arthik abhiyan
ad banner

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘बम थ्रेट’को पूर्णकाालिन अभ्यास (फोटो फिचरसहित)

Jun 28, 2019
समाचार फोटो फिचर
Image Not Found
author avatar आर्थिक अभियान

टीपी भुसाल

असार १३, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रवार दिउँसो ‘बम थ्रेट’पछिको अवस्था परिकल्पना गरी पूर्णकालिन अभ्यास गरिएको छ । यो अभ्यास अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड र विमानस्थल आपतकालिन अभ्यास योजना अनुसार गरिएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले प्रत्येक दुई/दुई वर्षमा यस प्रकारको आपतकालिन उद्धारको अभ्यास गर्ने गरेको उनले बताए । ‘यसको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने सम्बद्ध सबै निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा ती निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी यस्तो अवस्थाको सामना गर्ने क्षमतामा अभिवृद्धि गर्नु हो,’ उनले भने, ‘साथै जनधनको क्षति न्यूनिकरण गर्दै छिटै विमानस्थल सञ्चालनमा ल्याउने हो ।’ यो अभ्यास ‘अर्लट फाइभ’ अन्तर्गत गरिएको पूर्णकालिन अभ्यास भएको महाप्रबन्धक क्षत्रीले बताए । यो पटकको अभ्यास विमानमा बम भएको आशंकामा गरिएको आपतकालिन उद्धारको अभ्यास भएको र सबै सरोकारवाला निकायको राम्रो समन्वयमा उद्धार कार्यमा खटिएको बताए ।

यसरी गरियो अभ्यास जहाजमा बम रहेको सूचना आएपछि गर्ने आपतकालिन कार्य झैं विमानस्थलमा ‘पूर्णकालिन अभ्यास’ गरिएको हो । अभ्यासको क्रममा नेपाल वायुसेवा निगमको बोइङ ७५७ लाई ‘एक्सरसाइज–१२४’ विमानको रूपमा प्रयोग गरीएको थियो । ‘एलोन’ विमानस्थलबाट ‘बोनान्जा’ अन्तराष्ट्रिय विमानस्थल (दुवै काल्पनिक नाम) का लागि चालक दलका ११ सदस्यसहित १०९ जना यात्रु लिएर उड्न लागेको ‘एक्सरसाइज–१२४’ नम्बरको डमी विमानमा बम भएको सूचनाको आधारमा विमानस्थल कार्यालयले अलर्ट–५ अन्तर्गत हाई अर्लट जारी गरी विमानलाई ‘रिमोट पार्किङ वे’मा लगेर नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए । उद्धारकै क्रममा अचानक बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । विमानबाट ५७ जना यात्रुको सकुशल उद्धार गरिएको र अन्य घाइतेहरुलाई एम्बुलेन्स मार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको अभ्यास गरिएको थियो ।

पूर्णकालीन अभ्यास गर्दा उडान तथा अवतरण बन्द गर्ने सूचना (नोटाम) जारी गरी अपराह्न ३ः२० देखि ३ः५० बजेसम्म विमानस्थलबाट हुने सम्पूर्ण उडान तथा अवरतण बन्द गरिएको थियो ।

विमानस्थलमा बम थ्रेटको पूर्णकाालिन अभ्यासका तस्वीरहरु:

तस्वीरहरू : प्रदीप कुमार श्रेष्ठ/आर्थिक अभियान

प्रतिक्रिया दिनुहोस्