा बाथरोग बढ्दो छ । पहिला बाथरोग भए पनि पहिचान हुँदैनथ्यो । किनकि पहिले नेपालमा बाथरोग विशेषज्ञ नै थिएनन् । अन्य जनरल फिजिसियन तथा हाडजोर्नी विशेषज्ञले नै यसको उपचार गर्थे । विश्वको तथ्यांक हेर्ने हो भने विश्वको कुल जनसंख्याको १० प्रतिशत मानिसलाई बाथरोग हुन्छ । बाथरोग कति प्रकारका हुन्छन् ? सयौं प्रकारका हुन्छन् । नेपालमा बढी मात्रामा देखिने बाथरोग भने पाँच किसिमका छन् । गठिया बाथ, मेरुदण्डको बाथ, युरिक एसिडको बाथ, कुरकुरे हड्डी खिइने बाथ र मांशपेसीको बाथ । बाथले कुन–कुन अंगमा असर गर्छ ? सबै बाथले जोर्नीसहित सबै अंगमा असर गर्छ । मुख्यगरी जोर्नीमा असर गर्छ । आँखामा असर गर्न सक्छ । आँखा रातो हुने, मुखमा घाउ आउने, छालामा रातो–रातो डाबर आउने, कपाल झर्ने, घाममा जाँदा बढी पोल्ने, मुटुमा पानी जम्ने, मिर्गौलामा असर गर्ने, फोक्सोमा पानी तथा जाली भरिने र मस्तिष्कमा असर पु¥याउने गर्छ । बाथका लक्षणहरू के के हुन् ? गठिया ४० वर्ष कटिसकेका महिला तथा पुरुषलाई हुन्छ । हात–खुट्टाका साना–साना जोर्नीहरू दुख्ने, सुन्निने, बिहान उठ्दा अरठ्ठ हुने, राम्रोसँग मुठ्ठी कस्न नसक्ने तथा आँखा रातो हुने गर्छ । मेरुदण्डको बाथ ४५ वर्षभन्दा माथि उमेरका पुरुषहरूलाई हुन्छ । मेरुदण्डको बाथमा बिहान ३–४ बजेतिर एकदमै दुख्ने, कोल्टो फेर्न गाह्रो हुने, कोल्टो फेर्न अफ्ठ्यारो र शरीर अरठ्ठ हुने आदि लक्षण देखिन्छ । मुख्य रूपमा चाहिँ मेरुदण्डमा असर गर्छ । साथै शरीरका अरू अंगलाई पनि समात्छ । शरीरका अन्य जोर्नी सुन्निने र दुख्ने हुन सक्छ । युरिक एसिडको बाथ ४० कटेका पुरुषमा यो बाथ बढी देखिन्छ । एउटा वा दुईओटा जोर्नी रातो भएर सुन्निन्छ । यो रातारात बढेर चरम दुखाइ हुन्छ । पहिलो १२ हप्तामै चरम दुखाइ हुन्छ । पछिको ४र ५ दिनमा आफै दुखाइ कम हुन्छ । यस्तो बेला औषधि खाए पनि नखाए पनि दुखाइ हराउँछ । लुपस बाथ महीनावारी हुने उमेरका महिलामा बढी हुन्छ । कपाल झर्ने, अनुहारमा रातो दाग देखापर्ने, घाममा जाँदा पोल्ने, चिलाउने, मुखको तालुमा बारम्बार घाउ आउने, मुटु र फोक्सोमा पानी जम्ने तथा मिर्गौलामा समस्या आउने पनि हुन सक्छ । मांशपेसीको बाथ (फाइब्रोमाल्जिया) पनि महिलालाई नै बढी हुन्छ । यसमा शरीरका विभिन्न ठाउँका मांशपेसी दुख्ने गर्छ । मुख्यगरी घाँटी तथा अन्य भागका मांसपेशी कटकटी खाने, बिहानै आलस्य लाग्ने, सधैं थकाइ लाग्ने, निद्रा राम्रोसँग नलाग्ने यसका मुख्य लक्षण हुन् । मांसपेशी दुख्ने फाइब्रोमाएल्जियाबारे पनि केही बताइदिनुहोस् न ? ३ महीनाभन्दा बढी समयसम्म शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसूस हुने रोगलाई ‘फाइब्रोमाएल्जिया’ भनिन्छ । यो रोगमा कम्मरभन्दा माथि वा तलको भाग वा शरीरको देब्रे वा दाहिने भागमा दुख्छ । फाइब्रोमाएल्जिया हुँदा मांसपेशी दुख्ने, घाँटीमा समस्या हुने, निद्रा नलाग्ने, हड्डी दुख्ने हुन्छ । २० देखि ५० वर्ष उमेर समूहका महिलामा यो रोग बढी पाइएको छ । फाइब्रोमाएल्जिया किन हुन्छ ? फाइब्रोमाएल्जिया हुने कारण यही नै हो भनेर अहिलेसम्म पत्ता लागेको छैन । यो वंशाणुगत कारणले पनि हुन सक्छ । चिन्ता र तनावका साथै धेरै धपेडीले पनि यो रोग लाग्न सक्छ । यस्तै महिलामा हर्मोन र कतिपय अवस्थामा वातावरणका कारण पनि हुन सक्छ । यसको लक्षण के हो ? शरीरको सम्पूर्ण भागमा ३ महीनाभन्दा बढी दुख्नु, अत्यधिक थकाइ लाग्नु, सुतेर बिहान उठ्दा अझै सुत्न मन लाग्नु, निद्रा नलाग्नु, शरीर भारी महसूस हुनु यो रोगका लक्षण हुन् । यो रोग लागेका कसैलाई शरीरका विभिन्न भाग दुख्ने समस्या बढी हुन्छ भने कसैलाई अनिद्राको समस्या बढी हुन्छ । त्यस्तै कसैलाई थकाइको समस्या बढी हुन्छ । फाइब्रोमाएल्जियाका सबै रोगीमा समान नभएर व्यक्तिअनुसार लक्षण फरक फरक देखिन सक्छन् । यो रोग लाग्दा बारम्बार टाउको दुख्न सक्छ । यस्तो दुखाइ तनावका कारण हुन सक्छ । कसैको पेट गडबड हुन सक्छ, भोजन गर्न मन नलाग्ने, अपच, वायुगोला बढ्ने, कब्जियत हुने आदि समस्या आउन सक्छ । कसै कसैलाई आत्तिने वा तर्सिने, आँखा बिझाउने वा पोल्ने समस्या आउँछ । कतिपयलाई हातखुट्टा झमझमाउने वा निदाउने, पोल्ने, लाटो हुने पनि हुन सक्छ । यस्तै हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा सुन्निएजस्तो हुने हुन सक्छ । यो त बाथरोगको लक्षणसँग मिलेन र ? धेरैजसोले फाइब्रोमाएल्जिया हुँदा बाथरोग लागेको भन्ठान्छन् । यसका रोगी आपूmलाई कडा बाथ लागेछ कि भनेर डराउँछन् । तर बाथसँग मिल्दोजुल्दो भए पनि यो कडा किसिमको बाथ भने होइन । यसको उपचार के हो त ? पर्याप्त सुत्नुपर्छ । यो रोग निको पार्न थेरापी गराउन सकिन्छ । फाइब्रोमाएल्जियाका बिरामीले शारीरिक व्यायाम गर्नुपर्छ । भिटामिन डी लिनुपर्छ । दैनिक १०–२० मिनेट छाला देखाएर घाममा बस्दा भिटामिन डी शरीरमा फैलिन्छ र ८० प्रतिशत भिटामिन डी प्राप्त हुन्छ । यसबाहेक दूध, केरा, हरियो सागपात, माछा, मासु, अन्डा, बदामलगायत भिटामिन डी पाइने खानेकुरा सेबन गर्नुपर्छ । भिटामिन डीको कमीले गर्दा हड्डी कमजोर हुने, मांसपेशी दुख्ने, अल्छी वा गलेको महसूस हुने जस्ता देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्