arthik abhiyan
ad banner

दुबीकै कारण डिप्रेशन, एन्जाइटीजस्ता समस्या देखिन सक्छ

Jun 28, 2019 
अन्तरवार्ता
Image Not Found
author avatar (अस)
सेतो दुबी आफ्नै प्रतिरोधात्मक शक्ति बढी हुँदा आउने समस्या हो । यसले शरीरलाई हानि गर्दैन । जब छालालाई रङ प्रदान गर्ने मेलानोसाइट भन्ने कोष कम हुन्छ, तब सेतो दुबी देखापर्छ । यो कोषले जति रङ फाल्यो, मानिस त्यति कालो हुन्छ । त्यो रङ कम भयो भने गोरो हुने हो । क्युटिस केयर, बानेश्वर र धुलिखेल अस्पतालमा कार्यरत डा. धर्मेन्द्र कर्णका अनुसार सेतो दुबी कुनै रोग होइन । पहिलेकै अवस्थामा आउन भने उपचार जरुरी छ । दुबीले शारीरिक पीडा दिने नभए पनि समाजमा घुलमिल हुन अफ्ठ्यारो पार्छ । रोग नभए पनि अरूभन्दा भिन्न देखिने हुनाले पनि हीनताबोध हुने उनको भनाइ छ । नेपालमा सेतो दुबी भएकाहरूको एकिन तथ्यांक त छैन । तर २ प्रतिशत मानिसमा यो समस्या भएको अनुमान गरिएको छ । यसको उपचारका लागि खाने लगाउने औषधि, फोटोथेरापी र शल्यक्रियासमेत उपलब्ध छ । दुबी मानिसको कुन भागमा छ र कति मात्रामा छ, त्यसअनुसार उपचार गरिने डा. कर्णले बताए । प्रस्तुत छ, यसै समस्याको सेरोफेरोमा आर्थिक अभियानका पूर्णभक्त दुवालले उनीसँग गरेको कुराकानीको सार : सेतो दुबी के हो ? सेतो दुबी छालामा हुने एक प्रकारको समस्या हो । जुन शरीरमा छालालाई रङ दिने कोषहरूको कमी भएर देखापर्छ । हरेक व्यक्तिको शरीरमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । तर कहिलेकाहीँ त्यही क्षमता बढी भएर आफ्नै शरीरविरुद्ध काम गर्दछ र छालालाई रङ दिने कोषलाई नष्ट गर्दछ । त्यसपछि शरीरमा सेतो दुबी देखापर्छ । छालालाई रङ दिने भनेको के हो ? मानिसको शरीरको बाहिरी भाग अर्थात् बाहिरी आवरण वा छालाको रङ कस्तो हुने भन्ने कुरा आमाको पेटमा रहँदादेखि नै तय हुन्छ । त्यो काम मानिसको छालामुनि रहेको मेलानोसाइट भन्ने कोषले गर्दछ । सो कोषबाट मेलालिन नामक रसायन उत्पादन हुन्छ । यो त्यस्तो रसायन हो, जो छालालाई पूरै शरीरमा रङ दिन मद्दत गर्दछ । व्यक्तिको शरीरमा यो रसायन बढी भयो भने उसको छाला कालो हुन्छ । जुन व्यक्तिको शरीरमा यो रसायन कम हुन्छ, ऊ गोरो हुन्छ । मध्यम खाले रसायन हुने शरीरको रङ पनि मध्यम (गहुँगोरो) नै हुन्छ । कम रसायन भएको व्यक्तिमा छाला बढी गोरो भएर आउँछ । यसलाई सेतो दुबी भनिन्छ । छालामा हुने सेतो दुबी कस्तो समस्या हो ? मान्छेको शरीरमा या अनुहारमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो । खासमा यो शारीरिक सौन्दर्यको समस्या हो । तर यसले सौन्दर्यसँग मात्र सम्बन्धित नभएर मानिसलाई मनोवैज्ञानिक रूपमा पनि असर गरिरहेको हुन्छ । छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ । मेलानिन पिगमेन्टकै कारण कसैको छाला गोरो हुन्छ त कसैको कालो हुन्छ । मेलानिन पिगमेन्ट उत्पादन गर्ने कोष मेलानोसाइट म¥यो भने छालामा दुबीको समस्या देखिन्छ । यसलाई छालाको एक किसिमको रोग भन्न मिल्छ ? खासमा सेतो दुबीलाई रोग भनिहाल्नु हुँदैन । किनभने यो हुँदा दुख्दैन, पोल्दैन । यो एक अर्कामा सर्दैन पनि । अमेरिका तथा यूरोपमा यसको उपचार पनि गरिँदैन । किनभने यसको उपचार नगरे पनि केही फरक पर्दैन । तर, नेपाललगायत एशियाली देशमा सकेसम्म यसको उपचार गरिन्छ । छालाको रङमा सेता धब्बा देखिने भएकाले त्यसको रोकथाम तथा उपचार गरिन्छ । के हो त उपचार ? सेतो दुबीको उपचार दुई किसिमबाट हुन्छ । एउटा औषधि खाने, लगाउने र घाममा देखाउने हुन्छ भने अर्को मेशिनमा सेक्ने प्रक्रिया छ, जसलाई हामी फोटोथेरापी भन्दछौं । यो प्रविधि यतिसम्म सुरक्षित छ कि, गर्भवती महिला र भर्खरै जन्मेको शिशुलाई समेत दिन मिल्छ । यो प्रविधिबाट पनि निको भएन भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । सेतो दुबी भएपछि केमा ध्यान दिनुपर्छ ? सेता दुबी हुने व्यक्तिले चोटपटक लाग्न सक्ने काम गर्नु हुँदैन । कसिला कपडा, कसिला जुत्ताहरू लगाउनु हुँदैन । कडाखाले घाममा बस्नु हुँदैन । नरम खालको घाममा मात्र देखिनुपर्छ । सेतो दुबी भएको व्यक्तिले जाँडरक्सी, चुरोटलगायत पदार्थबाहेक अन्य जुनसुकै खानेकुरा खान मिल्छ । दुबी र डाइटको खासै सम्बन्ध छैन । तर दुबी हुनेहरूलाई अमिलो नखान हामीले सल्लाह दिने गरेका छौं । कहिलेकाहीँ दुर्घटनावश चोट लागेमा घाउ निको भइसकेपछि जहाँ चोट लागेर घाउ आएको थियो, त्यही ठाउँमा दुबी आउन सक्छ । त्यसैले सकेसम्म चोटपटकबाट बच्नुपर्छ । सेतो दुबी शरीरको कुन अंगमा देखा पर्दछ ? यो दुबी प्रायः शरीरको चलिरहने अंगहरूमा देखा पर्दछ । जस्तै– आँखा, ओठ, कम्मर, कुइना, घुँडाहरूमा देखिन सक्छ । यो सरुवा रोग होइन । तर आफ्नै शरीरमा भने फैलन सक्छ । सेतो दुबी भएका व्यक्तिहरू उपचारका लागि कत्तिको आउँछन् ? संसारको तथ्यांक हेर्ने हो भने शून्य दशमलव ५ प्रतिशतबाट २ प्रतिशतसम्म सेतो दुबी हुने व्यक्ति भएको मानिन्छ । तर नेपालको छुट्टै तथ्यांक छैन । मेरो क्लिनिकमा आउनेहरूको संख्यालाई आधार मान्ने हो भने करीब ६ देखि ८ प्रतिशत मानिस सेतो दुबीकै समस्या लिएर आउनेहरू हुन्छन् । सेतो दुबीले कुन उमेर समूहलाई बढी प्रभाव पार्छ ? दुबी बच्चादेखि वृद्धसम्म जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । यसले छालामा घाउ खटिराजस्तै दुख्ने, पाक्ने, पोल्नेलगायत समस्या त हुँदैन । तर अनुहार या शरीरमा सेतो दाग धब्बा देखिएपछि मानिस घरबाहिर निस्किन, अन्य व्यक्तिसँग बोल्न या कतै घुमफिर गर्न असहज महसूस गर्न सक्छन् । अनुहारमा आएको दुबीकै कारण कहिलेकाहीँ उनीहरूमा डिप्रेशन, एन्जाइटीजस्ता मनोवैज्ञानिक समस्या देखिने गर्छ । दुबीको रोकथामका लागि के गर्न सकिन्छ ? दुबीको उपचार शुरूकै अवस्थामा गर्न सकिए केही हदसम्म निको पनि हुन्छ । तर यो पुरानो छ भने पूर्णरूपमा निको पार्न सकिँदैन । कारण दुबी ‘अटो इम्युन डिजिज’ हो । यसको अर्थ रोग प्रतिरोधात्मक क्षमतामा भएको गडबढीका कारण निम्तिने भन्ने हो । सबै मानिसलाई दुबी हुँदैन । यो कतिपय अवस्थामा वंशाणुगत कारण पनि हुन्छ । कतिपयलाई कार्बन मटेरियल, जस्तै– रबर, प्लास्टिकका आदिका कारण पनि दुबी आएको पाइन्छ । त्यसैले सम्भव भएसम्म प्लास्टिक, यसबाट बनेका र केमिकल भएका सामग्रीको पनि प्रयोग गर्नु हुँदैन । सेतो दुबीबारे आम धारणा कस्तो छ ? सेतो दुबी हुनेहरूलाई धेरै नै मानसिक तनाव हुने गरेको पाइन्छ । यो रोग सर्छ, त्यसैले सेतो दुबी भएकाहरूलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरूले प्रयोग गरेको सामान प्रयोग गर्नु हुँदैन भन्ने नकारात्मक सोचाइ पनि छ । वास्तवमा यो सरुवा रोग होइन र सर्दैन पनि । यही भ्रम कारण सेतो दुबी हुनेहरूलाई हेयका दृष्टिले हेर्ने गरिएको छ । सेतो दुबी कुनै डर लाग्दो रोग होइन । यसमा कुनै पनि कीटाणु हँुदैन । सेतो दुबी कति प्रकारको हुन्छ ? खासगरी यो तीन प्रकारको हुन्छ । १. गोलो थोप्ला : यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ । २. शरीरको एकापट्टिको भागमा मात्र आउने : यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ । ३. शरीरको पूरै भागमा देखिने : यो शरीरको पूरै भागमा देखापर्छ ।
प्रतिक्रिया दिनुहोस्