arthik abhiyan
ad banner

कन्सल्ट्यान्सीको सहाराविना पनि अध्ययनका लागि विदेश जान सकिन्छ

Jun 27, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar आर्थिक अभियान
पुतलीसडकस्थित नेक्सस एजुकेशन कन्सल्ट्यान्सीले पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई सन् २००८ देखि सेवा दिँदै आएको छ । संस्थाले खासगरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र यूरोपेली मुलुकहरूमा पढ्न जाने विद्यार्थीलाई परामर्श दिनुका साथै सहजीकरण गर्दछ । प्रस्तुत छ, संस्थाका प्रबन्ध निर्देशक विष्णु खड्कासँग पढ्न विदेश जाने विद्यार्थीले जुटाउनुपर्ने कागजपत्र, तयारी, प्रक्रियालगायत विषयमा आर्थिक अभियानकी दुर्गा लामिछानेले गरेको कुराकानीको सार : विदेशमा गएर पढ्न विद्यार्थीले के कस्ता कागजात जुटाउनुपर्छ ? देशअनुसार फरक छ । अमेरिकामा पढ्न त्यहाँको विश्वविद्यालयलाई मनाइसकेपछि शैक्षिक प्रमाणपत्र, कक्षा १२ सम्म पढेको हो भने टोफेल, आईएलटीएस, स्याट गरेको कागजात हुनुपर्छ । ब्याचलर गरेको हो भने जीआरई, जीम्याट, टोफेल, आईएलटीएस गरेको कागजात समावेश गर्नुपर्छ । अन्तरवार्ता दिएपछि आई ट्वेन्टी आउँछ । अमेरिकाका लागि आय, सम्पत्ति, बैंक ब्यालेन्स लगायतको कागजात आवश्यक पर्दैन । अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडाले भने अमेरिकामा बुझाउने सबै डकुमेन्टसँगै विद्यार्थीको १ वर्ष बस्ने खर्च, फी तथा ‘ट्राभलिङ एक्सपेन्सेस’ सबै कभर गर्ने बैंक ब्यालेन्स वा ऋण देखाउनुपर्छ, अथवा विद्यार्थीलाई ६ महीनापछि केही समस्या पर्‍यो भने बेहोर्ने बेहोरासहितको बाबु–आमाको ‘ग्यारेन्टी लेटर’ चाहिन्छ । आर्थिक क्षमताका हिसाबले बैंकमा पैसा देखाएरै जान सक्ने विद्यार्थी करीब ५ प्रतिशत मात्र हुन्छन् । बाँकी ९५ प्रतिशत भने ऋणकै प्रक्रियाबाट जानुपर्ने अवस्था छ । विदेशमा पढ्न जान के कसरी प्रक्रिया अघि बढाउनुपर्छ ? पहिले त कक्षा १२ वा ब्याचलरपछि कलेजमा ‘एप्लाई’ नै गर्नुपर्छ । त्यसपछि कलेजले उक्त देशमा पढ्न चाहनुको कारण (स्टेटमेन्ट) माग्छ र चित्त बुझे ‘अफर लेटर’ पठाउँछ । अफर आएपछि शुरूमा ‘फी’ पठाउनुपर्छ । कतिपय कलेजमा भने ‘फी’ शुरूमै पठाउनुपर्छ । विश्वविद्यालयले विद्यार्थीले पढ्न सक्छ कि सक्दैन भन्ने परीक्षणका लागि आर्थिकदेखि सम्पूर्ण प्रमाणहरू माग्छन् । त्यो पूरा गरेपछि सामान्यतया अस्ट्रेलिया, न्यूजिल्यान्ड, क्यानडाले चाहिँ हामी जस्तो ‘एजेन्ट’मार्फत विद्यार्थी लैजाने प्रक्रिया गर्न खोज्छन् । त्यसैले हामी विद्यार्थीलाई सम्पत्ति कसरी देखाउने भन्ने सबै सिकाइदिन्छौं । विद्यार्थीले सम्बन्धित ठाउँबाट कागजात ल्याइसकेपछि कलेजलाई पठाइदिन्छौं । उताबाट कागजात उचित ठहर भएमा ‘फी’ पठाऊ भन्छ । ‘फी’ पठाइसकेपछि हामी ‘हाई कमिशन’मा एप्लाई गरिदिन्छौं । अनि भिसा आएपछि विद्यार्थीहरू टिकट काटेर जान्छन् । यो प्रक्रियामा विद्यार्थीले कलेजलाई पठाउने ‘फी’, देखाउनुपर्ने सम्पत्ति, टिकट काट्दाबाहेक कहाँ–कहाँ पैसा तिर्नुपर्छ ? सम्पत्तिको मूल्यांकन गर्दा स्थानीय तहमा निश्चित शुल्क तिर्नुपर्छ । कसैले कुल देखाइएको सम्पत्तिको शून्य दशमलव १ प्रतिशत त कसैले शून्य दशमलव २ प्रतिशत लिन्छन् । कतैबाट प्राप्त हुने तलब पनि सम्पत्तिमा देखाउने हो भने स्थानीय तहमा त्यसको पनि प्रमाणित गराउनुपर्छ । यो शुल्क स्थानीय तहैपिच्छे फरक फरक छ । ऋण लियो भने बैंकले आफ्नै किसिमले शुल्क लिन्छ । शिक्षा मन्त्रालयको एनओसी डिपार्टमेन्टले विद्यार्थीले यहाँ पढेको विषय र उता गएर पढ्न चाहेको विषय सम्बन्धित कलेजमा छ/छैन, जान लागेको शैक्षिक संस्था वास्तविक हो/होइन परीक्षण गरेर ठीक छ भने ‘नो अब्जेक्शन लेटर– एनओसी’ दिन्छ । त्यसका लागि पनि शुल्क लाग्छ । त्यो लेटर भएपछि बैंकबाट पैसा बाहिर पठाउन पाइन्छ । र, उक्त पैसा (फी) पठाउँदा पनि बैंकले शुल्क लिन्छ । त्यसपछिका प्रक्रिया के के हुन्छन् ? पैसा पठाइसकेपछि उताबाट ‘कन्फर्मेशन अफ इन्रोल्मेन्ट– सीओई’ आउँछ । त्यो आइसकेपछि बल्ल विद्यार्थीले हाई कमिशनमा ‘एप्लाई’ गर्नुपर्छ । अस्ट्रेलियाको हकमा ‘एप्लाई’ गरेको ३० दिनभित्र, अरू देशमा कार्यालय खुल्ने १५ दिनभित्र निर्णय आउँछ । अमेरिकाको हकमा नि ? अमेरिकाको आई ट्वेन्टी आउँछ । एउटा साधारण फर्म भरेपछि अन्तरवार्ताको मिति पाइन्छ । त्यसपछि विद्यार्थीले २ सय अमेरिकी डलर र रू. १८ हजार ४ सय अमेरिकी राजदूतावासलाई बुझाएपछि दूतावासले अन्तरवार्ता लिन्छ । अन्तरवार्ता पास भयो भने अर्को २ सय अमेरिकी डलर दूतावासलाई बुझाउनुपर्छ । भएन भने अगाडि बुझाएका सबै पैसा जान्छ । कन्सल्ट्यान्सीको सहारा नलिई विद्यार्थी बाहिर पढ्न जान सक्छन् कि सक्दैनन् ? सक्छन् । यसमा काठमाडौंभित्रका विद्यार्थीको संख्या अलि बढी छ । तर खासगरी बाहिरका विद्यार्थीका हकमा उचित सूचना र मार्गदर्शनको अभावमा धेरैको भिसा ‘रिजेक्ट’ हुने गरेका छन् । अस्ट्रेलियाले विशेषगरी ‘एजेन्ट’ नै खोज्छ । विद्यार्थीले कुन कुन देशमा के कस्तो ‘स्कलरशिप’ प्राप्त गर्न सक्छन् ? अमेरिकामा १०० प्रतिशतसम्म पनि स्कलरशिप छ । क्यानडामा एकदम कम छ । कुनै कुनैले २० देखि ५० प्रतिशतसम्म दिन्छन् । यहा“को संस्थाले विश्वका र्‍यांकिङमा परेका शैक्षिक संस्थामा विद्यार्थी पुर्‍याइरहेको भन्ने गरेको छ । तिनको नाम लिन सकिन्छ ? अमेरिकामा नर्दन टेक्सास, आलिंटन, एरिजोना विश्वविद्यालय, लगायत २४ ओटा विश्वविद्यालय छन् । त्यसैगरी यहाँको सीटीईभीटी जस्तै अस्ट्रेलियामा ‘टेफ’ छ । वित्तीय अवस्था अलिक कम भएका र सस्तोमा ‘प्य्राक्टिकल एजुकेशन’ लिन चाहनेलाई पठाउँछौं । तपाईंको संस्थाले विद्यार्थीको शिक्षा, माइग्रेशन तथा करीअरको इच्छा बुझेर सहयोग गर्ने भन्ने भनाइ छ । यी सब कसरी गर्नुहुन्छ ? विद्यार्थी पढ्न मात्रै जाने, उतै सेटल हुन जाने वा के कस्तो धारणा लिएर आएको छ, हामी पहिले नै बुझ्छौं । उतै सेटल हुने मनस्थिति लिएर आएको रहेछ भने सजिलो हुने ठाउँ बताइदिन्छौं । त्यसैगरी डिग्री मात्र लिन जाने भए त्यही अनुसारको उपयुक्त हुने संस्थाको जानकारी दिन्छौं । शुल्क पनि भिसा आइसकेपछि लिन्छौं ।
प्रतिक्रिया दिनुहोस्