arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१८ वर्षपछि बन्यो शहीद नेपाली छात्रावास

Jul 18, 2019  
शिक्षा शिक्षा
NA
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रावास १८ वर्षपछि सम्पन्न भएको छ । विसं २०५८ मा जग खन्न शुरू गरिएको उक्त छात्रावास भवन यही २०७५ मङ्सिरमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । विसं २००७ मा बन्दीपुर क्रान्तिमा जेल परेका चन्द्र नेपालीलाई जेलबाट निकालेर राणाहरूले हत्या गरेपछि उनको संस्मरणमा छात्रावास निर्माण शुरू गरिएको शहीद चन्द्र नेपाली छात्रावास समितिका अध्यक्ष दोबाटे विश्वकर्माले जानकारी दिए । ‘छात्रावास भवनको निर्माण थालिए पनि आर्थिक अभावका कारण लामो अवधि बित्यो,’ उनले भने । क्याम्पसको साढे २ रोपनी क्षेत्रफल जग्गामा करीब रू. ७० लाख लागतमा १५ कोठे भवन निर्माण गरिएको अध्यक्ष विश्वकर्माले बताए । सोही क्याम्पसमा अध्ययनरत २० दलित, जनजाति र अभिभावक नभएका छात्रालाई मात्र छात्रावासको व्यवस्था मिलाइएको छ । छात्रावास भवन निर्माणका लागि तत्कालीन भौतिक आवास मन्त्रालयअन्तर्गतको साना शहरी विकास, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, सांसद कोष, राष्ट्रिय दलित आयोगलगायत संघसंस्थाले आर्थिक सहयोग गरेका थिए । अध्ययनमा लगनशील भएका, निम्न आय भएका, ग्रामीण भेगबाट पढ्न आएका, अभिभावक संरक्षकत्व नभएका छात्रालाई प्राथमिकतामा राखेर छात्रावासको प्रबन्ध मिलाइएको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताए । छात्रावास ३० जना क्षमताको भए पनि आन्तरिक व्यवस्थापन बाँकी रहेकाले अहिले एउटा कोठामा दुई÷दुईका दरले २० छात्रा राखिएको छ । छात्रावासको आन्तरिक व्यवस्थापन बत्ती, पानी, शौचालय निर्माणपछि अन्य १० छात्रालाई पनि व्यवस्था मिलाइने होस्टल इन्चार्ज कल्पना लम्सालले बताइन् । छात्रावासमा बिजुली, पानी इन्टरनेटसमेतको मासिक रू. १ हजार तिर्ने व्यवस्था मिलाइएको छ । रासस
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्