arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जहाँ झूट बोल्नेले पाउँछन् रोजगारी

Jun 30, 2019  
रोजगारी
Image Not Found
author avatar (अस)
काठमाडौं । हामी सधैं केही न केही झूट बोलिरहेका हुन्छौं । चाहे त्यो सामाजिक जीवनमा होस् अथवा व्यावसायिक जीवनमा । कामको क्रममा धेरै मानिस हामीसँग पनि झूट बोलिरहेका हुन सक्छन् । सधैं उनीहरूको दिन राम्रो नहुन सक्छ । उनीहरू सधैं काममा उत्साहित नहुन सक्छन् । आफ्नो सट्टा अरू कसैको पदोन्नति हुँदा उनीहरू खुशी नहुन पनि सक्छन् । तर, झूट बोल्नु मानिसको मनस्थिति नभई रोजगारीकै एक भाग भयो भने के होला ? एक अध्ययनले साँचो कुरालाई तोडमोड गरेर परिवर्तन गर्न सक्ने मानिस केही रोजगारीका लागि उपयुक्त हुने धारणा विकसित भएको देखाएको छ । काम गर्ने स्थानमा झूट बोल्नु सामान्यतया काम गर्ने ठाउँमा झूट बोल्नुलाई राम्रो मानिँदैन । तर, अमेरिकी शोधकर्ता ब्रियान सी गुनिया र एम्मा ई लिभाइनले गरेको शोधले भने जहाँ ग्राहकको सुविधालाई भन्दा विक्रीमा बढी जोड दिइन्छ, त्यस्तो ठाउँमा झूट बोल्नुलाई राम्रो मानिने देखाएको छ । मार्केटिङसम्बन्धी एक अध्ययनअनुसार ग्राहकको सेवालाई ध्यानमा राखिने व्यवसायका लागि उपभोक्ताको आवश्यकता महत्त्वपूर्ण हुन्छ । तर, विक्रीमा जोड दिइने व्यवसायमा भने विक्रेताको लक्ष्य महत्त्वपूर्ण हुने गर्छ । व्यापार तथा लगानी बैंकिङजस्ता पेशा पछिल्लो समय व्यापार बढाउनेतर्फ केन्द्रित भएका छन् । गुनिया र लेभाइनले आफ्नो अध्ययनमा सर्वेक्षणका लागि अमेजन टर्कका ५ सय विद्यार्थीलाई समावेश गरेका थिए । सर्वेक्षणका क्रममा केहीले तलब वास्तविकताभन्दा बढाइचढाइ गरी भन्ने गरेको र केहीले आफ्ना मालिकलाई मन पर्ने कामअनुसार आफ्नो रुचि बताउने गरेको उल्लेख गरेका थिए । उक्त सर्वेक्षणमा सहभागीले झूटको सहारा लिनेले व्यापार केन्द्रित रोजगारीमा सफलता पाउने गरेको बताएका थिए । साथै, रोजगारदाताले पनि त्यस्ता मानिसलाई प्राथमिकतामा राख्ने गरेको उल्लेख गरेका थिए । सर्वेक्षणमा सहभागी ८४ प्रतिशतले व्यापार केन्द्रित रोजगारीका लागि झूट बोल्ने मानिसको चयन गरेका थिए भने ७५ प्रतिशतले सेवामुखी क्षेत्रका लागि इमानदार मानिसको चयन गरेका थिए । यो परिणाम निकै चाखलाग्दो छ, तर निश्चित भने होइन । सर्वेक्षणमा सहभागी सबैको मत रोजगारी दिने व्यवस्थापकसँग मेल खान्छ भन्ने निश्चित छैन । अमेजन टर्कमाथि आफ्ना कर्मचारीलाई निकै कम तलब दिने गरेको आरोप पनि लाग्दै आएको छ । यो अध्ययनबाट विक्री केन्द्रित क्षेत्रका लागि झूट बोल्नु योग्यता रहेको र भविष्यमा रोजगारीका लागि यो योग्यता आवश्यक पर्न सक्ने विश्वास विद्यार्थीहरूमा देखिएको युनिभर्सिटी अफ सिकागो बूथ स्कुल अफ बिजनेशका लेभाइन बताउँछन् । झूटको प्रभुत्व मानिसले झूट बोल्नु स्वाभाविक हो । काम गर्ने स्थानमा झूट बोल्ने विषयमा शुरूमा आवेदन दिने बेलामा नै मानिसले म्यानेजरको अघि आफ्नो योग्यता बढाइचढाइ भन्छन् । अन्डरकभर जासूसी लगायत केही रोजगारीमा झूट बोल्नु अनिवार्य नै हुन्छ । केही कम्पनीले झूटको नीति नै बनाएका हुन्छन् । जस्तो कि केही मुलुकमा कल सेन्टरमा काम गर्ने सबै कर्मचारीलाई अर्कै देशको नागरिक भएको जस्तो वहाना गर्न निर्देशन दिइन्छ । त्यस्तै, केही काममा भावनात्मक रूपमा पनि ग्राहकलाई असर नपरोस् भन्ने मनसायका साथ झूट बोल्न लगाइन्छ । केही काम निकै तनावपूर्ण हुन्छन् । यस्तोमा आफ्नो भावनालाई रोक्न सक्ने मानिसलाई कामका लागि उपयुक्त मानिन्छ । कहिलेकाहिँ झूट पत्ता लगाउनु निकै कठिन हुन्छ । कर्मचारीको झूट प्रोत्साहनका लागि हो वा नियतवश हो भन्ने कुरा पनि पत्ता लगाउन गाह्रो हुन्छ । यस्तोमा उक्त झूटले कति मानिस कुन हिसाबले प्रभावित हुन्छन् भन्ने कुराको आधारमा मूल्यांकन गर्नु जरुरी हुन्छ । सांस्कृतिक प्रभावले पनि झूटमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । कुनै समुदायका मानिस आफ्नो संस्कृतिको बदनाम नहोस् भन्ने हिसाबले पनि झूट बोल्ने गर्छन् । विश्वका आठ मुलुकका १ हजार ५०० विद्यार्थीमाझ गरिएको एक सर्वेक्षणमा अस्ट्रेलिया, जर्मनीजस्ता मुलुकको तुलनामा दक्षिण कोरिया, ग्रीसजस्ता मुलुकका नागरिकले बढी झूट बोल्ने गरेको खुलेको थियो । लेभाइनका अनुसार मानिसहरू अर्काले आफूलाई कस्तो व्यवहार गर्‍यो भन्ने विषयमा धेरै सचेत हुन्छन्, तर आफूले अर्कोलाई कत्तिको सत्य बोलिरहेको छु भन्नेमा त्यति धेरै वास्त राख्दैनन् । वास्तवमा झूटका विभिन्न किसिमको अवस्था र फाइदा भए पनि मानिसलाई सत्यमा विश्वास गर्न प्रेरित गर्ने काम नै बढी प्रभावकारी हुने उनी बताउँछन् । एजेन्सी
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्