ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विशाखापत्तनमतिर सर्दै कोलकाताको कन्टेनर ट्रान्जिट

Jul 8, 2019  
समाचार मुख्य खबर
Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । नेपाली आयातकर्ताहरू समुद्रपार व्यापारमा भारतको आन्ध्रप्रदेशस्थित विशाखापत्तनम् बन्दरगाहको उपयोगमा केन्द्रित देखिएका छन् । नेपालको तेस्रो मुलुक व्यापारमा उक्त बन्दरगाहको प्रयोग शुरू भएको २ वर्षमै कोलकाताबाट करीब ४० प्रतिशतभन्दा बढी कन्टेनरको ट्रान्जिट विशाखापत्तनम्तिर गएको हो । सन् २०१९ को जुनमा मात्र कोलकाताबाट १४ र्‍याक कन्टेनर आउँदा विशाखापत्तनम्बाट ३० ओटा र्‍याक वीरगञ्ज सुक्खा बन्दरगाहमा आएका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको तथ्यांक अनुसार तेस्रो मुलुकबाट नेपालका लागि सन् २०१८ मा करीब १ लाख कन्टेनर आएका थिए । अहिले तेस्रो मुलुकबाट आउने कन्टेनरमध्ये ४० प्रतिशतभन्दा बढी कार्गो आवागमन विशाखापत्तनम्बाटै भइरहेको नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले जानकारी दिए । नेपालका लागि सन् २०१७ जुनमा विशाखापत्तनम्बाट पहिलो कन्टेनर कार्गो लोड भएको थियो । त्यसयता नेपाली आयातमा यो बन्दरगाहको उपयोग निरन्तर बढिरहेको देखिएको छ । मुख्य नाका वीरगञ्जबाट कोलकाता सबैभन्दा निकटको बन्दरगाह हो । तर, भौतिक र प्रक्रियागत असुविधाका कारण आयातकर्ता विशाखापत्तनम्तर्फ आकर्षित भएका हुन् । कोलकातामा कागजी प्रक्रिया घटाउन इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) लागू छ । त्यसबाट ढुवानी खर्च झन् बढेपछि आयातकर्ता अहिले विशाखापत्तनम्तिर एकोहोरिएका हुन् । ईसीटीएस लागू भएयता गन्तव्यसम्म ढुवानी दिने नाममा सिपिङ कम्पनीले कोलकाताबाट प्रतिकन्टेनर ढुवानी भाडा ४० हजार रुपैयाँसम्म बढाएको आयातकर्ता प्रदीप केडिया बताउँछन् । ‘कोलकातामा प्रक्रिया त घट्यो तर ढुवानी खर्च झन् बढ्यो,’ केडियाले आर्थिक अभियानसित भने, ‘दोब्बर दूरीको बन्दरगाहलाई विकल्पका रूपमा रोज्नु आयातकर्ताको बाध्यता हो ।’ कोलकाता वीरगञ्जबाट ७०४ र विशाखापत्तनम् १४ सय किलोमीटर टाढा पर्छन् । नेपालको कन्टेनर ढुवानीमा वर्चस्व जमाएको मक्र्स सिपिङ लाइनले कोलकाताबाट आयातकर्तालाई विशाखापत्तम्तिर तानेको कोलकातास्थित महावाणिज्य दूतावासका एक अधिकारीले बताए । उनका अनुसार विशाखापत्तनम्को सहज र छरितो प्रक्रियालाई देखाएर मक्र्सले आयातकर्तालाई उता आकर्षित गरेको हो । नेपालको कन्टेनर ढुवानीमा ३० प्रतिशत कारोबार मक्र्सको छ । विशाखापत्तनम् भारतको निजीक्षेत्रले सञ्चालन गरेको बन्दरगाह हो । १६ मीटर गहिरो यो समुद्री बन्दरगाहमा ६ हजार ५०० कन्टेनर बोकेका मदर भेसल्स (ठूला पानीजहाज) आउन सक्छन् । तर, ६ मीटर गहिरो नदीमा आधारित कोलकातामा आउने फिडर भेसल्स (साना पानीजहाज) ले ८ सयभन्दा बढी कन्टेनर ल्याउन सक्दैनन् । कोलकाताकै हल्दियामा पनि २ हजारभन्दा बढी कन्टेनर बोकेका जहाज आउँदैनन् । सिंगापुर र श्रीलंकाको कोलम्बोमा साना पानीजहाजमा ट्रान्ससिपमेन्ट गरेर कन्टेनर ल्याउँदा लागत बढी पर्छ । विशाखापत्तनम् बन्दरगाहबाट ल्याउँदा समुद्री भाडा कम लाग्ने, बन्दरगाहको प्रक्रिया र वीरगञ्जसम्मको ढुवानीमा कम समय लाग्ने भएपछि आयातकर्ता त्यता आकर्षित भएका हुन् । बढ्दो कन्टेनर आवागमनलाई ध्यानमा राखेर बन्दरगाहको क्षेत्र विस्तार गर्न लागिएको विशाखापत्तनम् टर्मिनलका जनसम्पर्क अधिकृत एमएन रावले आर्थिक अभियानलाई जानकारी दिए । उनका अनुसार अहिले २ लाख वर्गमीटरमा फैलिएको बन्दरगाहलाई ३ लाख ७५ हजार वर्गमीटर पु¥याउने गरी काम शुरू भएको छ । नेपालको आयातमा विशाखापत्तनम् प्रतिस्पर्धामा आएपछि कोलकाता बन्दरगाहले प्रक्रियागत र पूर्वाधार सुधार थाले पनि प्रभावकारी देखिएको छैन । नदीमा आधारित हुनुका कारण ठूला पानीजहाज आउन नसक्नु यसको मुख्य समस्या हो । गत फागुन ३ देखि कागजी प्रक्रिया हटाएर ढुवानी खर्च घटाउने बताउँदै परीक्षणका रूपमा कार्यान्वयनमा ल्याइएको ईसीटीएसले अपेक्षित परिणाम दिन सकेको छैन । सिपिङ कम्पनीले भाडामा मनोमानी गरेपछि आयातको खर्च बढेको छ । भाडा घटाउने सरकारी प्रयास त्यति प्रभावकारी देखिएको छैन । महावाणिज्यदूत अर्याल भने भाडा घटाउने रणनीतिक उपाय अपनाइएको दाबी गर्छन् । कोलकाता र विशाखापत्तनम्को बीचमा पर्ने उडिसास्थित धाम्रा बन्दरगाह उपयोगमा आएपछि तेस्रो मुलुकसँगको व्यापार अझ सहज हुने अर्यालको भनाइ छ । १५ मीटर गहिरो यो समुद्री बन्दरगाहमा मदर भेसल्स सहजै आउन सक्छन् । धाम्रा र गुजरातको मुद्रा बन्दरगाह उपयोगका निम्ति गत माघ २४–२५ मा पोखरामा सम्पन्न नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय बैठकमा प्रारम्भिक समझदारी भइसकेको छ । मुन्द्रा बन्दरगाह प्रयोगमा आएपछि नेपालको पश्चिमा मुलुकसँगको व्यापार त्यतै केन्द्रित हुने अपेक्षा नेपाली अधिकारीहरूको देखिन्छ । खासगरी, नेपालको निर्यात व्यापार पश्चिमा मुलुकहरूसँग बढी छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्